BIZMANDU
www.bizmandu.com

पाइलटको सेवासुविधा कटौतीप्रति कर्मचारी संघ रुष्ट, ‘चिनियाँ जहाज व्यवस्थापन अघि मर्का नपारौं’

२०७७ फागुन ८

पाइलटको सेवासुविधा कटौतीप्रति कर्मचारी संघ रुष्ट, ‘चिनियाँ जहाज व्यवस्थापन अघि मर्का नपारौं’
पाइलटको सेवासुविधा कटौतीप्रति कर्मचारी संघ रुष्ट, ‘चिनियाँ जहाज व्यवस्थापन अघि मर्का नपारौं’


Tata
GBIME
Nepal Life

काठमाडौं। आफ्ना चिनियाँ जहाजमा कार्यरत पाइलटको खाइपाइ सुविधा कटौती गरेको विषयमा नेपाल वायुसेवा निगमप्रति नेवानि कर्मचारी संघले आपत्ति जनाएको छ। 

एमए-६० र वाइ-१२ (चिनियाँ जहाज) जहाज व्यवस्थापन नहुँदा निगमले दैनिक करोडौं रुपैयाँ घाटा व्यहोर्दै आएको संघले जनाएको छ।  
जहाज व्यवस्थापन गर्नु अगाडि नै खाइपाइ आएका सेवासुविधा कटौती गर्दा कर्मचारी मर्कामा परेको संघले जनाएको छ।

निगम सञ्चालक समितिको यो कदमले पाइलटलाई पेसाबाट विस्थापनतर्फ धकेल्ने बताउँदै संघका अध्यक्ष मानबहादुर कुँवरले भने,'एकातिर पाइलटको चरम अभाव छ भनेर देखाउने, अर्कातिर भएका पाइलटको उचित व्यवस्थापन, सुविधा र वृत्तिविकास सम्बन्धी कुनै ध्यानै नदिइ निगमको सेवाबाट नै विस्थापित गराउन लागिएको देखिएको छ।'

यसैगरी निगमको एयरबस ३३० (वाइडबडी जहाज)मा कार्यरत को-पाइलटले कमान्डर पाइलट बन्नका लागि मापदण्ड परा गरे पनि बन्चित गराइएको संघले जनाएको छ। निगमको यो कार्यले भविष्यमा वरिष्ठ पाइलटको अभाव  हुने संघको दाबी छ। क्षमताका आधारमा तत्काल पाइलटको स्तरवृद्धि गराउनका लागि संघले माग गरेको छ।

पाँच वर्षअघि भित्र्याइएका चिनियाँ जहाज सञ्चालन गर्न नसक्दा करिब सवा दुई अर्ब रुपैयाँ घाटा व्यहोरेपछि निगमले दुई मोडेल मोडर्न आर्क ६० (एमए-६०) र वाइ १२-इ) उडाउन बन्द गर्ने घोषणा गरिसकेको छ। निगमले साउन १५ गतेबाट ६ वटै चिनियाँ जहाज सञ्चालनमा नल्याउने र यी जहाजमा कार्यरत पाइलटको करार नवीकरण नगर्ने निर्णय गरेको थियो।

निगमका अनुसार दुई एमए-६० र चार वाई-१२ ई जहाजमध्ये एउटा एमए-६० र एउटा वाइ-१२ ई  जहाजमात्र उडानयोग्य छन्। 
नेपाल र चीनबीच २०६९ मंसिरमा दुई जहाज अनुदान र चार वटा जहाज साढे तीन अर्ब रुपैयाँमा खरिद सम्झौता भएको थियो। सोहीअनुसार २०७१ वैशाखमा ५६ सीटे एमए ६० जहाज चीनले दिएको थियो।