BIZMANDU
www.bizmandu.com

टीआइएमा अवतरण भयो बुद्ध एयरको सातौं एटीआर-७२ जहाज, माघ अन्तिम सातादेखि उडान थाल्ने

२०७७ माघ १०

टीआइएमा अवतरण भयो बुद्ध एयरको सातौं एटीआर-७२ जहाज, माघ अन्तिम सातादेखि उडान थाल्ने
टीआइएमा अवतरण भयो बुद्ध एयरको सातौं एटीआर-७२ जहाज, माघ अन्तिम सातादेखि उडान थाल्ने


Tata
GBIME
Nepal Life

काठमाडौं। आन्तरिक हवाई सेवा व्यवसायमा आक्रामक योजना अघि सारेको बुद्ध एयरले जहाज थपेको छ। कम्पनीको सातौं एटीआर-७२ सिरिजको जहाज शुक्रबार साँझ काठमाडौं आइपुगेको छ। 

नयाँ जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा साँझ ५:१५ बजे अवतरण भएको हो। आन्तरिक उडानमा सेवालाई सुदृढ पार्दै काठमाडौं बाहिरका एयरपोर्टलाई बेस बनाउने योजना अघि सारेको बुद्धले जहाज थप्न उत्पादकसँग सम्झौता गरेको थियो।

उक्त खरिद सम्झौता अनुसार यो नयाँ जहाज भित्र्याएको हो। शुक्रबार आइपुगेको एटीआरले माघ अन्तिम सातादेखि नियमित उडान गर्ने कम्पनीका बजार तथा बिक्री निर्देशक रुपेश जोशीले बताए।

'जहाजका लागि भंसार प्रक्रियाको काम आइतबार हुन्छ,' उनले भने, 'रंगरोगन गरेर नागरिक उड्डयन प्राधिकरणको प्रक्रिया पूरा गरेसँगै यो जहाज फेब्रुअरी ७ देखि सञ्चालनमा ल्याउने योजना छ।' दुई महिनापछि थप अर्को एटीआर-७२ सिरिजकै जहाज ल्याउनका लागि कम्पनीले गृहकार्य सुरु गरिसकेको उनले बताए। 

अन्तर्राष्ट्रिय गन्तव्यका उडानमा अपेक्षितरूपमा सफल अनुभव गर्न नसकेको बुद्ध एयर आन्तरिक उडानका लागि भने सबैभन्दा बढी सेवा दिने कम्पनी हो। कम्पनीले चाँडै नै तीन वटा जहाज नेपालगञ्ज, विराटनगर र भैरहवा लगायतका गन्तब्यमा नाइट स्टपका लागि राखेर सञ्चालनमा ल्याउने योजना छ। 

'काठमाडौं बाहिरका एयरपोर्टलाई बेस बनाएर उडान थाल्ने हाम्रो योजनामा धेरै वटा जहाज आवश्यक छ। कति चाहिन्छ, कति ल्याउने भन्ने चाहिँ अब बिस्तारै उडान संख्या थपेपछि हिसाब आउँछ,' उनले भने, 'कम्पनीले धान्न सकिने र आर्थिक हिसाबले नोक्सान नपर्ने तरिकाले काम गर्नेछ।' आन्तरिक उडानमा दुर्गमका गन्तव्यलाई कम्पनीले उडानको प्राथमिकतामा राखेर काम गरिरहेको उनले बताए।

बुद्धले हालै रामेछापको मन्थली एयरपोर्टलाई बेस बनाएर पर्वतीय उडानको योजना अघि सारिसकेको छ। शुक्रबार ल्याएको र यसपछि थपिने अर्को गरी एटीआर-७२-५०० सिरिजको जहाजसँगै बुद्धसँग एटीआर सिरिजका जहाज संख्या नौ पुग्नेछ भने कुल जहाज १४ वटा हुनेछ। एटीआर-७२ बाहेक कम्पनीसँग तीनवटा एटीआर-४२ र दुई बीचक्राफ्ट जहाज छन्।