BIZMANDU
www.bizmandu.com

कोभिडका कारण एटीआर किन्ने योजनाबाट पछि हट्यो सिम्रिक, यतीको जेट स्ट्रीम जहाज किन्ने


कोभिडका कारण एटीआर किन्ने योजनाबाट पछि हट्यो सिम्रिक, यतीको जेट स्ट्रीम जहाज किन्ने
कोभिडका कारण एटीआर किन्ने योजनाबाट पछि हट्यो सिम्रिक, यतीको जेट स्ट्रीम जहाज किन्ने

Tata
GBIME
Nepal Life

काठमाडौं। यती एयरलाइन्सको पाँच वटै जेट स्ट्रीम जहाज सिम्रिक एयरलाइन्सले किन्ने भएको छ।

जहाज खरीदबिक्रीका बारेमा यती र सिम्रिकबीच मूल्यका बारेमा मोटामोटी सहमति समेत भइसकेको छ। दुबैतर्फ व्यवस्थापनको उच्च तहमा रहेका कर्मचारीका अनुसार एक महिनाभित्र जहाज खरीदबिक्री टुंगिनेछ।

 'यतीको जेट स्ट्रीम जहाज खरीद गर्ने अलमोस्ट कन्फर्म छ। अहिले हामीले जहाज निरीक्षण गरिरहेका छौं। जहाज खरीद बिक्रीको एग्रिमेन्ट केही समयभित्र भइसक्नेछ,' सिम्रिकका प्रमुख कार्यकारी अधिकृत वालकृष्ण श्रेष्ठले बिजमाण्डूसँग भने। जहाज खरीदबिक्रीको मूल्यमा पनि सहमति भइसकेको छ। एक महिनाभित्र यो डिल सक्ने योजना अनुसार छलफल अघि बढेको स्रोत बताउँछ।

यतीले डिल फाइनल भएको ६ महिनादेखि एक वर्षभित्र पाँच वटै जहाज तयार गरेर सिम्रिकलाई हस्तान्तरण गर्नेछ। ‘हामीले जेट स्ट्रीम हटाएर एकै प्रकारका जहाज संचालन गर्ने योजना बनाएका थियौं। त्यही योजना अनुसार जेट स्ट्रीम बेच्ने प्रक्रिया अघि बढेको हो,’ यती एयरलाइन्सका प्रवक्ता एवं उडान सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले बिजमाण्डूसँग भने। धेरै प्रकारका जहाज हुँदा इन्जिनीयर, पाइलट लगायत जनशक्ति पनि फरकफरक राख्दा बढी लागत पर्ने भएकाले यतीले एटीआर भित्र्याइरहेको छ। यतीले यो वर्ष (सन् २०२१) भित्रै दुईवटा एटीआर-७२ र एउटा ट्विनअटर जहाज थप्ने योजना बनाएको छ। यतिसँग रहेको पाँच वटा जेट स्ट्रीम मध्ये तीन वटा ग्राउण्डेड छ। तीन वटा जहाजको फ्लाइङ आवर एकदेखि तीन वर्ष बाँकी छ। हाल दुईवटा १८ सीट क्षमताको विचक्राफ्ट-१९०० मार्फत सिम्रिकले उडान गर्दै आएको छ।

सिम्रिकले कोभिड महाब्याधी आउनु अघि एटीआर-७२ जहाज ल्याएर एग्रेसिभ व्यवसायिक विस्तार गर्ने योजना बनाएको थियो। कोभिडसँगै उड्डयन क्षेत्र केही वर्ष अझै संकुचित हुने देखेपछि जेट स्ट्रीम जहाज किनेर ट्रंक रुटमा उडाउने योजना बनाएको हो।

 कम्पनीले जेट स्ट्रीम किनेपछि विराटनगर, भद्रपुर, नेपालगञ्ज र भैरहवा उडान गर्ने योजना बनाएको छ।  हाल भइरहेका दुईवटा विचक्राफ्टमार्फत माउन्टेन फ्लाइट, सिमरा, तुम्लिङटार लगायत गन्तब्यमा उडान गर्ने योजना सिम्रिकले बनाएको छ। सिम्रिकको अध्यक्ष घरजग्गा व्यवसायी राजेन्द्र शाक्य(दिजेन्द्र) छन्।

नाम पनि परिवर्तन हुँदै

मेजोरेटी सेयर किनेपछि व्यवसायी शाक्यले सिम्रिक एयरलाइन्सको नाम पनि परिवर्तन गर्दैछन्। उनले गुण एयरलाइन्स बनाउन पर्यटन मन्त्रालयमा निवेदन समेत दिइसकेका छन्।

सुनबाट घरजग्गा व्यवसाय हुँदै एयरलाइन्समा शाक्यले हात हालेका थिए। राष्ट्र बैंकले ०६५ सालमा घरजग्गा ऋणमा सीमा तोकेपछि घरजग्गा कारोबारमा मन्दी आयो। यो मन्दीका कारण व्यवसायी शाक्य पनि आर्थिक संकटमा फसे। शाक्यको  नाममा रहेको गुण एयरलाइन्सका दुइ वटा विचक्राफ्ट र सुधिर बस्नेतको अग्नि एयरलाइन्सका दुई वटा डोर्नियर जहाज क्याप्टेन रामेश्वर थापाले किने।

यो सिम्रिक एयरलाइन्समा शाक्य पनि साझेदार बने। घरजग्गा कारोबारमा सुधिर उक्सिएनन् तर शाक्यले भने वित्तिय व्यवस्थापन गर्दै आफूलाई उकासे। वित्तिय रुपमा सबल बनेपछि सिम्रिक एयरलाइन्स आफ्नो  नाममा ल्याएर पूरानै ब्राण्ड गुणको नाममा शाक्यले एयरलाइन्स चलाउन लागेका हुन्।