BIZMANDU
www.bizmandu.com

कोभिडबीच ठूला करदाताले तिरे ३२ अर्ब अग्रिम कर, आन्तरिक राजस्वले ६० अर्ब उठायो

२०७७ पुष २९

कोभिडबीच ठूला करदाताले तिरे ३२ अर्ब अग्रिम कर, आन्तरिक राजस्वले ६० अर्ब उठायो
कोभिडबीच ठूला करदाताले तिरे ३२ अर्ब अग्रिम कर, आन्तरिक राजस्वले ६० अर्ब उठायो

Tata
GBIME
Nepal Life

काठमाडौं। कोभिड महामारीबीच ठूला करदाताले ३२ अर्ब अग्रिम कर(एडभान्स ट्याक्स) बुझाएका छन्। अग्रिम करको पहिलो किस्ता तिर्ने अन्तिम दिनमा ३२ अर्ब राजस्व संकलन भएको ठूला करदाता कार्यालयले जनाएको छ। 

 कार्यालयले बुधबार साँझसम्म ९ अर्ब राजस्व संकलन गरेको छ। राती १२ बजेसम्म थप ३ देखि ४ अर्ब राजस्व संकलन हुने अनुमान कार्यालयले गरेको छ। अग्रिम करका लागि राजस्व सचिवदेखि विभागका कर्मचारी दौडधुप गरिरहेका थिए।

यो महिना कार्यालयले ४४ अर्ब राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो। ठूला करदाताबाट अनुमान गरिएभन्दा कम मात्रामा राजस्व संकलन भएपछि कार्यालयले लक्ष्य भने पूरा गर्न नसक्ने देखिएको छ।

सबैभन्दा धेरै एडभान्स ट्याक्स दिने अनुमान गरिएको एनसेलले ९५ करोड ८० लाख मात्रै कर दाखिला गरेको छ। एनसेलले भन्दा धेरै कर नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले तिरेको छ। टेलिकमले १ अर्ब ८० करोड रुपैयाँ कर दाखिला गरेको छ। 

यस्तै आयल निगमले १ अर्ब अग्रिमकर तिरेको छ। निगमको आम्दानीको नाफाबाट सरकारले २ अर्ब १८ करोड समेत प्राप्ति गरेको छ।  यसैगरी राष्ट्र बैंकले सरकारलाई २ अर्ब ५० करोड रुपैयाँ कर बुझाएको छ।

राष्ट्रिय वाणिज्य बैंकले पनि अग्रिम कर वापतको ३१ करोड रुपैयाँ बुझाएको छ। हाल ठूला करदाता कार्यालयमा ६ सय ८१ वटा करदाता समावेश छन्। विशेषगरी कोभिडको महामारीसँगै आन्तरिक बजारमा पूर्ण रूपमा आर्थिक गतिविधि सञ्चालन नहुँदा करदाताले न्यून मात्रामा आयकर दाखिला गरिरहेका छन्।

चालु आर्थिक सुरु भएसँगै अन्त:शुल्क राजस्व संकलनमा कमी आइरहेको छ। यस्तै मूल्य अभिवृद्धि कर संकलनमा पनि उल्लेख्य सफलता देखिएको छैन। यस्तै गैरकर शीर्षकमा नकारात्मक असर जारी छ। होटल पर्यटन क्षेत्रबाट प्राप्त हुने आयकर चालु वर्षमा नगन्य मात्रामा छन्।   राजस्वका कर्मचारीहरु अहिले राजस्वको हिसाब किताब राख्न छन्।

आन्तरिक राजस्व विभागले पुस महिनामा ७२ अर्ब राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो।  विभागले साँझ ६० अर्बको हाराहारीमा राजस्व संकलन गरेको छ। राति १२ बजेसम्म लक्ष्यको आकडामा नजिक पुग्ने अनुमान गरेको छ।   

महालेखा कार्यालयको तथ्यांक अनुसार सरकारले मंगलबार सम्ममा ४ खर्ब २१ अर्ब राजस्व संकलन गरेको छ। यो संकलन लक्ष्यको करिब ४० प्रतिशत हो। सरकारले राजस्व शीर्षकमा ३ खर्ब ६६ अर्ब र गैरकर शीर्षकमा २२ अर्ब राजस्व संकलन गरेको छ।