BIZMANDU
www.bizmandu.com

पर्साका चार खोलाबाट गिटी बालुवा झिक्न तस्कर सक्रिय, अवैध उत्खननले राजस्व गुम्यो

२०७७ फागुन ९

Tata
GBIME
Nepal Life

वीरगंज। पर्साका ६ वटा खोलामध्ये चार खोलाको ठेक्का नलाग्दा अवैध रुपमा गिटी बालुवाको उत्खनन भैरहेको छ।

जिल्ला समन्वय समिति पर्साका सभापति नेक महम्द अन्सारीका अनुसार चारवटा खोलामा उत्खननका लागि प्रारम्भिक वातावरण परीक्षण प्रतिवेदन(आईइइ) स्वीकृति गराउन समय लाग्ने भएकोले ठेक्का प्रकृया लम्बिएको हो।

उनका अनुसार पर्सामा अहिले वीरगंज महानगरको स्वामित्वमा पर्ने भेडहा खोलाको मात्र ठेक्का लागि बालुवा, गिटी र ढुंगा उत्खनन भइरहको छ।

पर्सागढीको सिंगयाही खोलाको पनि ठेक्का लागिसकेकोमा केही सर्त मिचिएकोले जिल्ला समन्वय समितिको बैठकले विभिन्न सर्तहरु पालना गराउन दुबै खोलाका ठेकेदारलाई निर्देशन दिएको उनले जानकारी दिए।

सभापति अन्सारीले भने-'ठेक्का प्रकृयाको सम्झौताको सर्त विपरित ठेकेदारले खोलाबाट प्राकृतिक स्रोत सम्पदा उत्खनन गरी लगेको भन्ने सूचनाका आधारमा अबदेखि ६ वटा विभिन्न सर्त कडाइका साथ पालना गरेर मात्र गिटी बालुवा उत्खनन गर्न निर्देशन दिएका छौं। यदि ती सर्त पालना नभए आगामी दिनमा ठेक्का समेत तोडेर कानुनी कारबाहीको लागि पनि चेतावनी दिइसकेका छौं।'

त्यसैगरी,पर्साको पर्सागढीको अर्को खोला कर्जनिया,पटेर्वा सुगौलीको एकल स्वामित्वमा पर्ने गादी खोलाको पनि ठेक्का लाग्न सकेको छैन। यी खोलाबाट तस्करहरुले अबैध रुपमा बालुवाजन्य पदार्थको उत्खनन गरी तस्करी गर्ने गरेका छन् ।

चार वटा खोलाको ठेक्का लाग्न नसक्दा स्थानीय पालिकाको  राजस्वको ठूला हिस्सा गुमेको छ ।

दुई पालिकाको क्षेत्र पर्ने जमुनीया, भलुवाही खोलामा पनि तस्करहरु सक्रिय भएको गाउँलेहरुले बताएका छन् ।

जमुनिया खोलामा पटेर्वासुगौली र सखुवाप्रसौनी गाउँपालिकाको स्वामित्व पर्छ भने भलुवाहीमा पटेर्वासुगौली र जीराभवानीको क्षेत्र पर्दछ ।

ठेक्का लाग्न नसकेका चारवटा खोलाको विषयमा टुंगो लगाउने जिम्मा प्रदेश सरकारले स्थानीय पालिकालाई सुम्पिएपनि ठेक्का लाग्न नसकेको हो।  

अन्सारीले आगामी वर्षदेखि सबै खोलाको प्रारम्भिक वातावरण परीक्षण प्रतिवेदन तयार गरी समयमै ठेक्का लाग्ने विश्वास व्यक्त गरे ।

स्थानीय पालिकाभित्र पर्ने खोलाको हकमा सम्बन्धित पालिकाले पहिले अनुगमन गरी प्रतिवेदन तयार गरेपछि जिल्लास्थित जिल्ला समन्वय समितिको नेतृत्वमा विज्ञहरुको टोलीले अनुगमन गरी प्रतिवदेनलाई स्वीकृति दिएमात्र खोलाको टेण्डर प्रकृया अघि बढ्ने नियम छ ।