BIZMANDU
www.bizmandu.com

बाराको दुधौरा खोलामा १२ करोड खर्चेर पुल बन्दै, जीतपुरबासीलाई कलैया आवतजावत सहज हुने

२०७७ माघ ५

Tata
GBIME
Nepal Life

 

वीरगंज। बाराको दुधौरा खोलामा पक्की पुल बन्ने भएको छ।  प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले पुलको शिलान्यास गरे।

 

जीतपुर सिमरा-८ रमौली लोसन्डा र वडा नम्बर २० बसडिल्वा जोड्ने दुधौरा खोलामा पुल निर्माण हुन लागेको हो। जीतपुर–ईनर्वासिरा सडक अन्तर्गत पर्ने पुलको लम्बाई एक सय मिटर हुनेछ।

उक्त पुल १२ करोड ७० लाख ७२ हजार रुपैयाँमा निर्माण गर्नेगरी निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको छ। सपना मेरिना जेभी कन्स्ट्रक्सन, हेटौंडाले पुल निर्माण गर्न २०७६ असोज २८ मा सम्झौता गरेकोमा २०७९ बैशाख २ गतेभित्र पुलको निर्माण कार्य सम्पन्न हुनुपर्ने सर्त राखिएको छ।

पुल नहुँदा सो भेगका हजारौं बासिन्दाले सास्ती खेप्दै आएका छन्। वर्षाको समयमा खोलामा पानीको बहाव बढी हुँदा आवागमन ठप्प भई ३० किलोमिटर वीरगंज-कलैयाको सडकबाट घुमेर आउजाउ गर्नुपर्ने अवस्था छ।

पुल बनेपछि जितपुर सिमराका बासिन्दालाई बाराको सदरमुकाम कलैया आवतजावतमा सहज हुनेछ भने दर्जनौ गाउँका बासिन्दाको यात्रा पनि सहज हुनेछ।

पुलको शिलान्यासपछि मन्त्री सोनलले प्रदेश २ मा विकासको  गति अन्य ६ प्रदेश भन्दा तीव्र रहेको बताए। साथै पुल निर्माणपछि जनता र किसानले उत्पादन गरेको बाली तथा तरकारीलाई बजारसम्म पुर्‍याउन मद्दत मिल्ने धारणा राखे।

उक्त पुल निर्माणको क्रममा स्थानीयले निजी जग्गा परेको भन्दै अदालतमा रिट दायर गरेका थिए। व्यक्तिको जग्गा नपरेको प्रष्ट पार्दै अदालतले पुलको काम रोक्न नमिल्ने भनी आदेश गरेको छ।