BIZMANDU
www.bizmandu.com

बिक्री घटेपछि हुवावे स्मार्टफोनबाट सिफ्ट हुँदै, सुंगुर फार्मिङका लागि नयाँ प्रविधि ल्याउने

२०७७ फागुन ७

Tata
GBIME
Nepal Life

हुवावेले चीनमा सुंगुरपालक किसानहरुका लागि नयाँ प्रविधि विकास गर्दैछ। चिनियाँ टेलिकम जायन्ट हुवावे अमेरिकी प्रतिबन्धको मार खेपिरहँदा उसका स्मार्टफोनहरुको बिक्री निकै घटेको छ। 

आम्दानीको नयाँ बाटो खोज्दै हुवावेले चीनका सुंगुरपालक किसानहरुका निम्ति आर्टिफिसियल इन्टेलिजेन्स (एआइ) प्रविधिको विकासमा लागेको बताएको छ। यस्तै हुवावेले कोइला उद्योगमा पनि नयाँ प्रविधि तथा आविष्कारको काम गर्दैछ।

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षाको कारण देखाउँदै हुवावेमाथि प्रतिबन्ध लगाएका कारण लामो सयमदेखि हुवावे बिक्री समस्या झेलिरहेको छ।

विश्वको सबैभन्दा ठूलो टेलिकम उपकरण निर्माता कम्पनी हुवावे हाल फोरजी मोडलका स्मार्टफोन निर्माणमा मात्रै सीमित भएको छ। फाइभ जीका लागि आवश्यक चिप तथा उपकरणहरु आयातका लागि समेत अमेरिकाको अनुमति नपाएका कारण हुवावे तनावमा छ।

सन् २०२० को अन्तिम त्रैमासमा हुवावेको स्मार्टफोनको बिक्री ४२ प्रतिशतले घटेको थियो। अब हुवावेले आफ्नो स्मार्टफोनहरुको उत्पादन ६० प्रतिशतले घटाउने तयारी गरिरहेको समेत बताइएको छ।

कम्पनीका प्रवक्ताले भने -'भूराजनीतिक तनावका कारण हुवावेले समस्या खेपिरहेको हो। समस्या हाम्रो गुणस्तर वा उत्पादनहरुमा हुँदै होइन।'

हुवावेले आम्दानीको नयाँ स्रोत खोज्दै क्लाउड कम्प्युटिङ, स्मार्ट भेहिकल  तथा अन्य डिभाइसहरुको निर्माणमा अघि बढेको छ।

उसले स्मार्ट कारहरुमा पनि काम गर्ने योजना बनाएको छ।

चीन विश्वकै सबैभन्दा ठूलो संगुर फार्मिङ उद्योग भएको मुलुक हो। उसले विश्वलाई आवश्यक पर्ने आधा जति सुंगुरको मासु आपूर्ति गर्छ।

त्यसैले सुंगुर फार्महरुलाई आधुनिकीकरण गर्नका लागि हुवावेले काम गर्न थालेको हो।

उसले सुंगुरको रोग पत्ता लगाउने तथा ट्रयाकिङका लागि एआई प्रविधिको विकास गर्न लागेको बताएको छ। यसमा सुंगुरको अनुहार पहिचान प्रणालीको विकास गर्ने तथा उनीहरुको वजन, खाना र ब्यायामको बिबरण राख्ने प्रविधिको पनि विकास हुनेछ।

गत महिना नै हुवावेले अनुहार पहिचान प्रविधि बनाइसकेको छ । यो प्रविधिलाई कम्पनीले गत महिना सार्वजनिक गरेको थियो। सडकमा हिँडिरहेकामध्ये विगुर समुदायका मानिसहरुको पहिचान गर्ने प्रणाली विकास गरिएकोमा हुवावेको आलोचना समेत भएको  थियो।

अन्य चिनियाँ टेक जायन्टहरु जेडि डट कम र अलिबाबाले यस अघि नै चीनका सुंगुरपालक किसानहरुका लागि नयाँ प्रणाली विकास गर्ने काम गरिरहेको छ।

हुवावेका प्रवक्ताले भने- 'हामी केही परम्परागत उद्योगहरुमा सूचना तथा संचार प्रविधिको प्रयोग गरी त्यसलाई फाइभ-जी युगमा प्रतिस्पर्धा गर्न सक्ने बनाउँछौं र सुंगुर फार्महरु त्यसको राम्रो नमुना बन्न सक्छन्।'

हुवावेले कोइला खानीमा पनि काम गर्न थालिसकेको छ। फेब्रुअरीको सुरुवातमै हुवावेले चीनको सान्सी प्रान्तमा रहेको कोइला खानीमा ल्याब खोल्ने घोषणा गरिसकेको छ।