BIZMANDU
www.bizmandu.com

दूरसञ्चार नियामक एनटीएकै नक्कली फेसबुक खाता ! प्रयोगकर्ताको विवरण हत्याउने प्रयास

२०७७ माघ ९

दूरसञ्चार नियामक एनटीएकै नक्कली फेसबुक खाता ! प्रयोगकर्ताको विवरण हत्याउने प्रयास
दूरसञ्चार नियामक एनटीएकै नक्कली फेसबुक खाता ! प्रयोगकर्ताको विवरण हत्याउने प्रयास

Tata
GBIME
Nepal Life

काठमाडौं। इन्टरनेटका साइटहरूमा जसले जे अफर ल्यायो, सत्यतथ्य नबुझी त्यसैमा आफ्नो व्यक्तिगत विवरण झटपट बुझाउनेहरूलाई ठगी गर्न पल्केको गिरोह बढेका छन्।  

गिरोहले टेलिकम र इन्टरनेट सेवा प्रदायकको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणकै नामबाट सामाजिक सञ्जालमा बल्छी थापेको भेटिएको छ। एनटीएको नाम तथा लोगो दुरुपयोग गरेका स्पोन्सर्ड पोष्ट केही दिनयता सामाजिक सञ्जालहरुमा देखिएका हुन्।

प्राधिकरणको नामबाट नक्कली पेज बनाइ भ्रामक जानकारी प्रकाशित भइरहेको फेसबुकमा देखिएको छ। प्राधिकरणको आधिकारिक लोगो र नाम दुरुपयोग गरी जागिरको आवेदन खोल्ने घोषणा भएको भन्दै भ्रामक जानकारी फैलाउन खोजिएको छ। 

उक्त पोस्टमा दिइएको लिंक खोलेर जागिरको लागि आवेदन दिन भन्दै लोभ देखाइ प्रयोगकर्ताको सामाजिक सञ्जाल हत्याउने प्रयास पुन: दोहोरिएको छ। व्यक्तिगत जानकारी हात पार्ने दाउसहित साइबर क्राइम 'फिसिङ' को प्रयास विभिन्न प्रतिष्ठित निकायहरुको पेजबाट निरन्तर प्रयास भइरहेका छन्।

यसअघि दूरसञ्चार सेवा प्रदायक एनसेल र नेपाल टेलिकमको नाममा पनि नक्कली फेसबुक पेज बनाइ यस्तै हर्कत भएको थियो। प्राधिकरणले यस विषयमा विज्ञप्ति निकाल्दै आफ्नो नाम तथा लोगो दुरुपयोग गरी सामाजिक सञ्जाल फेसबुक पेजमार्फत् भ्रामक जानकारी प्रकाशित भएको भन्दै अनधिकृत पेज तथा सो पेजमा रहेका लिंकहरुलाई क्लिक नगर्न तथा आफ्नो कुनै पनि विवरण उपलब्ध नगराउन सचेत गराएको छ| 

प्राधिकरणको हालसम्म कुनै पनि आधिकारिक पेज/खाता नरहेको र यस्ता अनधिकृत कार्य गर्ने/गराउनेलाई प्रचलित कानुन बमोजिम कारवाही गरिने चेतावनी प्राधिकरणले दिएको छ।