BIZMANDU
www.bizmandu.com

नेप्से २६०० नाघेपछि सेयर खेलाडीको ध्यान सस्ता सेयरको मूल्य उचालेर बजार बढाउने र महँगा बेच्नेमा

२०७७ फागुन ६

नेप्से २६०० नाघेपछि सेयर खेलाडीको ध्यान सस्ता सेयरको मूल्य उचालेर बजार बढाउने र महँगा बेच्नेमा
नेप्से २६०० नाघेपछि सेयर खेलाडीको ध्यान सस्ता सेयरको मूल्य उचालेर बजार बढाउने र महँगा बेच्नेमा


काठमाडौं। साताको अन्तिम दिन बिहीबार सेयर बजार सूचक नेप्से २५ अंकले बढेर २६३६ विन्दुमा पुगेर बन्द भएको छ।

Tata
GBIME
Nepal Life

यसरी बजार बढ्दा अहिले सेयर बजारका खेलाडीहरुको ध्यान भने सस्तो मूल्य रहेका कम्पनीको सेयर मूल्य उचालेर बजारलाई हरियो नै बनाइराख्ने र महँगा सेयर बिक्रीबाट नाफा बुक गर्ने देखिएको छ।

बिहीबार कारोबार भएका सेयरहरुमध्ये सर्वाधिक मूल्य बढ्ने १० कम्पनीमध्ये दुई वटाको मात्र मूल्य पाँच सय रुपैयाँभन्दा माथि छ। सकारात्मक सर्किट ब्रेकर लागेका बाँकी सबै कम्पनीको प्रतिकित्ता सेयर मूल्य तीन सय रुपैयाँभन्दा कम छ। यसबाट पनि सेयर बजारका खेलाडीहरु सस्ता  सेयरको मूल्य बढाउनेतर्फ मोडिएको बुझिन्छ।

तर सर्वाधिक कारोबार हुने १० कम्पनीहरुमा भने सिभिल बैंक र मेगा बैंकबाहेक अन्यको प्रतिकित्ता मूल्य चार सय रुपैयाँदेखि २३ सय रुपैयाँसम्म रहेको छ।

बिहीबार नेप्से सूचकमा उतारचढाव आए पनि बजारले कुनै पनि बेला रातो रङ भने ल्याएन। कारोबार रकममा समेत बुधबारको तुलनामा सुधार आएको छ। बुधबार आठ अर्ब रुपैयाँको मात्रै कारोबार भएकोमा बिहीबार भने पौने नौ अर्ब रुपैयाँभन्दा बढीको सेयर किनबेच भयो।

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को सेयर मूल्य आज पनि १० प्रतिशतले बढेर लगातार पाँचौं दिन सर्किट लागेको छ। त्यस्तै, जम्मा ८ करोड रुपैयाँ मात्रै नाफा गरेको सिभिल बैंकको सेयर मूल्य पनि आज १० प्रतिशतले बढ्दै सर्किट लाग्यो। मूल्य बढेर सर्किट लाग्ने अधिकांश कम्पनीको सेयर मूल्य भने ३०० रुपैयाँभन्दा कम छ।

नेशनल हाइड्रो डेभलपर, बेष्ट फाइनान्स, कर्णाली डेभलपमेन्ट बैंक, समृद्धी फाइनान्स, ग्रीन डेभलपमेन्ट बैंक र एभरेष्ट बैंकको अग्राधिकार सेयरको मूल्य पनि १० प्रतिशतले बढेको छ। हिमालयन ऊर्जा विकास कम्पनी र सपोर्ट माइक्रो फाइनान्सको सेयर मूल्य भने ३/३ प्रतिशतले घटेको छ।

समूहगत रूपमा हेर्दा जीवन बीमा, निर्जीवन बीमा र लघुवित्तबाहेक सबै समूहको उपसूचक हरियो भएका छन्। यस क्रममा ट्रेडिङ समूह ७२ अंक, विकास बैंक ६२ अंक, अन्य  ५३ अंक र बैंकिङ समूह २३ अंकले बढेको छ। उत्पादन (२० अंक)  र हाइड्रोपावर समूह पनि (१८ अंक) बढेको छ। जीवन बीमा र निर्जीवन बीमा समूह भने क्रमशः १०९ र ५० अंकले घटेको छ।

आज म्युचुअल फण्ड बाहेकका १३ कम्पनीको मूल्य स्थिर रहँदा ७८ कम्पनीको मूल्य घटेको छ भने ८४ कम्पनीको मूल्य बढेको छ। 

रकमका आधारमा बिहीबार एनआइसी एसिया बैंकको सर्वाधिक ५६ करोड रुपैयाँको सेयर किनबेच भयो। यसै सात नेप्सेमा सूचीकृत निफ्राको पनि ५० करोड रुपैयाको कारोबार भएको छ। लो पर्फर्मर बैंक मानिएको सिभिल बैंकको पनि आज सकारात्मक सर्किट लाग्दा २८ करोड रुपैयाँको सेयर किनबेच भयो। यस्तै, ग्लोबल आइएमई र नबिल बैंकको २६/२६ करोड तथा नेपाल टेलिकमको २५ करोड रुपैयाँको सेयर किनबेच भएको छ।

धेरै रकमको सेयर किनबेच हुने अन्य कम्पनीमा एभरेष्ट बैंक (२२ करोड), नेपाल बैंक (२१ करोड), नेपाल लाइफ इन्स्योरेन्स (२१ करोड) र मेगा बैंक (१८ करोड) रहेका छन् ।

बिहीबार सबैभन्दा धेरै कित्ता सेयर किनबेच हुनेमा भने सिभिल बैंकले सबैलाई उछिनेको छ। यसको ११ लाख ८७ हजार कित्ता सेयर किनबेच हुँदा निफ्राको नौ लाख ३२ हजार कित्ता र एनआइसी एसिया बैंकको पाँच लाख ८७ हजार कित्ता कारोबार भयो।

समग्रमा बिहीबार २०६ कम्पनीको ९० हजार कारोबारबाट एक करोड ९६ लाख कित्ता सेयर किनबेच भयो, जसको कुल कारोबार मूल्य ८ अर्ब ७६ करोड रुपैयाँ रहेको छ। यससँगै सेयर बजारको कुल पुँजीकरण बुधबारको भन्दा ३५ अर्बले बढ्दै ३६ खर्ब ३३ अर्ब रुपैयाँबराबर पुगेको छ।