BIZMANDU
www.bizmandu.com

पूर्वी चितवनमा अत्याधुनिक सिटी सेन्टर खुल्दै, दुईवटा थिएटरसहितको मल्टिप्लेक्स पनि हुने

२०७७ माघ १

पूर्वी चितवनमा अत्याधुनिक सिटी सेन्टर खुल्दै, दुईवटा थिएटरसहितको मल्टिप्लेक्स पनि हुने
पूर्वी चितवनमा अत्याधुनिक सिटी सेन्टर खुल्दै, दुईवटा थिएटरसहितको मल्टिप्लेक्स पनि हुने

Tata
GBIME
Nepal Life

काठमाडौं। पूर्व चितवनको हब मानिने टाँडीनजिकै सुविधासम्पन्न सिटी सेन्टर निर्माण हुने भएको छ। सौराहाका आधा दर्जन पर्यटन व्यवसायीले सौराहा भेन्चर प्रालिको नाममा सिटी सेन्टर निर्माण थालेका हुन्।

१५ करोड लगानीमा दुईवटा थिएटरसहितको मल्टिप्लेक्स यो सिटी सेन्टरमा हुनेछ। रत्ननगर नगरपालिकाका मेयर नारायण वनले बिहीबार यस सिटी सेन्टरको शिलान्यास गरेका छन्।

सौराहा भेन्चरमा क्षेत्रीय होटल संघका निवर्तमान अध्यक्ष सुमन घिमिरे, पूर्व अध्यक्ष नारायण भट्टराई, रेस्टुरेस्ट एन्ड बार एसोसिएसन नेपाल (क्षेत्रीय रेबान)का अध्यक्ष दीपेन्द्र खतिवडा र ज्ञानेन्द्रकुमार विष्ट लगानीकर्ता छन्।

गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष जीवा लामिछानेको ९ कट्ठा ७ धुर जग्गा २५ वर्षका लागि लिजमा लिएर यो कम्पनीले सेन्टर बनाउन लागेको हो। यो सेन्टर दुई वर्षभित्र निर्माण हुनेछ। ‘सौराहामा पर्यटन क्षेत्रमा लागेका युवा साथीहरु मिलेर हामीले कम्पनी दर्ता गर्‍यौं। त्यही कम्पनीले पूर्वी चितवनमा सुविधा सम्पन्न मलको आवश्यकता देखेर लगानी गरेका हौं,’ जंगल सफारी लजका समेत संचालक रहेका घिमिरेले बिजमाण्डूसँग भने, ‘हामीले निर्माण गर्ने मल पूर्व चितवनकै अत्याधुनिक र सुविधा सम्पन्न हुनेछ।’

उनका अनुसार तीन तल्लाको सेन्टर हुनेछ। पहिलो तल्लामा ग्रोसरी, दोस्रो तल्लामा किचेन वेयर तथा इलेक्ट्रिकल सामानहरु र तेस्रो तल्लामा क्लोथिङ हुनेछ। तेस्रो तल्लामै रेष्टुरेन्ट र सिनेमा हल समेत हुने घिमिरेले बताए। ‘हामीले सेन्टर बनाउन लागेको ठाउँमा पहिला सिनेमा हल नै थियो। पूर्वी चितवनकै चर्चित ज्योति हल भएकाले यहाँ मल्टिप्लेक्स ल्याउन लागेका हौं,’ उनले भने, ‘यसले यो ठाउँको विशेषतालाई समेत कायम राख्नेछ।’

उनले सिटी सेन्टरको नाम रत्ननगर वा सौराहामध्ये एक राखिने जानकारी दिँदै तोकिएको समय भन्दा अगाडि नै संचालनमा ल्याउने गरी काम अघि बढाइने बताए। ‘लगानी गरिसकेपछि चाँडो प्रतिफलको आशा हुनुपर्छ। त्यसैले चाँडो परियोजना सक्ने लक्ष्य हामीले लिएका छौं,’ घिमिरेले भने, ‘त्यसमा पनि यो कम्पनीमा सबै युवापुस्ता छौं। त्यसले पनि चाँडो परियोजना सक्ने हुटहुटी छ।’

उनले चितवनमा मध्यमवर्गको उपस्थिति बढ्दो क्रममा रहेकोले अत्याधुनिक मल निर्माणलाई प्राथमिकता दिएको बताए। ‘काठमाडौंपछि कुनै पनि वस्तुको कारोबारका हिसाबले चितवन नै अग्रपंक्तिमा आउँछ। मुलुकका विभिन्न क्षेत्रका बासिन्दाको बसाइसराइ र व्यवस्थित बसोबासका हिसाबले चितवन अहिले केन्द्रमा छ,’ घिमिरेले भने, ‘तीव्र शहरीकरणसँगै उपभोक्ताको रोजाइ सिटी सेन्टर र मल हुने गरेको छ। त्यही आधारमा हामी पर्यटन व्यवसायीले यो क्षेत्रमा हात हालेका हौं।’