BIZMANDU
www.bizmandu.com

रुपन्देहीको मुहार फेर्ने अर्थमन्त्री पौडेलको दाबी, स्थानीयलाई भने- समय समयमा खबरदारी गर्नु

२०७७ माघ १४

Tata
GBIME
Nepal Life

रुपन्देही। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विकासका दृष्टिले रुपन्देहीका कुनै क्षेत्रलाई पछि पर्न नदिने प्रतिबद्धता जनाएका छन्।  बुटवल-१४ नयाँ गाउँमा निर्माण भएको दानव नदी पुलको उद्घाटन गर्दै उनले विकास निर्माणलाई तीव्रता दिने बताए।

उनले भने, 'विकासका हिसाबले यो ठाउँलाई पछि पर्न दिदैनौं।' अर्थमन्त्री पौडेलले अबका समयमा सरकारका कामसँगै विकास निर्माणलाई पनि प्रभावकारी ढंगले अघि बढाउने जनाउँदै यसमा साथ दिन सबैलाई आग्रह गरे।

विकासका मुद्दालाई ओझेलमा पर्न नदिन स्थानीयवासीको पनि उत्तिकै भूमिका हुन्छ भन्दै अर्थमन्त्री पौडेलले समयसमयमा खबरदारी गर्न आवश्यक रहेको बताए।

 'यस ठाउँलाई पूर्वाधार विकासका हिसाबले पछाडि पर्न दिइने छैन,' अर्थमन्त्री पौडेलले भने, 'यही स्थलमा लुम्बिनी बौद्ध विश्वविद्यालयको आंगिक क्याम्पस निर्माणको प्रक्रियासमेत शुरु गरिएको छ। यो योजना सम्पन्न हुँदा यो ठाउँको मुहार बदलिने छ।'

विसं २०७६ भदौ ३० गते निर्माण सम्पन्न भएको दानव नदी पुलको लम्बाइ ९८.२५ मिटर र चौडाइ ७.२ मिटर छ।

पुलको लागत  ६ करोड २३ लाख रुपैयाँ रहेको डिभिजन सडक कार्यालय बुटवलका प्रमुख जयलाल मरासिनीले जानकारी दिए।

यसअघि अर्थमन्त्री पौडेलले बिहान योगीकुटी र शिवनगर जोड्ने मगरघाटको पुल उद्घाटन गरेका थिए।