BIZMANDU
www.bizmandu.com

१० महिनापछि स्थलगत अनुगमनमा बैंक पुग्यो राष्ट्र बैंकको टोली, पहिलो चरणमा ८ बैंक

२०७७ माघ २

१० महिनापछि स्थलगत अनुगमनमा बैंक पुग्यो राष्ट्र बैंकको टोली, पहिलो चरणमा ८ बैंक
१० महिनापछि स्थलगत अनुगमनमा बैंक पुग्यो राष्ट्र बैंकको टोली, पहिलो चरणमा ८ बैंक

Tata
GBIME
Nepal Life

काठमाडौं। कोभिडका कारण रोकिएको बैंक तथा वित्तीय संस्थाहरुको स्थलगत अनुगमन फेरि सुरु भएको छ। नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुबाट अनुगमन सुरु गरेको छ।

क्रमिक रूपमा विसकास बैंक, फाइनान्स कम्पनी र लघुवित्तहरुको पनि स्थलगत अनुगमन सुरु हुँदैछ। गत आइतबार राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले चार वटा वाणिज्य बैंकमा अनुगमन टोली पठाइसकेको छ। आउँदो आइतबार अन्य चार बैंकमा टोली पठाउँदैछ।

ती टोली फर्किएर आएपछि बाँकी बैंकमा पठाइने छ। 'चालु वर्षभित्र सबै बैंकको स्थलगत अनुगमन गर्ने योजना छ,' विभाग स्रोतले भन्यो।

फैलँदो कोभिड संक्रमणका कारण 'अन साइड इन्सपेक्सन' (स्थलगत अनुगमन) गर्न सक्ने अवस्था नरहेपछि नेपाल राष्ट्र बैंकले 'वान अफिसर वान बैंक' नीति लिएको थियो।

राष्ट्र बैंकले गत आर्थिक वर्षको चौथो त्रैमास (चैतदेखि असारसम्म) देखि स्थलगत अनुगमनका लागि कर्मचारी पठाउन सकेको थिएन। कहिले आफ्नै कर्मचारी संक्रमित हुने त कहिले सम्बन्धित बैंकका कर्मचारी संक्रमित भइरहने कारणले अनुगमन रोकिएको थियो।

त्यही भएर राष्ट्र बैंकले 'एक कर्मचारी एक बैंक' जिम्मा लगाएको थियो। बैंक सुपरिवेक्षण विभागले २७ वाणिज्य र एक नेपाल इन्फ्रास्ट्रक्चर बैंकको पनि स्थलगत अनुगमन गर्छ। 

'वर्षदिनमा एक पटक बैंकहरुको अनुगमन गरिसक्ने तालिका छ,' स्रोतले भन्यो। राष्ट्र बैंकले प्रत्येक त्रैमासमा ७ देखि ८ वटा बैंकहरु अनुगमन गर्ने गरेको थियो। कोभिडले यसपाली त्यो सम्भव नभएकाले बाँकीको ६ महिनामा सबै बैंक सक्ने गरी तालिका बनाइएको छ।

विभागले सामान्य अवस्थामा एक बैंकको सम्पूर्ण स्थलगत अनुगमन ४०/५० दिनमा सक्छ। अब भने अलिकति समय घटाएर सबै बैंकको अनुगमन सक्ने योजना विभागको छ।

'अब ४०/४५ दिन लगाएर अनुगमन गर्न गाह्रो होला। अब हामीसँग समय कम छ। त्यसैले २०/२५ दिनमा एक बैंक सक्ने गरी भए पनि अनुगमन गर्ने छौं,' विभागका एक अधिकारीले भने, 'जाँदै नजानुभन्दा एक पटक थोरै समयका लागि गएर अनुगमन गर्नु उपयुक्त हुन्छ।'

विगतमा स्थलगत अनुगमन कमजोर हुँदा बैंकका सञ्चालक र माथिल्ला कर्मचारीको मिलेमतोमा ऋण दुरुपयोग हुन थालेपछि राष्ट्र बैंकले वार्षिकरूपमा अनुगमन पठाउन थालेको थियो।

ऋण दुरुपयोग भएर एकै पटक १६ वटा संस्था समस्याग्रस्त हुँदा राष्ट्र बैंकको सुपरिवेक्षणमाथि प्रश्न उठेको थियो। त्यसपछि राष्ट्र बैंकले स्थलगत अनुगमनलाई तीव्रता दिँदै आएको छ।

राष्ट्र बैंकले संस्थाको 'पोर्टफोलियो' हेरेर एउटामा स्थलगत सुपरिवेक्षण गर्न ४० देखि ४५ दिनसम्म लगाउँछ। स्थलगत सकिएको भोलिपल्टै प्रारम्भिक प्रतिवेदन तयार पारेर बैंकलाई दिन्छ।

त्यसमा बैंकले आफ्नो तर्फबाट प्रष्टीकरण दिन्छन्। बैंकको प्रष्टीकरण चित्त बुझे कैफियतबाट हटाइन्छ, नभए एक महिनासम्म पूर्ण प्रतिवेदन तयार पारिन्छ।

एउटा संस्थामा उपनिर्देशकको नेतृत्वमा चार जना सहायक निर्देशक स्थलगत अध्ययनका लागि खटाइन्छ। उनीहरुले सुपरिवेक्षकका रूपमा रहेको निर्देशकलाई संस्थाको स्थलगत अध्ययनको रिपोर्टिङ गर्नुपर्छ।

अध्ययन सकेको एक महिनामा पूर्ण प्रतिवेदन बन्छ र अर्को एक महिनासम्ममा राष्ट्र बैंकको सञ्चालक समितिसम्म पुग्छ। स्थलगत अध्ययनबाट आएको निष्कर्षका आधारमा सञ्चालक समितिले बैंकिङ सम्बन्धी समुचित नीति निर्देशन जारी गर्छन्।