BIZMANDU
www.bizmandu.com

मेगा बैंकले विदेशी रणनीतिक साझेदार ल्याउने, साधारणसभाले दियो अख्तियारी

२०७७ पुष २९

मेगा बैंकले विदेशी रणनीतिक साझेदार ल्याउने, साधारणसभाले दियो अख्तियारी
मेगा बैंकले विदेशी रणनीतिक साझेदार ल्याउने, साधारणसभाले दियो अख्तियारी

Tata
GBIME
Nepal Life

काठमाडौं। मेगा बैंक नेपालले बोनस सेयर सहित १३ दशमलव ०५ प्रतिशत लाभांश पारित गरेको छ।

काठमाडौंमा बुधबार भएको १०औं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७६/७७ सम्म सञ्चित मुनाफा एवं वितरणयोग्य रकम मध्येबाट हाल कायम चुक्ता पुँजीको १३.०५ प्रतिशतले हुन आउने १ अर्ब ७३ करोड ८६ लाख ११ हजार ७ सय ५१ रुपैँया ७९ पैसा लाभांश पारित गरेको हो।

त्यसमध्ये चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने १ अर्ब ३३ करोड २२ लाख ६९ हजार ५ सय ४१ रुपैयाँ ६१ पैसा बोनस सेयर र ३.०५ प्रतिशतले हुन आउने रकम ४० करोड ६३ लाख ४२ हजार २ सय १० रुपैयाँ नगद लाभांश साधारणसभाले पारित गरेको छ ।

साधारण सभाले बैंकमा वैदेशिक रणनीतिक साझेदार ल्याउन सञ्चालक समितिलाई अख्तियारी पनि दिएको छ। मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले प्रचलित ऐन तथा कानुनको अधिनमा रही वैदेशिक रणनीतिक साझेदारको पहिचान गर्ने सम्बन्धमा आवश्यक कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्न गरेको प्रस्तावलाई साधारणसभाले पारित गरेको हो।

यसैगरी, साधारण सभाले गाभ्ने अथवा गाभिने (मर्जर) र प्राप्ति गर्ने सम्बन्धमा आवश्यकता अनुसार मर्जर समिति गठन गर्न, समझदारी गर्न, मूल्यांकनकर्ता नियुक्त गर्न र सेयर आदानप्रदान अनुपात निर्धारण लगायतका कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी दिएको छ।

अध्यक्ष शाहले आर्थिक वर्ष २०७६/७७ को शुरुको आठ महिना देशको अर्थतन्त्र राम्रै भए पनि त्यसपश्चात कोभिडको महामारीका कारण प्रतिकूल असर परेकाले नेपालको बैंकिङ क्षेत्रले पनि चुनौती भोगिरहेको बताए। अध्यक्ष शाहले भने– ‘हाल बजारमा अधिक तरलता रहेको अवस्था छ, जसले गर्दा कर्जा तथा निक्षेपको ब्याजदर घटिरहेको छ भने त्यसको प्रभाव स्वरुप आधार दर पनि घट्दै गइरहेको हुँदा कर्जाको ब्याजदरमा तीव्र प्रतिस्पर्धाको अवस्था छ।'

'कर्जामा घट्दो ब्याजदरले प्रभावित ब्यवसायीहरुको कारोबारलाई मलम लगाउने कार्य त गरेको छ। तर, यसले बैंकिङ क्षेत्रमा ब्याजदर जोखिमसमेत वृद्धि गरेको छ। त्यसैले बिभिन्न जोखिमसँग सम्बन्धित आन्तरिक तथा बाह्य गतिविधिको मेगा बैंकले सुक्ष्म अध्ययन एवं विश्लेषण गरिरहेको छ,’ उनले भने।

बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले कोभिडबाट अन्य व्यवसाय जसरी बैंकिङ क्षेत्र समेत प्रभावित भएपनि बैंकको वित्तीय परिसचूक सन्तोषजनक रहेको बताइन्। मेगा बैंकले बिभिन्न छुट तथा सुविधाहरु प्रदान गरिरहेको जानकारी दिँदै उनले ब्याज रकममा छुट, ब्याजदरमा छुट, किस्ताको भाका अवधि विस्तार, कर्जा पुनर्तालिकीकरण, जरिवाना छुट लगायतले कोभिडबाट प्रभावित ग्राहकहरुलाई राहत मिलेको बताइन्। सिइओ खुञ्जेलीका अनुसार, कोभिडबाट प्रभावित देशको अर्थतन्त्रलाई उकास्न मेगा बैंकले करिब १ अर्ब ९० करोड रुपैंया सहुलियत कर्जा र २ अर्ब ४२ करोड रुपैंया पुनर्कर्जाहरु प्रवाह गरेको छ ।

‘शिक्षा नै ज्योति अभियान’ अन्तर्गत प्रत्येक शाखाबाट एक–एक जना छात्राहरुलाई छनोट गरी १२ कक्षासम्मको अध्ययनका लागि ‘एक शाखा – एक छोरी छात्रवृत्ति अभियान’ सुरुवात गरेको बैंकले त्यसलाई निरन्तरता दिँदै २०७७ सालको शैक्षिक सत्रका लागि प्रत्येक शाखाहरुबाट २–२ जना छात्राहरुलाई आर्थिक सहयोगको व्यवस्था गरेको जनाएको छ।

कोभिडको विषम परिस्थितिमा नेपाल सरकार तथा सबै प्रदेश सरकारहरुलाई कोभिडको संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि केन्द्रीय सरकारले स्थापना गरेको कोषमा १ करोड र ७ वटै प्रदेश सरकारले स्थापना गरेको कोषमा ५–५ लाख रुपैंया गरी १ करोड ३५ लाख रुपैयाँ सहयोग गरेको जनाएको छ।