BIZMANDU
www.bizmandu.com

देशभर ५ नयाँ औद्योगिक क्षेत्र थपिँदै, ओलीको गृहजिल्लामा ९१ अर्ब खर्चिएर १५८८ हेक्टरमा पार्क

२०७७ फागुन ९

देशभर ५ नयाँ औद्योगिक क्षेत्र थपिँदै, ओलीको गृहजिल्लामा ९१ अर्ब खर्चिएर १५८८ हेक्टरमा पार्क
देशभर ५ नयाँ औद्योगिक क्षेत्र थपिँदै, ओलीको गृहजिल्लामा ९१ अर्ब खर्चिएर १५८८ हेक्टरमा पार्क

Tata
GBIME
Nepal Life

काठमाडौं। सरकारले पाँचवटा नयाँ औद्योगिक क्षेत्र निर्माण सुरु गर्ने भएको छ। सुदूरपश्चिम, वागमती, प्रदेश १ र लुम्बिनीमा दुई गरि कुल पाँच औद्योगिक क्षेत्रको शिलान्यास गर्न लागिएको हो। 

सरकारले सुदूरपश्चिम प्रदेशमा पहिलोपटक औद्योगिक क्षेत्र निर्माण गर्न लागेको हो। यो औद्योगिक क्षेत्रको शिलान्यास गर्न सोमबार प्रधानमन्त्री कञ्चनपुर जानेछन्। शिलान्यास गर्ने सबै क्षेत्रको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडकी वरिष्ठ अधिकृत मेरिना चित्रकारले जानकारी दिइन्। उनका अनुसार यी क्षेत्रको अधिकांश जग्गा सरकारी छ। 

यस्ता छन् नयाँ निर्माण हुने औद्योगिक क्षेत्रः  

चीन-नेपाल मैत्री औद्योगिक पार्क
यो पार्क प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापाको दमक नगरपालिका, गौरादह नगरपालिकामा र कमल गाउँपालिकाको अधिग्रहण गर्ने जमिनसहित कुल १५८८ हेक्टरको विशाल क्षेत्रफलमा निर्माण गर्ने योजना बनाइएको छ। 

अहिलेकै विनिमय दर अनुसार पनि ९१ अर्ब रुपैयाँभन्दा बढी (७८ करोड ६० लाख अमेरिकी डलर) लगानी हुने यो पार्क चिनियाँ सरकारको आर्थिक सहयोगमा निर्माण हुने बताइएको छ। विभिन्न चार चरणमा निर्माण गरेर यो पार्क करिब १० वर्षमा सम्पन्न गर्ने लक्ष्य छ। पार्कको निर्माणको काम ल्हासा आर्थिक तथा प्राविधिक विकास क्षेत्र लगानी विकास कम्पनी लिमिटेडले शुरु गर्न लागेको हो। 

निर्माणकर्ताले ४० वर्षसम्म प्रयोग गर्न पाउने गरी यस पार्कका लागि नेपाल सरकारसँग सम्झौता भएको छ। ४० वर्षपछि  पुनः सरकारलाई हस्तान्तरण हुने यो पार्कको विस्तृत योजना प्रतिवेदन (डीपीआर) तयार गरी लगानी बोर्डमा पेश भइसकेको छ।

यस औद्योगिक पार्कबाट ४५ हजार जनालाई रोजगारी दिने लक्ष्य लिइएको छ। पार्कको जमिन अधिग्रहण अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ।

यो औद्योगिक पार्कले नेपालीसँगै भुटान र बंगलादेशका व्यवसायीलाई समेत समेट्ने सोच राखिएको छ। काठमाडौंबाट तीन सय ७० किलोमिटर दूरीमा रहेको पार्क चार चरणमा निर्माण गरिनेछ। 

यसका लागि दुई चरणमा ९ सय २५ बिगाहा र ४ सय ११ बिघा जमिन अधिग्रहण भइसकेको छ। यस्तै तेस्रो चरणमा ३ सय ५८ बिघा जमिन अधिग्रहण गर्न प्रक्रिया अघि बढिसकेको छ। जग्गाको मुआब्जा रकम निर्धारण भइसकेको र केही दिनमै सूचना निकाल्ने तयारी कम्पनीले गरेको छ।

चार चरणमा निर्माण गर्ने तयारी गरिएको यस पार्कको पहिलो चरणमा ४ सय २४ हेक्टर क्षेत्रफलमा विकास गरिनेछ।

यसको कुल क्षेत्रफलमध्ये १० लाख वर्गमिटर क्षेत्रफलमा उद्योग तथा कलकारखाना विस्तार गरिनेछ। एक लाख वर्गमिटरमा मापदण्डको आधारमा कारखाना स्थापना हुनेछ।

३० हजार वर्गमिटरमा व्यवसायिक पूर्वाधारहरु निर्माण गरिनेछ। ५० हजार वर्गमिटर क्षेत्रफलमा कामदारका लागि बासस्थान बनाइने छ। साथै कामदारलाई सहयोग पुग्नेगरी विभिन्न सांस्कृतिक सम्पदाहरुको निर्माण गरिनेछ।

दोस्रो चरणमा थप ३ सय ६३ हेक्टर र तेस्रो चरणमा थप ३ सय ७५ हेक्टर जमिनमा औद्योगिक पार्क विस्तार हुनेछ। यो पहिलो चरणभन्दा छिटो सम्पन्न हुनेछ। चौथो चरणमा ४ सय २६ हेक्टर जमिनमा पार्क विस्तार गरिनेछ। यो चरणमा औद्योगिक भवन र आवश्यक पूर्वाधारहरु निर्माण गरिने बताइएको छ।

नेपालको पूर्वपश्चिम राजमार्ग र भारतीय नाका नजिक रहेकाले पार्क सफल बन्ने कम्पनीले दाबी गरेको छ।

मयुरधाप औद्योगिक क्षेत्र

मकवानपुर जिल्लाको मयुरधापमा औद्योगिक क्षेत्र निर्माणको निर्णय २०७२ चैत १ मा नै तत्कालिन मन्त्रिपरिषदले गरेको थियो।

तीन सय बिघामा फैलिने यो औद्योगिक क्षेत्रमा ६२ वटा औद्योगिक प्लट रहनेछन्। प्रत्येक प्लटको आकार ७ देखि १४ रोपनीको हुनेछ। यो क्षेत्रमा रंग, उत्पादनमूलक, प्लास्टिक, पाइप, सिमेन्ट लगायतका उद्योगहरु स्थापना हुने अपेक्षा गरिएको छ।

५ वर्षभित्र सक्ने लक्ष्य लिइएको यो औद्योगिक क्षेत्रको विकासका लागि सात अर्ब लागत अनुमान गरिएको छ। यस्तै, १० हजार जनाले प्रत्यक्ष अप्रत्यक्ष रूपमा रोजगारी पाउने अनुमान छ। यसैगरी, सरकारले सुरक्षण मुद्रण स्थापनाका लागि २ सय ६० रोपनी जग्गा छुट्याइएको छ।

यस्तै, व्यवसायीलाई आवश्यक जग्गाको लागि बोलपत्र आह्वान गर्नेछ। ५ वर्षसम्म भाडादर छुट र १० वर्षपछि मात्र पूर्णरूपमा भाडा उठाइने छ। 

दैजी छेला औद्योगिक क्षेत्र 
सरकारको २०७२ चैत १ को मन्त्रिपरिषदको निर्णय अनुसार कञ्चनपुर जिल्लामा साबिकको जिल्लामा दैजी छेला औद्योगिक क्षेत्र  स्थापना हुनेछ। यो कञ्चनपुर जिल्लाको पूर्वतर्फ छेला मुक्तकमैया बस्ती तथा धेउडाथुम खोल्सा, पश्चिमतर्फ साजगाड खोलासम्म फैलिनेछ।

नौ सय बिघामा विकास हुने यस औद्योगिक क्षेत्रमा एक सय प्लट रहनेछन्। जसअनुसार साना उद्योगको लागि २३ प्लट, मझौला उद्योगको लागि ४४ प्लट र ठूला उद्योगको लागि ४४ प्लट छुट्याइएको छ। यो ५ वर्षमा निर्माण गरिसक्ने लक्ष्य लिइएको छ। यस औद्योगिक क्षेत्र निर्माणका लागि ९ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ। 

नौबस्ता औद्योगिक क्षेत्र 

यो औद्योगिक क्षेत्र पनि ०७२ चैत १ कै मन्त्रिपरिषद् निर्णयबाट बाँके जिल्लामा विकास गर्न लागिएको हो। ५ सय २५ बिघा क्षेत्रफलमा फैलिने यो औद्योगिक क्षेत्रमा १ सय ११ वटा प्लट हुनेछन् । प्रत्येक प्लटको आकार ९ देखि ३० रोपनी रहनेछ। यसको कुल लागत ८ अर्ब ८८ करोड हुने अनुमान छ।

पाँच वर्षमा निर्माण सक्ने लक्ष्य बनाइएको यस औद्योगिक क्षेत्र संचालनमा आएपछि यसबाट प्रत्यक्ष परोक्ष रूपमा २० हजारलाई रोजगारी दिने लक्ष्य लिइएको छ। यो औद्योगिक क्षेत्रमा पनि अन्य औद्योगिक क्षेत्र सरह सेवा सुविधा उपलब्ध गराउने उल्लेख छ। 

मोतिपुर औद्योगिक क्षेत्र
मन्त्रिपरिषदको २०७२ चैत १ कै निर्णय अनुसार लुम्बिनीको रुपन्देहीमा यो औद्योगिक क्षेत्र पनि स्थापना गर्ने निर्णय गरेको हो। पाँच वर्षभित्र सक्ने लक्ष्य राखिएको यो क्षेत्र ८ सय १३ बिघामा फैलिनेछ। अध्ययन प्रतिवेदन अनुसार यो क्षेत्र निर्माणको लागि १२ अर्ब लाग्ने अनुमान छ।

यस औद्योगिक क्षेत्रभित्र २ सय ६२ वटा प्लट रहनेछन्। जसमा साना उद्योगका लागि ९२, मझौलाका लागि ५१ र ठूला उद्योगका लागि १ सय १९ वटा प्लट रहने छ। यो क्षेत्रबाट ३० हजार व्यक्तिले प्रत्यक्ष अप्रत्यक्ष रूपमा राजगारी पाउने उल्लेख छ।