BIZMANDU
www.bizmandu.com

वर्ष दिनदेखि कामकाजविहीन ट्रेकिङ गाइडलाई प्रभु बैंकको ऋण, ‘स्याउ लाउने भए सहयोग गर्छौं’

२०७७ फागुन ६

वर्ष दिनदेखि कामकाजविहीन ट्रेकिङ गाइडलाई प्रभु बैंकको ऋण, ‘स्याउ लाउने भए सहयोग गर्छौं’
वर्ष दिनदेखि कामकाजविहीन ट्रेकिङ गाइडलाई प्रभु बैंकको ऋण, ‘स्याउ लाउने भए सहयोग गर्छौं’

Tata
GBIME
Nepal Life

काठमाडौं। सरकारले गत चैत ११ गतेबाट लकडाउन गरेपछि सगरमाथा क्षेत्रको पर्यटन ठप्प भएको थियो। सन्सारलाई नै अप्ठेरोमा पारेको कोभिड-१९ का कारण चैत अघिबाटै सगरमाथा क्षेत्र घुम्न आउने पर्यटक एकदमै न्यून भइसकेका थिए।

लगभग वर्ष दिनदेखि कमाइ न धमाइमा त्यहाँका होटल/रेष्टुरेन्ट मात्र थिएनन्, पर्यटकलाई गाइड गर्नेदेखि भरियासम्मको खल्ती खाली थियो। 

उनीहरुलाई लक्षित गर्दै बुधबार प्रभु बैंकले ऋण उपलब्ध गराएको छ। जनही एक लाख रुपैयाँ दरले ऋण दिएको हो। यसको ब्याज बढीमा साढे तीन प्रतिशत पर्छ। यसमा सरकारको अनुदान पनि छ।

दुई वर्षका लागि दिइएको ऋणको किस्ता ६ महिनासम्म तिर्नु पर्दैन। त्यसपछि भने साढे तीन प्रतिशत हाराहारीका दरले तिर्नु पर्छ। बुधबार कालापत्थर पुगेर प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले २४ जनालाई ऋण उपलब्ध गराएका हुन्।

'यो सुरुवात मात्र हो। तपाइँहरुलाई गाह्रो/साह्रो परेको छ, अहिले आवश्यकीय खर्च गर्नका लागि भनेर हामीले ऋण दिएका हौं,' ऋणीहरुलाई सम्बोधन गर्दै उनले भने, 'भोलि अलिकति व्यापार व्यवसाय गर्छु भन्नुभयो भने त्यहाँ पनि हामी सघाउन तयार छौं।' 

प्रभु बैंकले आइडिया स्टुडियो नेपालसँगको सहकार्यमा ऋण दिएको हो। आइडिया स्टुडियोका कार्यकारी अध्यक्ष डा. छिरिङ लामाले कोरोनाले गाइड लगायतलाई धेरै असर गर्‍यो भनेर थोरै भए पनि सहयोगको हात बढाइएको बताए।

त्यस क्षेत्रमा पहिले स्याउ पनि उत्पादन हुने गर्थ्यो। अहिले भने उत्पादन हुँदैन। स्याउ खेतीको लगानीमा प्रभु बैंकको अनुभव छ। बैंकले मनाङमा पाल्तेन गुरुङलाई ऋण सहयोग गरेको छ। त्यहाँको स्याउले अहिले राम्रो बजार पाइरहेको छ।

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत शेरचनले मनाङमा जस्तै कालापत्थर क्षेत्र (लुक्ला विमानस्थलबाट पैदल तीन घण्टाको दुरी) मा पनि बैंकले स्याउ उत्पादन गर्ने हो भने ऋण सहयोग गर्ने आश्वासन दिए। 

'यहाँ स्याउको सम्भावना देखियो। मनाङमा पनि त्यस्तै थियो। अहिले त्यहाँ अन्य किसानले पनि स्याउ खेती गरिरहेका छन्। त्यहाँ युरोपबाट बिरुवा ल्याइएको थियो,' शेरचनले भने, 'तपाइँहरु काम गर्न इच्छुक हुनु हुन्छ भने बैंक सहयोग गर्न तयार छ।'