BIZMANDU
www.bizmandu.com

पशुपतिनाथलाई अर्बको जलहरी! प्रधानमन्त्री ओलीको प्रायश्चित्त कि सस्तो लोकप्रियता?


Tata
GBIME
Nepal Life

२०७० साल तिरको कुरा हो। डा गोविन्द टण्डन पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव थिए। महाबलेश्वरम पशुपतिका मूल भट्ट।

हरेक बिहान पशुपतिनाथको ज्योतिर्लिङ्गमा स्नान गराइन्छ। शिवलिंगलाई स्नान गराइसकेपछि त्यस मुनीतिरबाट पानी बग्नेलाई जलहरी भनिन्छ। पशुपतिनाथको शिवलिंग मुनि पहिलेदेखि नै चाँदीको जलहरी थियो। 'नेपालको इतिहास र संस्कृतिका केही पक्ष' किताबमा भुवनलाल प्रधानले उक्त चाँदीको जलहरी राजा रणबहादुर शाहले चढाएको उल्लेख गरेका छन्। जलहरी धेरै पुरानो भएकोले ठाउँ ठाउँमा फुटेको थियो। त्यसैले शिवलिंगलाई स्नान गराउँदा त्यहाँ रहेको चाँदीको जलहरीले थुप्रैपटक मूल भट्ट महाबलेश्वरमसहित अन्य भट्टहरुले हात काटेको धेरै दृष्तान्तहरु छन्।

टण्डन सदस्य सचिव हुँदाताका नै त्यस्ता घटनाहरु धेरै दोहोरिएपछि जलहरी परिवर्तन गर्नेबारे छलफल भएको थियो। पशुपति दर्शन गर्न राष्ट्रपति आउँदा मूल भट्टसहित अन्य भट्टहरुले जलहरी परिवर्तन गर्नपर्ने माग उठाएको कुरा राष्ट्र प्रमुखसामु राखेका थिए पनि। राष्ट्रपति विद्यादेवी भण्डारीले यस विषयमा चासो पनि देखाइन। धेरै समय जलहरी फेर्न पाए हुन्थ्यो भनेर कुराहरु आइरहे। अब फेर्दा चाहि चाँदीको नभइ सुनको नै जलहरी राख्नुपर्छ भनेर प्रस्ताव राखेका थिए मूल भट्टले।  

‘महाबलेश्वरम भट्टले काम गर्न गाह्रो भएको भन्दै जलहरी फेर्नुपर्ने माग उठाउँदै आएका थिए। जलहरीलाई पुनर्निर्माण गर्नतिर लाग्नुभन्दा नयाँ नै बनाउने र सुनको राख्नुपर्छ भनेर उहाँले उत्साह देखाउनु भएको थियो,’ टण्डनले सम्झिए।

टण्डन सदस्य सचिव हुँदा पशुपतिमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पूजापाठ गरेसँगै भारतीयहरुमा पशुपतिनाथ पुग्नैपर्छ भन्ने भाव बढेको उनी बताउँछन्। भारतीय राजनीतिज्ञहरु आउँदा पनि पशुपतिलाई के आवश्यक छ कसरी सहयोग गर्न सकिन्छ भन्नेबारे चासो बढेको थियो।

‘अरु सबै कुरा ठीक छ। चाँदीको सट्टा सुनको जलहरी परिवर्तन गर्न लागेको’ भन्दा उनीहरुले पनि सहयोग गर्ने मनसाय देखाएका थिए। तर कसैले पनि खासै आँट गरेको थिएन। किनभने थोरै पैसाले पुग्ने कुरा थिएन। त्यतिखेर करिब ३० करोड खर्च लाग्ने देखियो,' टण्डनले भने, 'जलहरी एउटालाई २८-२९ करोड कहाँ खर्च गरिराख्ने, मान्छेहरुले भन्छन्, किन फेर्नुपर्‍यो भनेर आलोचना आउँछ भन्ने कुरा नि भयो। त्यसपछि त्यो काम यसै बाँकी रह्‍यो।’

+++

अहिले करिब ८ वर्षपछि फेरि पशुपतिनाथ चर्चामा छ त्यही जलहरीका कारण।

माघ १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपति पुगेर संकल्प पूजा गरे। त्यही नै उनले सुनको जलहरी निर्माणका लागि राज्यको तर्फबाट ३० करोड दिने प्रतिबद्धता जनाए।

कोरोना भाइरससँग जुध्दै गरेको नेपालमा सरकारले जनतालाई नै भ्याक्सिन खरिदका लागि सहयोग मागेको थियो। कम्युनिष्ट कार्यकारी प्रमुखले भने मन्दिरमा गएर करोडौं दान गरेको भन्दै आलोचना भइरहेको छ।

प्रधानमन्त्रीले त सरकारको तर्फबाट ३० करोड प्रतिबद्धता व्यक्त गरे। तर पशुपतिको शिवलिंगलाई आवश्यक सुनको जलहरीलाई कहाँ त्यति पैसाले पुग्नु ! टण्डन सदस्यसचिव हुँदा जलहरीको मूल्य करिब ३० करोड हुने अनुमान थियो। अहिले सुनको मूल्य बढेसँगै जलहरीको लागत करिब १ अर्ब पुगेको छ।

कोषले जलहरी निर्माणका लागि केही वर्षअघि नै जनतालाई सहयोग गर्न आह्वान गरेको थियो। त्यसबेला पनि सुनको जलहरी बनाउने विषयको विरोध भएको थियो। उक्त आह्वानपछि हालसम्म करिब ४० लाख जम्मा भइसकेको कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जनाए। सरकारले ३० करोड सहयोग ग्यारेन्टी गरिसकेको छ। बाँकी लागत भने कोषले नै ब्यहोर्ने तयारी गरेको छ।

‘हामीसँग पैसा छ। बाँकी खर्च कोषले नै ब्यहोर्छ,’ खतिवडाले भने।

अहिले पशुपतिनाथ मन्दिर परिसरभित्र सुनको जलहरी निर्माणको कामसमेत सुरु भइसकेको छ। शिवलिंग भट्टहरु बाहेकले छुन नहुने भएकाले जलहरी निर्माणपछि त्यसलाई शिवलिंगमा राख्ने काम पनि भट्टहरुले नै गर्नेछन्। त्यसका लागि भट्टहरुलाई प्रशिक्षणसमेत दिइएको छ।

खतिवडा भन्छन् ‘हामीले भट्टहरुलाई जलहरी त्यहाँ राख्न प्रशिक्षण दिइसकेका छौं। उहँहरुले नै शिवलिंगमा जलहरी फिट गर्नुहुन्छ। जलहरी राख्न दक्ष भइसक्नु भयो।’

‘समाजवादी’ पशुपतिनाथ !

पशुपति क्षेत्र रहेको काठमाडौं क्षेत्र नम्बर ४ (१) बाट वाग्मती प्रदेश सभामा प्रतिनिधित्व गर्ने नरोत्तम वैद्य पशुपतिनाथ निरन्जन निराकार हुने भएकोले उनलाई सुनले सजाउन नपर्ने मत राख्छन्।

‘हरेक भगवानको आ-आफ्नो स्वरुप हुन्छ। पशुपतिनाथ निरन्जन निराकार हुन्। शिव बाघको छाला ओडेर आफू नांगै खरानी घसेर बस्ने तर आफ्ना भक्तहरुलाई भने सम्भ्रान्त बनाउने भगवान् हुन्। त्यसैले महादेवको स्वरुप पहिला जस्तै हुनुपर्छ। त्यसलाई सुनले मोड्ने गर्नुहुन्न। त्यसो गरे भगवानको स्वरुप मेटिन्छ।’

पहिला चाँदीको जलहरी चढाइएको भए पनि हाल त्यसलाई परिवर्तन गरेर सुनको बनाउनु प्राचीन स्मारक संरक्षण ऐनको विरुद्ध हुने उनको तर्क छ।

सुनको जलहरी बनाउन नहुने भन्दै ‘फरक मत’ राख्ने वैद्य सरकारको पैसा बिनै नै जलहरी निर्माण हुन सक्ने बताउँछन्।

‘प्राचीन स्मारकले नदिएको कुरा गर्नुहुन्न भन्ने हो। बरु चाँदीको राख्ने भए त्यो विचारणीय हुन्छ। सुनले मोड्नु पर्‍यो भने पनि नेपाल सरकारको पैसा दिनुपर्दैन। पशुपति नाथको ढुकुटीमा नै धेरै सुन छन्। त्यसैको प्रयोग गर्न सकिन्छ,’ वैद्यले विकल्प सुझाए, ‘परापूर्वकालदेखि नै सुन-चाँदी पशुपतिनाथको ढुकुटीमा छ। अहिले जलहरी बनाउनै पर्ने हो भने त्यसबाट नै व्यवस्थापन गर्न सकिन्छ।’

उनी राजनीतिक भाषामा महादेव ‘सोसलिस्ट’ भएको बताउँछन्। महादेव आफू साधारण बनेर अरुलाई सम्पन्न बनाउने भगवान् भएको वैद्यको विश्लेषण छ। त्यसैले महादेवलाई सुनै सुनले मोडेर ‘समाजवादी’ बाट ‘सामन्ती’ बनाउन नहुने उनको तर्क छ।

यता कोषका कार्यकारी निर्देशक खतिवडा भने पशुपतिनाथमा सुन हाल्नै नहुने कुरा व्यर्थको बहस भएको बताउँछन्। पशुपतिनाथको बिहान हुने स्नानको अघि शिवलिंगलाई शीरबाटै सुनले सजाइने भन्दै उनी प्रश्न गर्छन्, ‘शिवलिंगलाई सुनले सजाएर स्नान गरिन्छ। त्यहाँ परम्परादेखि सुन लगाउँदै आइएको छ। शिरमा सुन लगाउन हुने अनि खुट्टामा लगाउन किन नहुने हो? कहाँ लेखिएको छ?’

शिव निराकार हुन् भन्ने विषयमा उनी यसअघि नै शिवलिंगमा चाँदीको जलहरी शिवलाई चढाइएको बताउँछन्।

‘चाँदीको किन चाहियो भनेर कसैले प्रश्न गरेन त ?,’ उनी प्रतिप्रश्न गर्छन्।

यता कोषका पूर्व सदस्य सचिव टण्डन पशुपतिनाथको जलहरी फेर्ने कामलाई सकारात्मक रूपमा लिनुपर्ने बताउँछन्।

पशुपतिनाथमा धेरै पटक राज्यका तर्फबाट कामहरु भएको भन्दै उनले त्यसबखत राजा र जनता सबै मिलेर पशुपतिनाथलाई भव्य बनाएको बताउँछन्।

‘प्रधानमन्त्रीले ३० करोड दिनु भएको छ। त्यो सकारात्मक हो। वामपन्थी विचारधाराको प्रधानमन्त्रीले भगवानको लागि केही गर्छु भन्नु त राम्रो कुरा हो। अरुलाई पनि त्यसले सन्देश दिन्छ। हाम्रो राजनीतिक आस्था जे सुकै भएपनि नेपालको धर्म संस्कृतिको लागि, भगवानप्रति विश्वास मन्दिर प्रतिविश्वास, अन्धविश्वास पो गर्नुहुन्न। विश्वास त गर्न बाधा त कसैले गर्दैन,’ टण्डनले भने।

भ्याक्सिनलाई पैसा छैन?

अहिले देशमा कोरोनाको महामारी छ। भारतबाट कोभिशिल्ड भ्यक्सिन अनुदानमा ल्याइएको छ। यो भ्याक्सिन करिब साढे ४ लाख नागरिकलाई मात्रै पुग्ने देखिएको छ। सरकार भने भ्याक्सिनको खरिदभन्दा अनुदान नै खोजिरहेको छ। साथै सरकारले भ्याक्सिन किन्न सहयोग गर्न भन्दै नागरिकसँग अपिल नै गरेको छ। अहिले सरकारले पशुपतिलाई दिएको रकम भ्याक्सिन खरिदमा लगाउनुपर्ने तर्कहरुमा आइरहेका छन्। 

प्रदेश सांसद वैद्य जलहरीमा भन्दा कोरोना महामारी नियन्त्रणमा सरकारले ‘इन्भेस्ट’ गर्नपर्ने मत राख्छन्।

भन्छन्, ‘यस्तो अवस्थामा सरकारले ३० करोड दिनु उचित हुँदैन। अहिले त पैसा कोरोनाको भ्याक्सिन लिन हुनुपर्ने हो। यो समयमा जलहरी बनाउन आवश्यक छैन नि। कोरोनाबाट कसरी जनतालाई जोगाउने भन्नेमा सरकारको ध्यान जानुपर्‍यो।’

कोषका पूर्व सदस्य सचिव टण्डन भने आलोचना सबै कुराको हुने भन्दै कोरोनाको विषयलाई पनि सरकारले सम्बोधन गर्दै पशुपतिको जलहरीको काम पनि हुनुपर्ने बताउँछन्।

‘जे काम गरे पनि आलोचना हुन्छ। पशुपतिनाथको जलहरी फुटेर भट्टहरुको हात काट्यो भनेर समाचार बाहिरिए भने नि आलोचना हुन्छ। कस्तो सरकार रहेछ भन्छन्। सरकारले कोरोनाको लागि पनि गर्नुपर्छ, अरु क्षेत्रको लागि पनि गर्नुपर्छ। सरकारको दायित्व नै हो। कोरोना र जलहरीलाई दाँजेर काम भएन,’ टण्डनले भने, ‘कोरोनाको लागि चन्दा माग्नु चाहिँ हुन्न। राज्यले त्यो दायित्व पूरा गर्नुपर्छ। पैसा छैन भने जनतासँग माग्यो भन्दा नि ठीक हो। तर जे होस् भ्याक्सिन ल्याउनुपर्‍यो। देशले सक्ने देशले गर्ने हो। भगवान पशुपतिनाथको जहलरी फेर्नलाई जनतामा आह्वान गरे त्यो खर्च सबै उठ्छ।’

उनी थप्छन्, ‘दु:ख पर्दा सबैले सम्झने पशुपतिनाथ नै हो। त्यसैले कोरोनाको विषयलाई पनि सरकारले सम्बोधन गर्दै पशुपतिको जलहरीको काम पनि हुनुपर्छ।’

पश्चाताप कि सस्तो पपुलारिटी?

भनिन्छ कम्युनिष्ट शासकहरु भगवान् मान्दैनन्। उनीहरु धर्मलाई ‘अफिम’ सँग तुलना गर्छन्। प्रधानमन्त्री केपी शर्मा ओली माघ १२ गते पशुपति पुगेपछि उनको कम्युनिष्ट छविमै प्रश्न उठ्यो। त्यसमाथि ३० करोडको सरकारी सहयोग घोषणा आलोचित बन्यो। धेरैले उनको पशुपति भ्रमणलाई ‘सस्तो लोकप्रियता’ को संज्ञा दिएका छन्। प्रतिनिधिसभा विघटन गरेर आलोचित बनेका उनी अहिले भगवानको शरणमा पुगेको आरोप लगाउनेहरु पनि छन्।

प्रदेश सभा सांसद वैद्य भन्छन्, ‘कम्युनिष्टहरुको भगवान् हुन्छ?  भगवानको नाममा शपथ नलिने, अहिलेसम्म पशुपति नआउने, चुनाव घोषणा गरेपछि चाहिँ पशुपति आएर ३० करोड दिन आउने? प्रधानमन्त्री ओलीले सस्तो पपुल्यारिटीको लागि चुनावअघि यस्तो गर्नु भएको देखिन्छ। यो दुर्भाग्य हो।’

पूर्व सदस्य सचिव टण्डन भने ओलीको पशुपति भ्रमणलाई हेर्ने दृष्टिकोणको व्याख्या अलि फरक ढंगले गर्छन्।

‘भगवानलाई मानिसले सम्झने भनेको दु:ख कै बेला हो। सुखको बेलामा सम्झिँदैन। हिजो मैले गल्ती गरें होला। क्षमा पाउँ भन्दै प्रायश्चित्त गरेर मन्दिर गएको नि हुन सक्छ,’ टण्डन भन्छन्।

मार्क्सलाई मान्ने तर भगवान नमान्ने भन्दै हिँड्नेहरु आफै मन्दिर जानुलाई सकारात्मक ढंगले लिनुपर्ने उनी बताउँछन्।

‘यो हुनु नेपालको लागि राम्रो हो। ओलीका कार्यकर्ताहरु पनि धर्मसंस्कृति मान्दै जाने भए त राष्ट्रको लागि राम्रै हो। शिवजी भनेको हाम्रै हिमाली सभ्यताको छोरा हुन्। पार्वती हाम्रै देशकी भइन्। जनक जानकी गौतम बुद्ध भन्छौं भने शिवपार्वती पनि त हिमवतखण्ड मै हो। जनजातिमा पनि शिव मान्ने गरिन्छ। हाम्रै संस्कृतिलाई बनाउने हो। गाली गरेर बस्नुको औचित्य छैन,’ उनले भने।

हालसम्म यसअघि प्रधानमन्त्रीका रुपमा एकपटकमात्रै पशुपति पुगेका ओलीले निर्वाचन केन्द्रित रणनीति अनुरुप पशुपति गएको र सहयोग घोषणा गरेको भन्ने आरोपबारे उनी भन्छन्,‘ह्दयदेखि नै गरेको भए महान काम गरेको भयो। होइन समाजलाई देखाउनलाई मात्रै र औपचारिकता पुर्‍याउन गरेको भए त्यसबाट समाजलाई केही काम लाग्दैन र उहाँलाई पनि केही काम लाग्दैन। त्यो नहोला भन्ने आशा गरौं।’