BIZMANDU
www.bizmandu.com

तरलतामा दबाब पर्न थाल्यो: एक महिनामा ५ अर्ब रुपैयाँ निक्षेप बढ्दा ७४ अर्ब रुपैयाँ ऋण बिस्तार

२०७७ फागुन ४


काठमाडौं। आक्रमक ऋण बिस्तार हुन थालेपछि बैंकिङ तरलता बिस्तारै कम हुँदै गएको छ। निक्षेप संकलन बिस्तारै कम हुँदै गएका बेला बैंकहरुले ऋण बिस्तारमा तिब्रता दिँदा तरलता कमी भएको हो।

Tata
GBIME
Nepal Life

माघ महिनामा मात्र २७ बाणिज्य बैंकहरुले ७४ अर्ब रुपैयाँ ऋण बिस्तार गरेका छन्। जबकी निक्षेप भने ५ अर्ब रुपैयाँले मात्र बढेको छ।

माघ ३० गतेसम्म बाणिज्य बैंकहरुमा कुल ३३ खर्ब १७ अर्ब रुपैयाँ ऋण बिस्तार भएको छ। निक्षेप ३७ खर्ब ८६ अर्ब रुपैयाँ पुगेको छ। 

माघ अन्तिम साता मात्रै ऋण २९ अर्ब रुपैयाँले बढेको छ। निक्षेप भने २ अर्ब रुपैयाँले बढेको छ। राष्ट्र बैंकका अनुसार, असार मसान्तयता निक्षेप २ खर्ब ९९ अर्ब रुपैयाँले बढ्दा ऋण बिस्तार ४ खर्ब १४ अर्ब रुपैयाँले बढेको छ। 

माघ महिनामा अघिल्लो महिनाहरुजस्तै सबैभन्दा बढि ऋण लगानी एनआइसी एसियाले बिस्तार गरेकोछ । बैंक एक्लैले १० अर्ब बिस्तार गरेको छ।

यसपछि नबिलले ६ अर्ब बिस्तार गरेको छ। ग्लोबल आइएमइ, हिमालयन, लक्ष्मी, नेपाल इन्भेष्टमेन्ट बैंकलगायतले ४ अर्ब रुपैयाँभन्दा बढिले ऋण बिस्तार गरेका छन्। 

असार मसान्तयता सर्वाधिक ऋण बढाउनेमा पनि एनआइसी एसिया छ। बैंकले ६९ अर्ब ३६ करोड बिस्तार गरिसकेको छ। यसपछि नबिलले ३१ अर्ब ५६ करोड लगानी गरेको छ। प्रभु बैंले २८ अर्ब २९ करोड बिस्तार गरेको छ।