.jpg)
काठमाडौं। केही महिनाअघि उपभोक्ता मूल्य दुई सय रुपैयाँभन्दा तल झरेको कुखुराको मासुको मूल्य पछिल्लो समय लगातार उकालो लाग्न थालेको छ।
जिउँदो कुखुराका साथै मासुले पनि राम्रो मूल्य पाउन थालेसँगै कोभिड-१९ का कारण व्यापार कम हुँदा खाएको घाटा केही हदसम्म पूर्ति हुने विश्वास पोल्ट्री व्यवसायीहरुले व्यक्त गरेका छन्।
कोभिडले बजार नपाउँदा किलोको सय रुपैयाँसम्म झरेको जिउँदो कुखुराको मासु अहिले किलोको दुई सय ६० रुपैयाँसम्म पुगेको छ। तयारी मासुको बजार मूल्य प्रतिकेजी चार सय रुपैयाँ नजिकै छ। अहिलेको मूल्य राम्रोले कुखुरापालकहरूका लागि लकडाउनका बेला भएको घाटाको क्षतिपूर्ति हुन सक्छ।
हाल कुखुरा उत्पादन नै कम हुने सिजन भएकाले आपूर्ति तुलनात्मक रुपमा कम छ। आपूर्ति कम भएकाले पनि अहिले जिउँदो कुखुराको मूल्य बढेको व्यवसायीहरुको भनाइ छ।
कोभिडको समयमा बजारमा मासुको मूल्य र माग दुवै न्यून हुँदा पोल्ट्री व्यवसायीले दैनिक करोडौं रुपैयाँको घाटा व्यहोरेका थिए। यद्यपि अहिलेको मूल्यले पनि यसअघिको खर्च सुधार हुन समय लाग्ने व्यवसायीहरु बताउँछन्।
कुखुरापालन व्यवसायमा लाग्ने र छाड्ने क्रम दैनिकजसो चलिरहेकै हुन्छ। यस क्रममा बिक्रीका लागि तयार अवस्थामा पुगेका कुखुराको प्रत्येक लटमा उचित मूल्य नपाउँदा यस व्यवसायमा लाग्ने दर पहिलेभन्दा निक्कै घटेको पोल्ट्री व्यवसायीहरु बताउँछन्। कोभिडका दौरान लामो समय घाटा खान बाध्य भएका कतिपय किसानहरुले भने कुखुरा पाल्नै छोडिसकेको पनि पाइएको छ।
यो अवस्थाका कारण पनि यतिबेला मूल्य आकासिँदा कुखुरापालक किसान तथा व्यवसायीहरु खुसी हुने अवस्था नरहेको पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्टले बताए।
'यसरी छोटो अवधिमै मूल्य बढ्नु र घट्नु राम्रो होइन। कुखुराको मासुको उपभोक्ता मूल्य किलोको तीन सय रुपैयाँसम्म हुनु उचित मूल्य हो। तर मूल्य अस्थिर रहेर अहिले किलोको चार सय रुपैयाँ पुग्नु बजारको हिसाबले राम्रो होइन,' उनले भने।
मूल्य धेरै हुँदा घाटा खाने किसानले उत्पादन गर्न छोड्छन्। पछि नयाँ व्यवसायीहरु थपिन्छन् र उनीहरुले उत्पादन गरेको कुखुराले बजार भाउ राम्रो पाउँदा नाफा तिनलाई नै हुन्छ। तर पहिले घाटा खाएको किसान जहाँको त्यही हुन्छ।
यसकारण पनि यतिबेलाको मूल्यले कोभिडको समयमा व्यवसायीलाई भएको नोक्शानी ब्यहोर्न त्यति मद्दत नगर्ने उनको भनाइ छ। 'घाटा हुँदा समेत कुखुरा पालिरहेका किसानले भने अहिले मूल्य बढेको समयमा राम्रो प्रतिफल पाएका छन्,' उनले भने, 'यसले केही राहत मिल्न सक्ने भएपनि पहिलेको घाटा रिकभर तत्काल निकै कम हुन्छ, समय लाग्छ।'
'कोभिडमा भएको घाटा तत्काल उठ्दैन'
कुखुरापालक किसान तथा व्यवसायीहरुले उत्पादन राम्रो भएको समयमा लागत मूल्यभन्दा सस्तोमा बिक्री गनुपर्दा खर्च धान्न समेत गाह्रो भएर यो व्यवसायबाट पलायन भएका समेत छन्।
कोभिडपछि नै यसरी ५० वटा ह्याचरी फार्म बन्द भएको बुझिएको छ। अझै केही बन्द हुने अवस्थामा पुगेका छन्। 'केही समयको मूल्य वृद्धिले पहिलेको नोक्सान पूरै व्योहोर्दैन,' बुढाथोकी कोल्ड स्टोरका संचालक तमिब बुढाथोकीले भन्छन्, 'उत्पादन कम भएको समयमा मूल्य बढ्छ। दानाको मूल्य बढ्दै गएकाले कुखुरा उत्पादन खर्च पनि बढ्छ।'
तर अहिलेको मूल्यअनुसार नै बजार चल्ने हो भने खर्च र पहिले घाटा खाएको पनि उठ्ने भ्याली कोल्ड स्टोरका संचालक सक्षम घिमिरे बताउँछन्। 'कोभिड सुरु भएपछि भाउ नपाउँदा किलोको एक सय रुपैयाँसम्ममा जिउँदो कुखुरा बिक्री गर्नुपर्दा नोक्शान भएको थियो। त्यसैले त्यतिबेलाको आर्थिक क्षति अहिलेको एकै लटमा कभर हुँदैन,' उनले भने।
व्यवसायीहरुका अनुसार, व्यवसायिक रुपमा कुखुरा उत्पादन गर्ने किसान र पोल्ट्री फार्मले एक वर्षसम्मको उत्पादन बिक्री गरेपछि मात्र पहिलेको घाटाबाट बाहिर आएर नाफा निकाल्न सक्नेछन्। तर एक-दुईपटक कुखुरा उत्पादन गरेर छोड्ने किसानहरुले भने परेको घाटा पनि उठाउन सक्ने छैनन्।
अर्कोतर्फ, खुला सीमाना भएकाले भारतबाट अनाधिकृत रुपमा कुखुरा भित्रिएर पनि यहाँ मूल्य सस्तिन सक्छ। उपभोक्ताले सस्तो मूल्य समेत हेर्ने हुँदा स्वदेशी व्यावसायीहरुले पनि बजार प्रतिस्पर्धी हुनेगरी मूल्य घटेर समेत बिक्री गर्न सक्ने हुँदा नाफा हुँदैन।
हाल बजारमा कुखुराको मासुको मूल्य खपत भएर होइन जाडोले उत्पादन कम भएर बढेको व्यवसायीहरु बताउँछन्। जाडोमा कुखुरा उत्पादन गर्न कठिन भएकाले बजारको माग अनुसार आपूर्ति हुन सकेको छैन। यसकारण पनि मूल्य आकाशिएको हो।
जिउँदोमै किलोको साढे दुई सय रुपैयाँ माथि पुगेको भए पनि यसमा किसानको उत्पादन लागत नै एउटा कुखुरामा २ सय १० रुपैयाँसम्म पर्ने व्यवसायीहरुको भनाइ छ । यसमा थप १६ रुपैयाँ ढुवानी लागत समेत थपिन्छ।
बजारमा मासुको माग र मूल्य राम्रो भयो भने कोभिडका बखत भएको नोक्शानी सहजै पूर्ती हुने कुखुरा व्यवसायी पन्चरत्न महर्जनको भनाइ छ। यसमा पालिएका मध्ये थोरै संख्यामा मात्र कुखुरा मरे व्यवसायीलाई खासै नोक्सान हुँदैन, निरन्तर कुखुरा उत्पादन गर्ने किसान/व्यवसायीले घाटा चाँडै उठाउन सक्ने महर्जन बताउँछन्।
हाल नेपालमा नियमितरुपमा कुखुरापालन व्यवसाय गर्दै आएका किसान/व्यवसायीहरु २५ देखि ३० प्रतिशत रहेका छन्। बाँकी ७० प्रतिशतले बजारको अवस्था हेरेर कहिलेकाहीँ मात्र कुखुरा पाल्ने काम गर्दै आएका छन्।
बजार नपाउँदा खुम्चियो पोल्ट्री व्यवसाय
देशभर पहिले ह्याचरी फर्म मात्र दुई सयभन्दा बढी थिए। बजार नपाउँदा कोभिडअघि र कोभिडका दौरान पनि चल्ला र कुखुरा नष्ट गरिएको थियो।
यसरी केही लट कुखुराको मासु उत्पादनको स्रोत नै नष्ट गरेपछि यसको असर उत्पादनमा पनि पर्यो। जसले गर्दा पोल्ट्री व्यवसाय नै खुम्चिएको व्यवसायीहरुको भनाइ छ।
अहिले पहिलेभन्दा कुखुराको चल्ला उत्पादन कम छ। कोभिडअघि हप्ताको ६० लाख चल्ला उत्पादन हुँदै आएकोमा यतिबेला यो संख्या २० देखि २२ लाख मात्र छ। अझै ६ महिना चल्ला उत्पादन कम हुने व्यवसायीहरु बताउँछन्। सोपछि चल्लाको मूल्य पनि बढ्नेछ।
यसको सोझो असर कुखुराको मासुको उपभोक्ता मूल्यमा पर्नेछ। अहिले एउटा चल्लाको दाम ७० रुपैयाँ पुगेको छ। मूल्य बढी हुँदा किसानहरु चल्ला किनेर हाल्न त्यत्ति उत्साहित हुँदैनन्।