BIZMANDU
www.bizmandu.com

हिमालय एयरलाइन्सले कोभिडका कारण रोकिएको दुबई उडान थाल्यो, साताको तीन दिन जाने

२०७७ फागुन ४

Tata
GBIME
Nepal Life

काठमाडौं। हिमालय एयरलाइन्सले दुबई उडान सुरु गरेको छ। कोरोना महामारीपछि  लामो समय रोकिएको दुबई उडान अब  साताको तीन पटक हुने एयरलाइन्सले जनाएको छ।

यूएईले कोभिड १९ को सुरक्षा मापदण्ड पालना गर्दै यात्रु आवागमन खुकुलो बनाएसँगै हिमालय एयरलाइन्सले  काठमाडौं-दुबई-काठमाडौं उडान फेरि सुरु गर्न लागेको हो।

एयरलाइन्सले काठमाडौंबाट हरेक आइतबार, मंगलबार र बिहीबार  दुबई उडान गर्नेछ भने दुबईबाट हरेक सोमबार, मंगलबार र बिहीबार काठमाडौं उडान गर्ने जनाएको छ।

हिमालय एयरलाइन्सका अध्यक्ष झोउ इंयोङले लामो समयपछि हुन लागेको दुबई उडानका अवसरमा पहिलो तीन यात्रुलाई विशेष उपहार र बोर्डिङ पास दिएर बिदा गरे।  

उडानको शुभारम्भ गर्दै उनले भने- 'कोभिड महामारीका कारण रोकिएका उडानहरु फेरि सुरु गर्नु हाम्रो लागि पक्कै पनि चुनौतीपूर्ण छ। तर पनि हामीले यूएईसँग आफ्नो  संजाललाई फेरि पूर्ववत अवस्थामा अघि बढाउने तयार छौं। हामी यो संजाललाई पुनर्स्थापित गर्न पाउँदा उत्साहित छौं।'

एयरलाइन्सले दुबईस्थित हेल्लो हिमालय ट्राभल एण्ड टुरिजमलाई आफ्नो स्थानीय बिक्री एजेन्ट नियुक्त गरेको पनि जनाएको छ।