BIZMANDU
www.bizmandu.com

२३०० अंकको नजिक पुगेर फर्कियो सेयर बजार, दर्जन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

२०७७ पुष २९

Tata
GBIME
Nepal Life

काठमाडौं। बुधबार करिब २३०० बिन्दुको नजिक पुगेको सेयर बजारले १८ अंकको वृद्धि कायम राखेर नयाँ उचाइ लिएको छ।

सुरुवातदेखि नै उकालो लागेको बजारले करिब १ बजे आसपास २२९६ अंकको उचाइ हासिल गरेको थियो। त्यसपछि भने सामान्य करेक्सन हुँदै १८ अंकको वृद्धिसहित बजार २२८६ अंकमा बन्द भएको छ।

मंगलबारका तुलनामा कारोबार रकमसमेत बढेर करिब ६ अर्बको कारोबार भएको छ। मंगलबार करिब ५ अर्ब रुपैयाँको मात्रै सेयर किनबेच भएको थियो। 

दर्जन कम्पनीको मूल्यमा सकारात्मक सर्किट
बुधबार कर्पोरेट डेभलपमेन्ट बैंक, आरम्भ चौतारी लघुवित्त, फर्स्ट माइक्रो फाइनान्स, इन्फिनिटि लघुवित्त, युनाइटेड फाइनान्स नारायणी डेभलपमेन्ट बैंक र गुर्खाज फाइनान्सको सेयर मूल्य १० प्रतिशतले बढ्दै सकारात्मक सर्किट लागेको छ।

त्यस्तै प्रभु लाइफ, समृद्धि फाइनान्स, गणपति माइक्रोफाइनान्स र श्री इन्भेष्टमेन्ट फाइनान्सको सेयर मूल्य पनि १० प्रतिशत हाराहारी वृद्धि भएको छ।

वित्तीय संस्थाका उपसूचकमा उछाल
बुधबार उत्पादन, जीवन बीमा, निर्जीवन बीमा र लघुवित्त समूहको उपसूचकमा उछाल आएको छ। वाणिज्य बैंक र होटल समूहको सूचक भने सामान्य घटेको छ।

उत्पादन समुहको सूचक २४२ अंकले वृद्धि हुँदा जीवन बीमा समूह १७० अंक, निर्जीवन बीमा समूह १११ अंक र लघुवित्त समूह ९६ अंकले बढेको छ। फाइनान्स समूह ४५ अंकले बढ्दा विकास बैंक र हाइड्रोपावर समूह पनि ३०/३० अंकले बढेको छ। 

नेपाल टेलिकमको २६ करोड रुपैयाँको कारोबार हुँदा पुनर्बीमा कम्पनीको २० करोड. माथिल्लो तामाकोशीको १८ करोड. शिवम् सिमेन्टको १६ करोड र एनआइसी एसिया बैंकको १५ करोड रुपैयाँको कारोबार भएको छ।

२०७ कम्पनीका एक करोड ३२ लाख कित्ता सेयर पाँच अर्ब ९२ करोड रुपैयाँमा कारोबार भएका छन्। १२९ कम्पनीको सेयर मूल्य बढ्दा ३८ कम्पनीको मूल्य घटेको छ। अन्य कम्पनीको मूल्य स्थिर रहेको छ।