BIZMANDU
www.bizmandu.com

एनसीएचएलको कर्पोरेट पे विद्युतीय भुक्तानीमा अर्को उछाल, व्यवसायिक कारोबार अब ‘चेकलेस’


एनसीएचएलको कर्पोरेट पे विद्युतीय भुक्तानीमा अर्को उछाल, व्यवसायिक कारोबार अब ‘चेकलेस’
एनसीएचएलको कर्पोरेट पे विद्युतीय भुक्तानीमा अर्को उछाल, व्यवसायिक कारोबार अब ‘चेकलेस’

Tata
GBIME
Nepal Life

काठमाडौं। ठूलो रकमको भुक्तानीका लागि चेक नै काट्नुपर्ने बाध्यता हटाउँदै प्रयोगमा आएको 'कर्पोरेट पे' प्रणाली क्रमिक विस्तार हुँदै गएको छ। विद्युतीय भुक्तानीको यो प्रणालीले वित्तीय कारोबारलाई 'पेपरलेस' बनाउँदै लगेको छ।

माघ १ गते गभर्नर महाप्रसाद अधिकारीले व्यवसायिक ग्राहकहरुलाई लक्षित गर्दै  'कर्पोरेट पे' को उद्घाटन गरेका हुन्। त्यसयता व्यवसायिक प्रतिष्ठान र वित्तीय संस्थाहरूले यो प्रणाली क्रमिक प्रयोगमा ल्याइरहेका छन्। 

राष्ट्र बैंकले विद्युतीय कारोबारलाई प्राथमिकता दिइरहेका बेला व्यवसायी तथा संस्थाहरुलाई लक्षित गर्दै नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले कर्पोरेट पे प्लाटफम सञ्चालनमा ल्याएको हो। कर्पोरेट पेमार्फत् व्यवसायिक बैंक खाता अनलाइबाटै चलाउन सकिन्छ।

यसअघि व्यवसायिक ग्राहकहरुलाई लक्षित गरेर यस प्रकारका कुनै पनि विद्युतीय भुक्तानी माध्यमहरु थिएनन्। जसबाट एउटै बैंक वा अन्तर बैंक फन्ड ट्रान्सफर, तलबभत्ता भुक्तानी, भेन्डरलाई भुक्तानी, कर तथा राजस्व भुक्तानी, सामाजिक सुरक्षा भत्ता, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषलगायतका भुक्तानीहरु अब कुनै पनि व्यवसायिक संस्थाहरुले चेक नकाटी वा बैंक नै नगइ अनलाइनबाटै गर्न मिल्ने माध्यम विकास भएको छ।     

एनसीएचएलले आफ्नो पहिलो ग्राहकस्वरुप सानिमा बैंकबाट कर्पोरेट पे सेवा सुरु गरेको थियो। सानिमा बैंकले नै यस प्रकारको प्रविधिको माग रहेको भन्दै ग्राहकहरुबाट आएको गुनासो एनसीएचएलसमक्ष राखेको बैंकका सीइओ तथा नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दहालले जानकारी दिए। कर्पोरेट पेको सुरुवातसँगै अब व्यवसायिक ग्राहकहरुलाई चेक साट्न बैंक धाउनुपर्ने बाध्यताको अन्त्य हुने उनको विश्वास छ।

कर्पोरेट पेको मुख्य विशेषता भनेकै चेक काट्नु नपर्ने रहेको उनले बताए। 'कर्पोरेट पेले बैंकमा भीड कम हुनेदेखि ग्राहकहरुको समय जोगिन्छ,' दहालले भने। सँगै यसले बैंकहरुको चेक प्रिन्टमा लाग्ने खर्च, कर्मचारी माथिको भार हट्ने भएकाले बैंकिङ सेवा थप चुस्त हुने भएकाले हरेक प्रकारका कारोबारलाई विद्युतीय प्रविधिमा लैजानुपर्नेमा उनले जोड दिए। 

कम्पनीले दिएको पछिल्लो विवरणअनुसार कर्पोरेट पे नौ वटा वाणिज्य बैंक, एक/एक वटा विकास बैंक र वित्तिय संस्थामा कार्यान्वयनमा आइसकेको छ। वाणिज्य बैंकहरुमध्ये ग्लोबल आइएमइ, हिमालयन, मेगा, माच्छापुच्छ्रे, नेपाल बंगलादेश, एनआइसी एसिया, सिभिल र एनएमबि बैंकले कर्पोरेट पे सेवा आफ्ना ग्राहकहरुलाई दिन सुरु गरिसकेका छन्। प्राइम कमर्सियल, एनसीसी, प्रभु, सेञ्चुरी र नेपाल बैंकको कर्पोरेट पे सेवा परीक्षण कै चरणमा रहेको एनसीएचएलले जनाएको छ। 

विकास बैंकको हकमा गरिमा बाहेक मुक्तिनाथ, महालक्ष्मी, कामना सेवा, सांग्रिलाले कर्पोरेट पे परीक्षणमै छ। त्यसैगरी, गुडविलबाहेक रिलायन्स र आइसीएफसी फाइनान्समा भने कर्पोरेट पे परीक्षण कै क्रममा रहेको एनसीएचएलले जनाएको छ। एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेषमानसिंह प्रधानले सदस्य बैंक तथा वित्तीय संस्थाहरु कर्पोरेट पेमा थप्दै लैजानुपर्नेमा जोड दिएका छन्। झण्डै १० महिनाको मेहनतबाट कर्पोरेट पेको प्लाटफर्म विकास गरिएको उनले बताए।

कर्पोरेट पेबाट दैनिक न्यूनतम १० लाखदेखि २० करोड रुपैयाँसम्म कारोबार गर्न सकिने भए पनि बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो ग्राहकहरुको आग्रहअनुसार सीमा हेरफेर गेन सक्ने एनसीएचएलले जनाएको छ। नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीले डिजिटल पेमेन्टको इकोसिस्टम बनाउने नीतिलाई अगाडि बढाउन 'कर्पोरेट पे' महत्वपूर्ण खुड्किलो भएको बताउँदै आगामी दिनमा नगद कारोबार कम गर्दै डिजिटललाई गुणात्मक रूपमा बढाउन राष्ट्र बैंक पनि लागि परेको बताए।

कसरी जोडिने ‘कर्पोरेट पे’ मा
कुनै पनि व्यवसायिक संस्थाले आफ्नो बैंक खाता रहेको शाखामा सम्पर्क गरी कर्पोरेट पेमा इनरोल गर्न सक्ने एनसीएचएलले जनाएको छ। बैंक जानुअघि संस्थाको बैंक खाता रहेको बैंक कर्पोरेट पेको सदस्य छ वा छैन पनि यकिन गर्नुपर्छ। 

व्यवसायिक संस्थाले खाता रहेको बैंकमा गएर आवश्यक कागजपत्र र प्रक्रिया पुर्‍याइ इनरोलमेन्ट फारम भरी कर्पोरेट पे सुचारु गर्न सक्ने छन्। यो एक पटक गरे पुग्ने प्रक्रिया हो। त्यसपछि बैंकले खातालाई कर्पोरेट पेसँग लिंक गरी सुरक्षित तरिकाले लग-इन विवरण प्रदान गर्ने बताइएको छ।