BIZMANDU
www.bizmandu.com

गभर्नर अधिकारीविरुद्ध उनी निकट दलकै कर्मचारी: सीए च्यापेको भन्दै विरोधपत्र, ‘गल्ती भयो’

२०७७ माघ २३

गभर्नर अधिकारीविरुद्ध उनी निकट दलकै कर्मचारी: सीए च्यापेको भन्दै विरोधपत्र, ‘गल्ती भयो’
गभर्नर अधिकारीविरुद्ध उनी निकट दलकै कर्मचारी: सीए च्यापेको भन्दै विरोधपत्र, ‘गल्ती भयो’

Tata
GBIME
Nepal Life

काठमाडौं। एक जना निकै कनिष्ठ कर्मचारीलाई चार्टर्ड एकाउन्टेन्ट्स (सीए) भएकै भरमा बढुवा गरेको भन्दै राष्ट्र बैंकका कर्मचारीहरु गभर्नरको विरुद्धमा उत्रिएका छन्।

अधिकारी गभर्नर नियुक्त हुँदा समर्थन गरेको नेकपा समर्थित कर्मचारी संगठन (नेपाल राष्ट्र बैंक कर्मचारी संघ) यतिबेला उनले गरेको नियुक्तिविरुद्ध उभिएको हो। यो संगठन प्रधानमन्त्री केपी ओलीकै दल निकटको हो। ओलीले अधिकारीलाई गभर्नर बनाएका हुन्।

अधिकारी गत चैतमा गभर्नर नियुक्त भएका हुन्। कर्मचारीहरुले यसअघि गभर्नरको सार्वजनिक विरोध गरेका थिएनन्। नियुक्तिको करिब १० महिनापछि गभर्नर आफ्नै कर्मचारीको सार्वजनिक आलोचनाको शिकार भएका हुन्।

संघले एक विज्ञप्ति जारी गर्दै तत्कालन निर्णय सच्याउन भनेको छ। विज्ञप्तिमा भनिएको छ- 'उत्पन्न हुनसक्ने सम्पूर्ण परिणामको जिम्मेवारी व्यवस्थापनले नै लिनुपर्ने समेत जानकारी गराउँदछौं।'

कर्मचारीहरुले सीए भएकै भरमा गभर्नरले ६० नम्बर रोलक्रममा रहेका एक जना सहायक निर्देशकलाई उपनिर्देशक बनाएको आरोप लगाएका छन्। गभर्नर अधिकारी आफैं पनि सीए हुन्। राष्ट्र बैंकले बुधबार साँझ ८६ जना सहायक निर्देशकमध्येबाट १५ जनालाई उपनिर्देशकमा बढुवा गरेको थियो। त्यसमध्ये ६० नम्बरमा रहेका जगदीशकुमार गुप्तालाई बढुवा गरेका थिए। बाँकी भने वरिष्ठताका आधारमा बढुवा भएको जनशक्ति ब्यवस्थापन विभागका एक कर्मचारीले बताए।

विरोधमा रहेका कर्मचारीहरुले गभर्नरलाई पत्र लेख्दै निर्णय सच्याउन भनेका छन्। 

'हालै संस्था (राष्ट्र बैंक) बाट प्रकाशित अधिकृत द्वितीय पदको पदोन्नतिको नतिजाले आम कर्मचारीलाई विगतका कालरात्रिको पुनः स्मरण गराएको छ। संस्थाले सुम्पिएको जिम्मेवारी र अधिकारलाई आफ्नो पैत्रिक सम्पत्ति ठान्दै मातहतका कर्मचारीलाई आस्थाका आधारमा विभेद गरी वृत्ति विकासबाट बञ्चित गर्ने दुर्भावनाबाट ग्रसित व्यवस्थापनका केही अराजक पात्रहरुका काला कर्तृत खेदजनक छ,' गभर्नरलाई लेखिएको पत्रमा भनिएको छ।

संघले समानता र न्यायको अन्तिम भरोसा र विश्वासको केन्द्रबाट समेत तदनुरुपको भूमिकाको अनुभूति पाउन नसकेको अवस्थामा आम कर्मचारी कसरी उत्प्रेरित हुन सक्लान्? भनेर गभर्नरलाई प्रश्न गरेको छ।

'संस्थाले सुम्पिएको जिम्मेवारीलाई इमान्दारिताका साथ सम्पादन गर्ने आम कर्मचारीको मनोबल गिराउँदै अक्षम साबित गर्ने यस नतिजाले बैंक व्यवस्थापनको स्वतन्त्र न्याय सम्पादन माथि नै प्रश्न उब्जाएको छ र 'बुढी मरी भन्ने चिन्ता मात्र होइन, काल पल्किने डर आम कर्मचारीमा देखिन्छ,' पत्रमा भनिएको छ, 'यस्ता व्यवस्थापकीय अराजकतामा उद्यत पात्रहरुको पहिचान भइसकेको छ। उनीहरुलाई समयमै सच्याउन तथा यस्ता प्रवृत्तिको पुनरावृत्ति हुन नदिन संघ उच्च व्यवस्थापनको गम्भीर ध्यानाकर्षण गराउँदै यो विरोध पत्र पेश गर्दछ।' 

आगामी दिनमा समेत यस्ता प्रवृत्तिले निरन्तरता पाउने र उच्च व्यवस्थापन मुकदर्शक बन्दै जाने हो भने यस्ता पात्र, प्रवृत्ति र प्रश्रयकर्ताका विरुद्धमा थप विरोध कार्यक्रमका साथ अघि बढ्न बाध्य हुने चेतावनी संघले दिएको छ।

कांग्रेस निकट कर्मचारी संगठनले पनि गभर्नरको विरोध गरेको छ। उनीहरुसँग गभर्नरले यसपाली गल्ती भएको र आगामी दिनमा यसतर्फ सचेत हुने आश्वासन दिएको एक कर्मचारीले जानकारी दिए।

कर्मचारीहरुले गभर्नरको सीए मोहको पनि विरोध गरिरहेका छन्। गभर्नरले बैंक तथा वित्तीय संस्थाहरुको शाखाको अडिटका लागि आउटसोर्स गराउने तयारी गरिरहेका छन्। यसको कर्मचारीले विरोध गरेका हुन्।