BIZMANDU
www.bizmandu.com

वर्ल्डलिंकले गैरकानूनी रुपमा आइपीटीभी सिग्नल प्रसारण गरेको भन्दै सञ्चार मन्त्रालयमा उजुरी

२०७७ फागुन ७


काठमाडौं। इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकले गैरकानूनी रूपमा टेलिभिजन सिग्नल प्रसारण गरेको भन्दै नेपाल केबल टेलिभिजन व्यवसायी महासंघले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा उजुरी दर्ता गराएको छ।

Tata
GBIME
Nepal Life

महासंघका पदाधिकारीहरुले बिहीबार सञ्चार मन्त्री पार्वत गुरुङलाई भेटेरै वर्ल्डलिंकले आफ्ना इन्टरनेट प्रयोगकर्ताहरुलाई गैरकानूनी रूपमा टेलिभिजन सिग्नल प्रसारण गरेको भन्दै महासंघका महासचिव मनोज गुरुङद्वारा हस्ताक्षरित उजुरी बुझाएका छन्।

पत्रमा वर्ल्डलिंकले एनआइटीभी स्ट्रिम्ज प्रालिको एनआइटीभी अंकित सिग्नल प्राप्त गरी प्रसारण गरिरहेको उल्लेख छ। उक्त क्रियाकलाप राष्ट्रिय प्रसारण नियमावली २०५२ को नियम ८ को उपनियम (ग ३) मा व्यवस्था भएको प्रावधान विपरीत भएको महासंघले जनाएको छ। 

उक्त बुँदामा ‘अन्य व्यक्ति वा संगठित संस्थाले स्थापना गरेको डिजिटल प्रविधिमा आधारित प्रसारण केन्द्रबाट सिग्नल प्राप्त गरी प्रसारण गर्ने व्यक्ति वा संगठित संस्थाले जसको प्रसारण केन्द्रबाट सिग्नल प्राप्त गरेको हो सोही इजाजतपत्रवालाले प्रसारणमा प्रयोग गरेको चिन्ह, संकेत वा लोगो(कल साइन) मात्र प्रयोग गर्नुपर्ने’ प्रावधान समेटेको महासंघले जनाएको छ। 

नियमावलीको नियम ३ (इजाजतपत्रका लागि निवेदन दिनुपर्ने) को उपनियम (१ क) मा स्याटेलाइट वा अन्य सञ्चारमाध्यमद्वारा कार्यक्रम प्रसारण गर्न डिजिटल प्रविधिमा आधारित प्रसारण केन्द्र स्थापना गरी सिग्नल वितरण गर्न, अन्य व्यक्ति वा संगठित संस्थाले स्थापना गरेको डिजिटल प्रसारण केन्द्रबाट सिग्नल प्राप्त गरी कार्यक्रम प्रसारण गर्न निवेदन दिनुपर्ने व्यवस्था रहेको महासंघले जनाएको छ।  

महासंघका अनुसार। एनआइटीभी स्ट्रिम्ज प्रालिले स्थापना गरेको डिजिटल प्रसारण केन्द्रबाट सिग्नल प्राप्त गरी कार्यक्रम प्रसारण गर्न वर्ल्डलिंकले इजाजतपत्रको लागि निवेदन दिनुपर्छ।  नियमावलीको नियम ४ (इजाजतपत्र दिन सकिने) को उपनियम (१क) अनुसार अन्य व्यक्ति वा संगठित संस्थाले स्थापना गरेको डिजिटल प्रसारण केन्द्रबाट सिग्नल प्राप्त गरी कार्यक्रम प्रसारण गर्न इजाजत प्राप्त गरी प्रसारण गर्नुपर्नेमा वर्ल्डलिंकले इजाजतपत्र नै प्राप्त नगरी गैरकानुनी रुपमा टेलिभिजन प्रसारण गरेको महासंघको जिकिर छ।

यस्तै, राष्ट्रिय प्रसारण ऐन, २०४९ को दफा ४ (इजाजतपत्र नलिइ प्रसारण गर्न नहुने) मा व्यवस्था भएको ‘कसैले पनि यस ऐन बमोजिम इजाजतपत्र नलिइ कुनै पनि कार्यक्रम प्रसारण गर्नु हुँदैन’ को प्रावधान र सोही ऐनको दफा ५ (इजाजतपत्रको लागि निवेदन दिनुपर्ने) मा ‘नेपाल भित्रको कुनै ठाउँमा स्याटेलाइट, केबल वा अन्य सञ्चारमाध्यमद्वारा कुनै कार्यक्रम प्रसारण गर्न चाहने व्यक्ति वा संगठित संस्थाले तोकिएको दस्तुर सहित तोकिएको ढाँचामा नेपाल सरकार समक्ष निवेदन दिनुपर्ने’ व्यवस्था रहेको महासंघले जनाएको छ। 

उक्त ऐनको दफा ६ (इजाजतपत्र दिन सकिने) मा नेपाल सरकारले आवश्यक जाँचबुझ गरी तोकिएको सर्तहरु पालना गर्नेगरी कार्यक्रम प्रसारण गर्न इजाजतपत्र दिन सक्ने व्यवस्था रहेको महासंघले जनाएको छ। महासंघले एनआइटीभी स्ट्रिम्जले स्थापना गरेको डिजिटल प्रसारण केन्द्रबाट सिग्नल प्राप्त गरी कार्यक्रम प्रसारण गर्दा वर्ल्डलिंकले राष्ट्रिय प्रसारण ऐन,२०४९ को दफा ४ विपरीत कार्य गरेको आरोप उजुरी पत्रमा उल्लेख गरेको छ।  

सिग्नल प्रसारणका लागि अनिवार्यरूपमा इजाजत पत्र आवश्यक पर्ने कानुनी व्यवस्था छ। राष्ट्रिय प्रसारण नियमावलीले आइपीटीभीलाई अन्य सञ्चारमाध्यम अन्तर्गत परिभाषित गरेको हुँदा सो नियम अनुसार अनिवार्य इजाजत पत्र लिनुपर्ने तर वर्ल्डलिंकले अनुमति नै नलिइ सिग्नल प्रसार गरिरहेको उजुरीमा उल्लेख छ।