BIZMANDU
www.bizmandu.com

माघबाट बैंकको निक्षेपको ब्याज अझ घट्दै, २२ बैंकले सार्वजनिक गर्दा अधिकांशले ब्याज दर झारे 

२०७७ पुष २९

माघबाट बैंकको निक्षेपको ब्याज अझ घट्दै, २२ बैंकले सार्वजनिक गर्दा अधिकांशले ब्याज दर झारे 
माघबाट बैंकको निक्षेपको ब्याज अझ घट्दै, २२ बैंकले सार्वजनिक गर्दा अधिकांशले ब्याज दर झारे 

Tata
GBIME
Nepal Life

काठमाडौं। बैंकमा पैसा राख्नेहरुलाई माघ महिनाले अझ निराश बनाउने भएको छ। राष्ट्र बैंकले तरलता ब्यवस्थापन गर्न नसक्दा बैंकहरुले बचतसँगै मुद्दती निक्षेपको ब्याज दर पनि घटाएका छन्।

माघ १ गतेबाट लागू हुने गरी ब्याज सार्वजनिक गरेका २२ वाणिज्य बैंकहरुमध्ये अधिकांशले घटाएका छन्। केहीको यथावत छ भने छिटपुट रूपमा केही बैंकले बढाएका छन्। तर घटाउने बैंकको संख्या अधिक छ।

बचतको ब्याज घट्दा पुरानो निक्षेपकर्ताले पाउने प्रतिफल पनि घट्छ। मुद्दतीको घट्दा भने माघ १ गतेबाट बैंकमा पैसा राख्दा ब्याज कम हुन्छ। निक्षेपको ब्याज घटेको फाइदा भने ऋणीलाई हुन्छ। निक्षेपको ब्याज घट्दा बैंकहरुको आधार दर कम भएर ऋणको ब्याज अझ कम हुन्छ।

कसको ब्याज कस्तो?
नेपाल बैंक लिमिटेडले बचत खाताको न्यूनतम दर २ बाट साढे दुई प्रतिशत पुर्‍याएको छ। तर अधिकतम दर चार प्रतिशतलाई यथावत राखेको छ। बैंकले मुद्दती निक्षेपको अधिकतम ब्याज सात प्रतिशत पनि यथावत नै राखेको छ।

कृषि बिकास बैंकले बचतको न्यूनतम ब्याज दर साढे ३ प्रतिशतबाट घटाएर तीन प्रतिशतमा ल्याएको छ। अधिकतम ब्याज ५ प्रतिशतलाई यथावत राखेको छ। मुद्दती निक्षेपतर्फ बैंकले ७.२५ प्रतिशतलाई निरन्तरता दिएको छ। 

एनएमबि बैंकले बचतको ब्याजमा केही फरक गरेको छ। बैंकले यसअघि प्रकाशित ब्याजमा ०.१ प्रतिशत बिन्दु बढी ब्याज दिने घोषणा गरेको छ। बैंकले बचतमा न्यूनतम ३.१ र अधिकतम ५.१ प्रतिशत ब्याज दिने भएको छ। मुद्दतीतर्फ बैंकले पुरानै ब्याजलाई निरन्तरता दिएको छ। बैंकमा ८ प्रतिशतसम्म ब्याज उपलब्ध हुन्छ।

नेपाल इन्भेष्टमेन्ट बैंकले बचतको ब्याज दर थोरै घटाएको छ। यसअघि २.२५ देखि ४.२५ प्रतिशतसम्म दिँदै आएको ब्याज अब २ देखि ४ प्रतिशतसम्म दिनेछ। मुद्दती निक्षेपको अधिकतम ब्याज ९ प्रतिशतबाट घटाएर सात प्रतिशतमा झारेको छ। 

सानिमा बैंकले पनि बचतको ब्याज घटाएको छ। २.५-४.५ प्रतिशत रहेको बचतको ब्याज घटाएर २-४ प्रतिशत निर्धारण गरेको छ। बैंकले मुद्दतीतर्फ १० प्रतिशतसम्म कायम गरेको ब्याज ६.५० प्रतिशतमा झारेको छ। यो सर्वसाधारणलाई दिने ब्याज हो।

प्राइम कमर्सियल बैंकले बचतको ब्याज ३-५ प्रतिशतलाई निरन्तरता दिएको छ। मुद्दतीतर्फ पनि बैंकले अधिकतम ८ प्रतिशत ब्याजलाई यथावत राखेको छ। 

यता ग्लोबल आइएमइ बैंकले बचतको ब्याज २.५-४.५ प्रतिशतलाई घटाएर २-४ प्रतिशत निर्धारण गरेको छ। मुद्दतीतर्फ बैंकले साढे ८ प्रतिशत दिँदै आएकोमा ७ प्रतिशत मात्र दिने घोषणा गरेको छ।

मेगा बैंक नेपालले २.५-४.५ प्रतिशतको बचतको ब्याजलाई घटाएर २-४ प्रतिशत निर्धारण गरेको छ। बैंकले मुद्दतीतर्फ सर्वसाधारणलाई दिँदै आएको उच्चतम साढे सात प्रतिशतको ब्याजलाई सात प्रतिशतमा झारेको छ। 

नबिल बैंकले बचतको ब्याज १.५-३ प्रतिशतलाई यथावत राखेको छ। मुद्दतीमा सर्वसाधारणलाई दिने ब्याज साढे ६ प्रतिशतलाई पनि निरन्तरता दिएको छ।

हिमालयन बैंकले बचतको २-४ प्रतिशतको ब्याजलाई निरन्तरता दिँदै सर्वसाधारणलाई दिने मुद्दतीको ब्याज दर सात प्रतिशतलाई पनि यथावत राखेको छ।

नेपाल बंगलादेश (एनबी) बैंकले बचतको ब्याज घटाएको छ। ३-४.२५ प्रतिशत ब्याज दिँदै आएको बैंकले घटाएर २.७५-४ प्रतिशत ब्याज निर्धारण गरेको छ। मुद्दतीतर्फ बैंकले सर्वसाधारणलाई दिने ब्याज केही बढाएको छ। ७.७५ प्रतिशतको ब्याजलाई बढाएर ८ प्रतिशत पुर्‍याएको छ। 

राष्ट्रिय वाणिज्य बैंकले सामान्य बचतको ब्याज दर २ प्रतिशतबाट बढाएर साढे २ प्रतिशत पुर्‍याएको छ। अन्य ब्याज दर ४ प्रतिशत यथावत छ। मुद्दतीतर्फ सर्वसाधारणलाई दिने ब्याज सात प्रतिशतलाई यथावत राखेको छ। 

प्रभु बैंकले बचतमा २-४ प्रतिशतको ब्याजलाई यथावत राखेको छ। मुद्दतीतर्फको साढे सात प्रतिशत ब्याजले पनि निरन्तरता पाएको छ। 

माछापुच्छ्रे बैंकले २.५-४.५ प्रतिशतसम्म दिँदै आएको बचतको ब्याज केही घटाएर २-४ प्रतिशतमा झारेको छ। बैंकले सर्वसाधारणलाई दिने मुद्दतीको अधिकतम ब्याज साढे प्रतिशतलाई पनि घटाएर सात प्रतिशत निर्धारण गरेको छ।

नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले ३-५ प्रतिशतको बचत ब्याजलाई निरन्तरता दिएको छ। मुद्दतीतर्फ बैंकले ब्याज दर ८ प्रतिशतलाई यथावत राखेको छ।

लक्ष्मी बैंकले पनि बचतको २-४ प्रतिशत ब्याजलाई निरन्तरता दिँदै मुद्दतीतर्फको ब्याज साढे ८ प्रतिशतबाट सात प्रतिशतमा झारेको छ। 

सनराइज बैंकले बचतको ब्याज २-३.५ प्रतिशतलाई निरन्तरता दिँदै सर्वसाधारणलाई दिने मुद्दतीको अधिकतम ब्याज दर सात प्रतिशतलाई पनि यथावत राखेको छ। 

स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले बचततर्फको २.५-४.५ प्रतिशतको ब्याजलाई घटाएर २-४ प्रतिशतमा झारेको छ। सर्वसाधारणलाई दिने अधिकतम मुद्दती ब्याज दर ६ प्रतिशतलाई यथावत राखेको छ।

एभरेष्ट बैंकले बचतको २-४ प्रतिशत ब्याजलाई निरन्तरता दिएको छ। मुद्दतीको ब्याज दर सात प्रतिशतबाट साढे ६ प्रतिशतमा झारेको छ। 

एसबीआइले ६ महिनादेखि १ वर्ष अवधिको मुद्दती निक्षेपको ब्याज सर्वसाधारणतिर यथावत चार प्रतिशत राखेको छ। तर संस्थागत/विदेशी कूटनीतिक निकायको ५ बाट चार प्रतिशतमा झारिदिएको छ। एकदेखि दुई वर्ष अवधिको संस्थापकतिरको ब्याज ६ प्रतिशतबाट साढे ५ प्रतिशतमा झारिएको छ। बचतको ब्याज भने यथावत ३ देखि १.५ प्रतिशतमा राखेको छ।

यता सिभिल बैंकले ३ देखि ५ प्रतिशत रहेको बचतको ब्याज तीन प्रतिशतमा स्थिर गरेको छ। मुद्दती निक्षेपको ब्याज ८ प्रतिशत कायम गरेको छ। यसअघि अधिकतम ब्याज ८.५ प्रतिशत थियो। 

यसैगरी सेञ्चुरी कमर्सियल बैंकले बचतको ब्याज ४.५ देखि २.५ प्रतिशत यथावत राखेको छ। मुद्दतीतर्फको ब्याज पनि सातदेखि साढे सात प्रतिशतसम्म राखेको छ। कात्तिकमा ८.४३ प्रतिशत रहेको बैंकको आधार दर मंसिरमा ८.४७ प्रतिशत पुगेको छ।