BIZMANDU
www.bizmandu.com

भाजपा सांसद भन्छन् : ‘नेपालको जग्गा व्यवस्थापनको मोडेल राम्रो, भारतमा लागू गर्छौं’

२०७७ पुष २८

भाजपा सांसद भन्छन् : ‘नेपालको जग्गा व्यवस्थापनको मोडेल राम्रो, भारतमा लागू गर्छौं’
भाजपा सांसद भन्छन् : ‘नेपालको जग्गा व्यवस्थापनको मोडेल राम्रो, भारतमा लागू गर्छौं’

Tata
GBIME
Nepal Life

हरसिद्धि (बिहार)। मुजफफरपुरका भारतीय जनता पार्टी (भाजपा) सांसद अजयकुमार निषादले नेपालको भूमि व्यवस्थापन र जग्गा खरीद बिक्रीको प्रक्रिया निकै राम्रो भएकोले जग्गा खिंचलोको मुद्दा कम हुने गरेको बताएका छन्।

विहारको पूर्वी चम्पारणको हरिसिद्धिमा भएको नेपाल–भारत मैत्री संवादमा उनले यो धारणा राखेका हुन्। उनले नेपालको मोडेल बिहार र भारतमा लागू गर्न भारतीय संसदमा आवाज उठाउने बताए। रक्सौलबाट पटनाको लागि छुट्टै रेल सञ्चालनको लागि केन्द्र सरकारसँग पहल भएको चर्चा गर्दै उनले रक्सौल विमानस्थल योजना अघि बढेको बताए।

निषादले यी दुईवटा योजना अघि बढेमा नेपाललाई भारतको विभिन्न राज्यसँग जोड्न र उपचार,शिक्षा, भ्रमण लगायतका क्षेत्रमा महत्वपूर्ण सहयोग पुग्ने धारणा व्यक्त गरे। पर्साका पूर्व सांसद प्रदीप यादवले नेपाल–भारतको सम्बन्ध दुवै देशका प्रधानमन्त्रीले गर्दा नबिग्रिने धारणा राखे। पत्रकार चन्द्रकिशोरले नेपाल–भारतको सम्बन्ध जनजनको सम्बन्ध भएकोले दुवै देशको पत्रकारहरुले एकअर्का देशको बारेमा लेख्दा अथवा समाचार सम्प्रेषण गर्दा ख्याल गर्नुपर्ने सुझाव दिए।

हरिसिद्धि क्षेत्रका बिजेपी विधायक कृष्णनन्दन पासवानले नेपाल–भारत सम्बन्ध कोरोनाको कारण असहज परिस्थिति भए ता पनि आगामी दिनमा आवागमन बढाउँदै दुवै देशबीच संवाद छलफल गराउनुपर्ने बताए। नेपाली कांग्रेस पर्साका सभापति अजय द्विवेदीले नेपालको जंगल र चुरे संरक्षणको लागि नेपाल–भारत सरकारले ध्यान नदिए नेपालको तराईसँगै बिहारको दर्जनौं जिल्लामा त्यसको प्रभाव परी जलस्तर घट्ने र रोजीरोटीको समस्या पनि सृजना हुने धारणा राखे।

प्रदेश सांसद ओमप्रकाश शर्माले दुवै देशबिचमा पछिल्लो समय तिक्तता बढेता पनि संवाद र वार्ताको माध्यमबाट सीमा मिचिएको समस्या समाधान गर्न आग्रह गरे।कार्यक्रममा वक्ताहरुले कोरोना महामारीले गर्दा सीमा क्षेत्रमा उत्पन्न समस्या सामाधान गर्न दुवै देशका सरकारलाई १४ बुँदे माग मिडिया फर बोर्डर हार्मोनी भारतका अध्यक्ष पत्रकार अमरेन्द्र तिवारीले प्रस्तुत गरेका थिए।

जसमा नेपालका लागि भारतले कोरोना खोप उपलब्ध गराउनुपर्ने, नेपाल सरकारले एकलौटीरुपमा जारी राखेको लकडाउन खुला गर्नुपर्ने, नेपाल–भारतबीचको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक सम्बन्धलाई अझै मजबुत बनाउनुपर्ने विभिन्न माग राखिएको थियो।

भाजपाका पूर्वी चम्पारण पूर्वी जिल्ला अध्यक्ष राजेन्द्र गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद करीमा बेगम, रमेश कुर्मी, मिडिया फर बोर्डर हार्मोनी नेपालका अध्यक्ष अनिल तिवारी, वरिष्ठ पत्रकार कन्हैयालाल केशरी, पत्रकार रितेश त्रिपाठी, राम सर्राफलगायतले मन्तव्य व्यक्त गरेका थिए।