BIZMANDU
www.bizmandu.com

वीरगंजमा चामल र तेलको मूल्यमा अस्वाभाविक वृद्धि, अनुगमन कडा नहुँदा उपभोक्ता मारमा

२०७७ माघ ९

Tata
GBIME
Nepal Life

वीरगंज। तीन महिनायता  वीरगंजका बजारमा अस्वाभाविक रूपमा मंहगी बढेको उपभोक्ताहरुले बताएका छन्। कोभिड महामारीका कारण स्थानीय प्रशासन तथा वाणिज्य कार्यालय पर्साको अनुगमन सुस्त हुँदा बजारमा खाद्य सामाग्रीको भाउ मनपरी रूपमा बढेको हो।

चामल किलोमा ५ रुपैयाँ बढेको छ भने खाने तेल लिटरमा ५० रुपैयाँसम्म बढेको उपभोक्ताहरुको भनाइ छ।

कोरोना महामारीपछि बजारमा बिक्री वितरण हुने सामानको अचाक्ली दाम बढेपछि थप भार उपभोक्ता माथि परेको छ। आपूर्ति तथा वाणिज्य कार्यालय र जिल्ला प्रशासन कार्यालय  पर्साले कहिलेकाहीँ गर्ने अनुगमनले बजारमा बढेको महंगीलाई खासै नियन्त्रण गर्न सकेको छैन।

वीरगंज १२ मुर्लीका उपभोक्ता राजकिशोर गुप्ताले केही पसलहरुमा कहिलेकाँही मात्र अनुगमन हुने भएकोले त्यसबाट खासै बजारमा अस्वाभाविक मूल्यवृद्धि नरोकिएको बताए।

उनले उद्योगले नै उत्पादित सामानको दाम बढाएको र त्यसको मार उपभोक्ता माथि परिरहेको दाबी समेत गरे।

व्यवसायीहरुले भने भारतमा भइरहेको किसान आन्दोलनका कारण धानको मूल्य बढेकाले त्यसको प्रभाव चामलको मूल्यमा देखिएको बताएका छन्।

वीरगंजका उद्योगी सुरेश रुङ्गटाले  भारतबाट पहिले प्रतिक्विन्टल १६ सय भारुमा धान खदिर गरी ल्याईरहेकोमा अहिले साढे १८ सय भारुमा धान आइरहेकोले चामल महंगो भएको दाबी गरे।

यस्तै तेस्रो मुलुकबाट भित्रिने भटमास, सूर्यमुखी दाना र तोरीको मूल्य पनि अन्तर्राष्ट्रिय  बजारमा बढेकाले तेलको दाममा वृद्धि भएको उनले बताए।
रुङ्गटाका अनुसार उद्योगले सोयाबिन तेल लिटरको १८० देखि १९० मा बिक्री गरेको छ भने सूर्यमुखी तेल लिटरमा १० रुपैयाँले बढेको छ। यस्तै तोरीको तेल लिटरमा २० रुपैयाँ बढाएको उनले बताए।