BIZMANDU
www.bizmandu.com

तामाकोशी र निफ्राको कारोबारले सेयर बजार हरियो, नेप्से तीन अंकले बढेपनि सेन्सेटिभ २ अंक घट्यो

२०७७ फागुन ९

Tata
GBIME
Nepal Life

काठमाडौं। आइतबार सेयर बजार परिसूचक नेप्से ३ अंकले बढेपनि सेन्सेटिभ इन्डेक्स भने २ अंकले घटेको छ। 

माथिल्लो तामाकोशी र निफ्राको सेयर मूल्य १०/१० प्रतिशतले बढेर पनि सर्वाधिक कारोबार हुँदा सेयर बजार हरियो भएर बन्द भएको छ।

तर नेप्से सूचक ३ अंकको बृद्धि सहित २६४० बिन्दुमा बन्द हुँदा राम्रो वित्तीय अवस्था भएका कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स भने २.२० अंकले घटेर ४७९ बिन्दुमा ‌ओर्लिएको छ।

त्यस्तै आइतबार कारोबार भएका अधिकांश कम्पनीको सेयर मूल्य पनि घटेको छ। १०३ कम्पनीको मूल्य घट्दा ६७ कम्पनीको मात्रै मूल्य बढेको छ। ४ कम्पनीको मूल्यमा कुनै परिवर्तन भएन।

सुरुवाती समयमा निकै उतारचढाव देखिएको बजारमा मध्यान्ह पछि भने सामान्य सुधार हुँदै गएको थियो। अन्त्यमा ३ अंकको बृद्धि सहित बजारले सुखद अन्त्य गरेको हो।

आइतबार कारोबार रकम समेत करिब पौने नौ अर्ब रुपैयाँ पुगेको छ। २०७ कम्पनीका दुई करोड ४० लाख कित्ता सेयर आठ अर्ब ८४ करोड रुपैयाँमा किनबेच भएका छन्। आइतबार निफ्राको मात्रै १३ हजार पटक कारोबार हुँदा कूल कारोबार संख्या बढेर ९३ हजार पुगेको छ।

धेरैपछि जलविद्युत समुह उचालियो

माथिल्लो तामाकोशी लगायतका जलविद्युत आयोजनाको सेयर मूल्य १० प्रतिशतले बढेपछि जलविद्युत समुहको उपसूचक सर्वाधिक ८३ अंकले बढेको छ।

निफ्राको सेयर मूल्य पनि १० प्रतिशतले बढ्दा अन्य समुहको उपसूचक पनि ३९ अंकले बढेको छ। विकास बैंक समुह २९ अंकले बढेको छ।

जीवन बीमा समुह सर्वाधिक ३६१ अंकले घट्दा निर्जीवन बीमा समुह ८३ अंकले घटेको छ। माइक्रोफाइनान्स ४५ अंक र बैंकिङ समुह ७ अंकले घटेको छ।

माथिल्लो तामाकोशी, शिभश्री हाइड्रोपावर, निफ्रा, नेपाल हाइड्रो डेभलपर, चन्द्रागिरी हिल्स र समृद्धि फाइनान्सको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ। लिवर्टी इनर्जीको सेयर मूल्य समेत ८ प्रतिशतले बढेको छ।

बेष्ट फाइनान्स, किसान लघुवित्त, सबैको लघुवित्त, समिट लघुवित्त र फवार्ड लघुवित्तको सेयर मूल्य भने समान ३/३ प्रतिशतले घटेको छ।

सर्वाधिक कारोबारमा नेपाल बैंक र निफ्रा अगाडि

नेपाल बैंकको सर्वाधिक ६१ करोड रुपैयाँको सेयर किनबेच हुँदा निफ्राको समेत ५५ करोड, एनआइसी एसिया र ग्लोबल आइएमई बैंकको ३०/३० करोड, शिखर इन्स्योरेन्स २७ करोड र नबिल बैंकको २४ करोड रुपैयाँको किनबेच भएको छ।

त्यस्तै नेपाल लाइफको २२ करोड, सिभिल बैंकको २१ करोड, माथिल्लो तामाकोशीको २० करोड र नागरिक लगानी कोषको १८ करोड रुपैयाँको सेयर किनबेच भएको छ।

नेपाल बैंकको सर्वाधिक १३ लाख कित्ता सेयर किनबेच हुँदा निफ्राको नौ लाख २० हजार कित्ता र सिभिल बैंकको आठ लाख ३१ हजार कित्ता सेयर किनबेच भएको छ।