
काठमाडौं। कोरोना महामारीका कारण सरकारले लगाएको लकडाउन र निषेधाज्ञाले अटोमोबाइल बजार प्रभावित भएर बिक्रीमा ह्रास आएपछि दुगड ग्रुपअन्तर्गतको विवेक अटोमोबाइल्स प्रालिले सन् २०२० सोचे जस्तो आम्दानी गर्न सकेन।
विवेक अटोमोबाइल्स रोयल इन्फिल्ड मोटरसाइकल, जोन डीरे ट्रयाक्टर र तीन पाङ्ग्रो पियाजिओको नेपालका लागि आधिकारिक बिक्रेता हो। कोरोनाका कारण कम्पनीले सबैभन्दा बढी घाटा पियाजिओको व्यापारमा व्यहोरेको छ। कम्पनीले बैंक कर्जा लिन गराएको रेटिङमा २०२० मा पियाजिओको व्यापार ३६ प्रतिशतले घटेको उल्लेख छ।
कम्पनीले ट्रयाक्टर र रोयल इन्फिल्डको व्यापारबाट भने तीन पाङ्ग्रेमा व्यहोरेको घाटापूर्ति गरेको बताइएको छ। गत वर्ष २०२० मा कम्पनीले व्यहोरेको क्षति सन् २०२१ मा भने अवस्था सुधार्दै लैजाने रेटिङ विवरणमा उल्लेख गरेको छ।
कम्पनीले तीन अर्ब १८ करोड रुपैयाँ बैंकिङ कर्जाका लागि केयर रेटिङ्स नेपालबाट एन ए३ रेटिङ पाएको छ। गत वर्ष कोरोना महामारीका कारण कम्पनीको गुमेको आम्दानी, नाफामा संकुचनलगायतबाट बौरिन कर्जा उपयोग गर्ने रेटिङ विवरणमा उल्लेख गरिएको छ।
कम्पनीले सन् २०१८ मा तीन अर्ब २१ करोड रुपैयाँ आम्दानी गरेकोमा २०१९ मा बढेर चार अर्ब १९ करोड ६० लाख रुपैयाँ पुर्याएको थियो। सन् २०२० मा भने आम्दानी केही खुम्चिन पुगेको छ। २०२० मा कम्पनीले चार अर्ब १९ करोड हाराहारी आम्दानी गर्ने उल्लेख गरिएको छ।
कम्पनीसँग १८ वटा तीन पाङ्ग्रे सवारी पियाजिओ र सात वटा रोयल इन्फिल्डको डिलर छ। कम्पनीले देशका विभिन्न स्थानहरुमा ३२ वटा सोरुम आफैंले सञ्चालन गरिरहेको छ। २०२० मा विवेकले कुल आम्दानीको ७५ प्रतिशत सोरुम सेल्सबाट उठाएको थियो।