BIZMANDU
www.bizmandu.com

भारतमा पेट्रोलियम पाइपलाइनबाट चोर्ने गिरोह प्राविधिकरूपले पोख्त, सस्तै बेच्छन् डिजल-पेट्रोल

२०७७ माघ २

भारतमा पेट्रोलियम पाइपलाइनबाट चोर्ने गिरोह प्राविधिकरूपले पोख्त, सस्तै बेच्छन् डिजल-पेट्रोल
भारतमा पेट्रोलियम पाइपलाइनबाट चोर्ने गिरोह प्राविधिकरूपले पोख्त, सस्तै बेच्छन् डिजल-पेट्रोल


Tata
GBIME
Nepal Life

नेपाल-भारत अन्तर्देशीय पेट्रोलियम पाइपलाइन फोडेर चोरहरूले भारतीय भूमिमा डिजल चोरेको घटना सार्वजनिक भएको छ। यो घटनाअघि पनि यस्तै प्रकृतिका अरू घटनाहरू आइओसीका लागि नौलो नभएको पाइएको छ।

पाइपलाइनमार्फत इन्डियन आयल कर्पोरेसनले पठाउने इन्धन नेपालमा कति प्राप्त हुन्छ भन्ने रेकर्डअनुसार भुक्तानी गरिन्छ। पाइपलाइनमा भारतमै चोरीको घटना हुँदा नेपाल आयल निगमलाई खासै असर पर्दैन तर यसले सतर्कता बढाउनु पर्ने तर्फ संकेत गरेको छ। भारतमा धेरै ठाउँमा ढुवानी असहज भएकाले पाइपलाइनबाट आपूर्ति गरिन्छ।

प्राविधिकरूपले सहज र सुरक्षित भनिने पाइपलाइनबाट चोरी गर्नेहरू दक्ष हुने गरेको घटनाहरूबाट खुलेका छन्। पाइपलाइन प्वाल पार्न मेशिन प्रयोग गर्ने, जेनेरेटर र ट्यांकी राख्ने चोरहरूले त्यसरी झिक्ने तेल सस्तोमा बेच्ने गरेका छन्। पटक पटकका घटनाबाट पेट्रोल-डिजल चोरीमा संलग्न समूह प्राविधिकरूपले पोख्त हुने गरेको खुलेको छ।

चोरीका घटना पनि बराबर भइरहन्छन्। गत बिहीबार उत्तर प्रदेशको जलालपुर गाउँमा तेल चोरीको घटना सार्वजनिक भयो। बिहारको बरौनीबाट प्रयागराज हुँदै कानपुर लगिएको पाइपलाइनमा भएको चोरी सार्वजनिक भएपछि चोरहरू प्राविधिकरूपमा दक्ष रहेको खुलेको छ। उनीहरूले जमिनमुनिबाट पाइपको लाइन मेशिन लगाएर अर्कोतिर फर्काएर १४ हजार लिटर तेल चोरेको खुलेको छ।

आइओसीका अधिकारीहरूले पाइपमा पठाइरहेको तेलको चाप एकाएक घटेपछि संका लागेर छानबिन गर्दा चोरीको घटना खुलेको हो। ठाउँ पत्ता लागेपछि एस्क्साभेटर लगाएर खन्दै उक्त क्षेत्रको लिकेज मर्मत गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। आइओसीका इन्जिनियर नितिन सिंहका अनुसार पाइपलाइनको मूल चेम्बरलाई तलबाट प्वाल पारेर २ इन्चको अर्को पाइप जोडेको पाइएको थियो।

घटना छानबिन र चोरहरूमाथि कारबाहीका लागि स्थानीय प्रहरी चौकीमा उजुरी दर्ता गराइएको सिंहले बताएका छन्। यसअघि यसैगरी कोखराज थाना क्षेत्रको अयोध्या गाउँमा यसैगरी चोरी भएको थियो।

यस्तै घटना सन् २०२० जुनमा सार्वजनिक भएको थियो, जसमा भारतकै हरियाणा राज्यको साम्पला क्षेत्रमा बिछ्याइएको पाइपलाइनबाट तेल चोरी भएको थियो।

उक्त पाइलाइनबाट चोरहरुले करिब ५० लाख भारु (८० लाख रुपैयाँ) मूल्य बराबरको तेल चोरेर बेचेका थिए। चोरिएको तेल चोरहरुले पेट्रोल पम्पदेखि फ्याक्ट्रीहरुलाई सप्लाइ गर्ने गरेका थिए। चोरिएको तेल १५ देखि २० रुपैयाँ सस्तोमा बिक्री गर्ने गरेको अनुसन्धानबाट खुलेको थियो।  

तेल चोरीमा संलग्न केही फरार अभियुक्तहरुको खोजी भारतीय प्रहरीले अहिले पनि गरिरहेको छ। प्रहरीले शंका लागेका स्थानहरुमा विभिन्न समयमा छापा मार्दै फरार चोरहरुको खोजी गरिरहेको बताइएको छ। 

रेवाडी-पानीपत पेट्रोलियम पाइपलाइन साम्पाला क्षेत्र हुँदै विस्तार गरिएको छ। उक्त गिरोहले सन् २०१९ बाट पाकस्मा भन्ने स्थानबाट बिच्छ्याइएको पेट्रोलियम पाइपलाइनबाट तेल चोरी गर्न सुरु गरेका थिए। २०१९ डिसेम्बरमा तेल कम्पनीहरुले पाइपलाइनबाट चोरी भइरहेको जानकारी पाएपछि उक्त गिरोह फरार भएको थियो। सन् २०२० जनवरी र फेब्रुअरीमा पुन: चोरहरुको गिरोहले नौनंद गाउँ भएर बिछ्याइएको पाइपलाइनबाट तेल चोर्न सुरु गरेका थिए। 

फेब्रुअरी २०२० मा तेल चोरी भइरहेको बारे कम्पनीलाई पुन: जानकारी भयो। उक्त गिरोहले सोनीपतमा रहेको पेट्रोल पम्पलाई सस्तोमा तेल बिक्री गर्ने गरेको तथ्य फेला पर्यो। सस्तो मूल्यमा पेट्रोल पम्पलाई बेचिएको तेल अवैध रुपमा तयार गरिएको ट्याङ्करमार्फत् फ्याक्ट्रीहरुलाई होम डेलिभरी गर्ने गरिएको थियो। चोरिएको तेल फ्याक्ट्रीहरुलाई बजार मूल्यभन्दा दुई-तीन भारु सस्तोमा बेच्ने गरिएको थियो। 

चोरी गरिएको पेट्रोल ढुवानी गर्न प्रयोग हुने दुई साना सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। चोरी गरिएको पेट्रोल स्थानीय ढाबाहरुबाट पनि सस्तो मूल्यमा बिक्री हुने गरेको थियो। प्रहरीले चोरी गरिएको तेल कसलाई कसलाई होम डेलिभरी गर्ने गरिएको बारे अनुसन्धान गरिरहेको छ। अहिलेसम्म तेल चोरी गर्ने गिरोहका सात जनालाई भारतीय प्रहरीले पक्राउ गरिसकेको छ। पक्राउ परेकाहरुले दिएको बयानअनुसार कति मात्रामा तेल चोरी भयो र कति मूल्यमा बेच्ने गरिएको विवरण पत्ता लागेको थियो।