BIZMANDU
www.bizmandu.com

किनबेच बढेपछि घरजग्गाको मूल्य छोइ नसक्नु, बैना गरेको पैसासमेत फिर्ता गरी मूल्य बढाएर बेच्दै

२०७७ माघ १०


काठमाडौं। तनहुँका राजेन्द्र अधिकारीले कीर्तिपुरमा प्रति आना १९ लाख रुपैयाँका दरले तीन आना जग्गा किन्ने भन्दै एक लाख रुपैयाँको चेक बैना वापत जग्गाधनीलाई दिए।

Tata
GBIME
Nepal Life

जग्गा किन्न खोज्नेहरु दिनदिनै आइरहेपछि जग्गाधनीले उक्त जग्गाको मूल्य बढाएर प्रति आना २१ लाख रुपैयाँ तोके। अनि जग्गा किन्न खोज्ने नयाँ व्यक्तिले प्रति आना २० लाख रुपैयाँ किन्ने भन्दै बैना गर्न राजी भए।

हिजोको आजै तीन लाख रुपैयाँ बढी आउने भएपछि जग्गाधनीले घरमा कुरा मिलाउन नसकेको भन्दै अधिकारीलाई बैना रकम फिर्ता लैजान आग्रह गरे।

धादिङका रघुपति श्रेष्ठले थानकोटमा ४ आना जग्गा प्रति आना १८ लाख रुपैयाँले किन्ने भन्दै बैना गरे। जग्गा किन्ने मान्छेको लाइन लागेरहेपछि थानकोटका जग्गाधनीले पनि जग्गाको मूल्य बढाएर २० लाख रुपैयाँ प्रति आना भन्न थाले।

नयाँ आएका व्यक्तिले 'प्रति आना १९ लाखसम्म दिन्छु' भनेपछि उनले पनि छोराबुहारीले जग्गा बेच्न नमानेको भन्दै बैना रकम फिर्ता गरे।

सिन्धुपाल्चोककी जगतकुमारी खड्काले काठमाडौंको सिरान थलीको एक छेउमा प्रति आना २१ लाख रुपैयाँमा किन्ने भन्दै बैना गरिन। कोभिडअघि प्रति आना १०/१२ लाख रुपैयाँसम्म हाल्न मन नपराउने त्यो ठाउँमा जग्गाको माग बढेको बढ्यै भएर अहिले दोब्बर मूल्यमा किनबेच भइरहेको छ।

यी त प्रतिनिधि पात्र मात्रै हुन्। अहिले घरजग्गाको कारोबार अचाक्ली बढेपछि जग्गाको मूल्य पनि करिब दोब्बर भन्न थालेका छन्।

तीन कारण, जसले थप बढ्न सक्छ घरजग्गाको कारोबार
माग बढ्यो भने मूल्य पनि बढ्ने अर्थशास्त्रको सामान्य सिद्धान्त नै हो। कोभिडका कारण लामो समय प्रभावित भएको घरजग्गा व्यवसायले मंसिर र पुसदेखि नै ऐतिहासिक लय समातिसकेको छ। जुन लय माघ लागिसकेपछि पनि कायमै छ।

पुसमा करिब ८० हजार घरजग्गा किनेबच भएकोमा माघको पहिलो हप्तामै करिब २५ हजार बढी घरजग्गा किनबेच भइसकेका छन्। जग्गाको माग बढेकैले मूल्य पनि अचाक्ली बढेको घरजग्गा व्यावसायीहरुले बताउने गरेका छन्।

कोभिडको समयमा रोजगारी गुमेर र व्यावसाय प्रभावित भएर किन्ने क्षमता गुमाएका व्यक्तिहरुले पनि पछिल्लो २/३ महिनामा राम्रै व्यवसाय गरिरहेका छन्। कोभिडको खोप बजारमा आइसकेकोले मानिसहरु आशावादी देखिन्छन्।

अहिले घरजग्गा कारोबार बढ्नुको पहिलो कारण बैंकमा पर्याप्त तरलता रहि ब्याजदर निकै तल आउनु हो। सहज र सस्तो ब्याजदरमा कर्जा पाउने भएपछि मानिसहरुले रियल स्टेट र सेयर बजारमा लगानी बढाएको रियल स्टेट क्षेत्रका जानकार विनोद सुवेदीले बताए। 'किनबेचको अवस्था हेर्दा अब ह्वात्तै घट्छ वा मन्दी आउँछ भन्ने कल्पना गर्न सकिँदैन,' उनले भने।

घरजग्गा कारोबार बढ्ने दोस्रो आधार नेपालको सेयर बजार हो। पहिले पनि सेयर बजारले गति लिदा घरजग्गा कारोबार समेत फस्टाएको उदाहरण छन्। अहिले सेयर बजार ऐतिहासिक उचाइमा रहेकाले बजारबाट कमाएको पैसा घरजग्गामा आउने र कारोबार बढ्ने सुवेदीको विश्वास छ।

कारोबार बढ्ने तेस्रो कारण भनेको अहिलेको राजनीतिक अस्थिरता पनि हो। विगतमा पनि राजनीति अस्थिरता हुँदा लगानको लागि नयाँ क्षेत्र रोजेर जोखिम लिनुभन्दा रियल स्टेट क्षेत्रमा लगानी गरेका प्रस्तै उदाहरण छन्। 

अहिले पनि राजनीति अस्थिरताले गाँजेको समय भएकोले मानिसहरु नयाँ लगानीका क्षेत्रमा हात हाल्ने मुडमा छैनन्। छोटो समयका लागि सेयर बजारमा लगानी गरे पनि एउटा बिन्दुमा पुगेपछि उक्त पैसा घरजग्गामै आउने सुवेदीको दाबी छ। 'लगानी छिटो बढेर आएन भने पनि परेको दाममा घट्ने क्षेत्र होइन,' उनले भने।

यी र यस्तै कारणले आगामी केहि समय घरजग्गाको कारोबार बढ्ने पक्कापक्की जस्तै छ।

एक वर्षमै दोब्बर भयो मूल्य
कोभिड अघिसम्म प्रति आना १०/१२ लाख रुपैयाँमा पाइने जग्गा अहिले सिधै १५ देखि २० लाख रुपैयाँ भन्न थालेका छन्। कोभिडले प्रभावित व्यवसायीले कोभिडको बीचमा सस्तै मूल्यमा जग्गा बेचे पनि धेरै जसो जग्गाधनीले जग्गा होल्ड गरेका थिए र अहिले पनि होल्ड गर्ने मुडमै देखिन्छन्।

माग अनुसार आपूर्ति नहुने बित्तिकै घरजग्गाको मूल्य अस्वभाविक रूपमा बढेको व्यावसायीहरुको भनाइ छ।

दसैं अघिसम्म घरजग्गा कारोबार सुस्त भए पनि तिहारपछि भने निकै गति लिएको छ। पछिल्लो तीन महिनामा मात्रै करिब २ लाख घरजग्गा किनबेच भइसकेका छन्।

जति मूल्य तोक्दा पनि किन्ने मान्छे आइरहेपछि जग्गाको मूल्य दिन दुई गुणा रात चौगुणाले बढिरहेको छ। तीन महिना अघिको तुलनामा अहिले जग्गाको मूल्य ३० देखि ४० प्रतिशतसम्म बढिसकेको व्यवसायीको अनुभव छ।