BIZMANDU
www.bizmandu.com

मेलम्चीको सुरुङमार्ग सोमबारबाट पुन:परीक्षण गरिँदै, १६ दिनमा मेलम्ची पानी काठमाडौंमा

२०७७ फागुन ९

मेलम्चीको सुरुङमार्ग सोमबारबाट पुन:परीक्षण गरिँदै, १६ दिनमा मेलम्ची पानी काठमाडौंमा
मेलम्चीको सुरुङमार्ग सोमबारबाट पुन:परीक्षण गरिँदै, १६ दिनमा मेलम्ची पानी काठमाडौंमा

Tata
GBIME
Nepal Life

काठमाडौं। बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको दोस्रो परीक्षण हुने भएको छ। सोमबारबाट आयोजनाको सुरुङमार्गमा पानी हालेर परीक्षण गर्न लागिएको हो।

पुनः परीक्षण कार्यक्रमका लागि नै भनेर सोमबार खानेपानी मन्त्री मणिचन्द्र थापा आयोजनाको मुहानक्षेत्र अम्बाथान जाँदैछ्न्। मन्त्रीलाई आयोजनाको निरीक्षण गराएर परीक्षण सुरु गर्ने कार्यक्रम मेलम्ची खानेपानी आयोजनाले तय गरेको छ।

आयोजनाको सुरुङमार्ग परीक्षण गर्न लागिएको यो दोस्रोपटक हो। यसअघि गत असार अन्तिम साता परीक्षण थालिएको थियो। तर असार ३० गते सुरुङमार्गको गेट फुस्किएर दुर्घटना भएपछि परीक्षण रोकिएको थियो । त्यसको करिब आठ महिनापछि त्यसमा भएका त्रुटीहरु सच्याएर पुन:परीक्षण गर्न लागिएको हो।

टनेलको गेट फुस्किएर दुर्घटना भएपछि मन्त्रालयका सहसचिव रमाकान्त दवाडीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो। उक्त समितिले डिजाइन अनुसार भित्रबाट राख्नुपर्ने गेट बाहिरपट्टिबाट राखिएकाले पानीको प्रेसर थेग्न नसकेर त्यतिबेला दुर्घटना भएको निष्कर्ष निकालेको छ। सोही प्रतिवेदनका आधारमा करेक्सनको काम गरेर सुरुङ पुनः परीक्षण सुरु गर्न लागिएको हो।

अहिले बाहिरबाट भित्रतिर धकेलेर खोल्न मिल्ने गरि गेट राखिएकोछ। एउटा मात्रै गेट फुस्किएको भएपनि समान हिसाबले राखिएकाले अम्बाथान, ग्याल्थुम, सिन्धुलगायतका तीन अडिट टनेल र सुन्दरीजल आउटलेट गरि चारवटा गेट करेक्सन गरिएको छ। भारतीय कम्पनीले डिजाइन तथा निर्माण गरेर गेट जडान गरेको हो।

मेलम्ची खानेपानी आयोजना प्रमुख तिरेशप्रसाद खत्रीका अनुसार सुरुङमार्गका सबै संरचना तयार भइसकेका छन्। फिनिसिङ सकेर नै परीक्षण थाल्न लागिएको हो। इन्स्ट्रुमेन्टेन्सेनदेखि गेटमा आकस्मिक उपकरण राख्नेसम्ममका सबै काम सकिएको उनको दाबी छ।

करेक्सन भएपछि विज्ञहरुलाई सुरुङमार्गका सबै संरचना देखाएर मात्रै पानी हाल्न लागिएको हो। यसअघि दुर्घटना भएको र त्यस्तो फेरि पनि नदोहोरियोस् भन्नका लागि विज्ञहरुलाई देखाइएको  खत्रीले बताए।

सुरङमार्गका संरचनाहरु जर्मनीको फिसनर कम्पनीलाई ल्याएर देखाइएको हो। यो त्यही कम्पनी हो, जसले मध्यमर्स्याङ्दी जलविद्युत आयोजना परामर्शदाताका रूपमा काम गरेको थियो। 

यस कम्पनीले मेलम्ची खानेपानीको सुरुङमार्गका संरचना अध्ययन-अनुगमनपछि दिएको प्रतिवेदन अनुसार सुरुङका केही संरचनामा करेक्सन र गेट तथा आकस्मिक उपकरणहरु राख्न सुझाएको थियो। सोहीअनुसारको काम सकेपछि पुन:परीक्षण थाल्न लागिएको हो।

सुरुङ परीक्षणमा दुई महिना लाग्ने, १६ दिनमा मेलम्चीको पानी काठमाडौंमा

सुरुङ परीक्षणका लागि कम्तिमा दुई महिना लाग्ने अनुमान छ। सुरुङमार्ग पानीले भर्न करिब १५ देखि २० दिन लाग्नेछ। १६औं दिनमा मेलम्चीबाट हिँडेको पानी सुन्दरीजल आइपुग्नेछ।

पानी भरिएपछि दुवैतिरको गेट बन्द गरेर एक साता राखिनेछ। त्यसपछि उक्त पानी फ्लसिङ गर्न १५ देखि २० दिन लाग्नेछ। पानी खालि भएपछि कहीँ केही समस्या छ कि भनेर करिब १० दिन जति निरीक्षण हुनेछ। कुनै समस्या नदेखिए सुरुङमार्ग पानी हाल्नका लागि तयार हुनेछ। त्यसपछि पथान्तरणका लागि सुरुङमार्ग तयार हुनेछ।  

अहिले खानेपानी आयोजनाको स्थायी हेडवर्क्स तयार नभएकाले कफर ड्याम (अस्थायी हेडवर्क्स)बाट पानी हाल्ने तयारी छ। स्थायी हेडवर्क्स निर्माणाधीन अवस्थामा छ जसको ९६ प्रतिशत काम सकिएको छ। तर जर्मनीबाट आउनुपर्ने सामान नआइपुगेकाले यसको काम रोकिएको छ।

जर्मनीबाट फोहोर छान्ने मेसिन (ट्रयास र्‍याक क्लिनिङ मेसिन) ल्याउन लागिएको हो। वैशाखसम्ममा आइसक्ने आयोजना प्रमुख खत्रीको दाबी छ।उक्त मेसिन जडान गरेर जेठबाट स्थायी पथान्तरण गर्न सकिने उनको भनाइ छ।

अहिले हेडवर्क्समा  गेट जडान र इन्स्ट्रुमेन्टेसेनको काम हुनेछ। साना ठूला गरि सुरुङमा कुल १५ वटा गेटहरु जडान गर्नुपर्नेछ।

यस आयोजनाको हाइड्रोमेकानिकलको काम गर्ने ठेक्का भने भारतीय कम्पनी प्रिसिसन इन्जिनियरिङले पाएको छ।