BIZMANDU
www.bizmandu.com

पुनर्बीमाको ५ महिनाको रेकर्ड निफ्राले पाँच दिनमै तोड्दै, बिहीबार बजार पुँजीकरण एक खर्ब पुग्दै

२०७७ फागुन ५


काठमाडौं। सेयर बजारको सबैभन्दा कान्छो कम्पनी नेपाल इन्फ्रास्ट्रक्चर बैंक छोटो समयमै एक खर्ब रुपैयाँ बजार पुँजीकरण भएका सीमित कम्पनीहरुको क्लवमा पुग्ने कान्छो कम्पनी बन्ने भएको छ। 

Tata
GBIME
Nepal Life

बुधबार सेयर मूल्य बढेर प्रतिकित्ता ४९७ रुपैयाँ पुगेसँगै बैंकको बजार पुँजीकरण ९९ अर्ब ४० करोड रुपैयाँ पुगिसकेको छ। 

बिहीबार बैंकको सेयर मूल्य ३ रुपैयाँ मात्रै बढ्नेबित्तिकै पुनर्बीमा कम्पनीले पाँच महिना लगाएर बनाएको एक खर्ब पुँजीकरणको रेकर्ड निफ्राले ५ दिनमै तोड्ने पक्का छ।

पुनर्बीमा कम्पनी नेप्सेमा सूचीकृत भएर कारोबारमा आएको करिब पाँच  महिनापछि मात्रै एक खर्ब रुपयाँ बजार पुँजीकरण भएको कम्पनी बनेको थियो।

यसअघि नेपाल टेलिकम, नेपाल लाइफ इन्स्योरेन्स, नबिल बैंक, ग्लोबल आइएमई बैंक र एनआइसी एसिया बैंक मात्रै एक खर्ब रुपैयाँभन्दा बढी बजार पुँजीकरण भएका कम्पनीहरुको क्लवमा पुगेका छन्। 

चुक्ता पुँजीका हिसाबले निफ्रा बैंक पुनर्बीमा कम्पनीभन्दा ठ्याकै दोब्बर ठूलो कम्पनी हो। तर पनि पुनर्बीमा कम्पनीले पाँच महिनामा बनाएको रेकर्ड निफ्राले भने पाँच दिनमै बनाउने पक्कापक्की छ।

यो समाचार तयार पार्दासम्म निफ्राको करिब १६ हजार कारोबारबाट १३ लाख ६० हजार कित्ता सेयर ६८ करोड रुपैयाँमा किनबेच भइसकेको छ। यसको सेयर बुधबार सर्वाधिक कारोबार हुनेमा सबैभन्दा अगाडि रहेको छ ।