BIZMANDU
www.bizmandu.com

नेपालका लागि सेटलाइटको काम गर्न नौ विदेशी कम्पनी इच्छुक, २०२२ सम्म नेपालको आफ्नै सेटलाइट

२०७७ पुष २८

नेपालका लागि सेटलाइटको काम गर्न नौ विदेशी कम्पनी इच्छुक, २०२२ सम्म नेपालको आफ्नै सेटलाइट
नेपालका लागि सेटलाइटको काम गर्न नौ विदेशी कम्पनी इच्छुक, २०२२ सम्म नेपालको आफ्नै सेटलाइट

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपालका लागि सेटलाइको काम गर्न नौ वटा विदेशी कम्पनी इच्छुक देखिएका छन्। नेपालका लागि सेटलाइट लञ्च गर्ने योजनामा काम गर्न चाहने कम्पनीहरूसँग दूरसञ्चार प्राधिकरणले पुस १ गते आशयपत्र मागेको थियो।

त्यसमा विभिन्न देशका नौ वटा कम्पनीले आशयपत्र पेश गरेका छन्। प्राधिकरणले सेटलाइटको नियमन र सुरक्षासम्बन्धी आवश्यक नीति, बिजनेस मोडालिटी, सञ्चालन बारे काम गर्न इच्छुक कम्पनीहरुसँग आशयपत्र माग गरेको थियो।

आशयपत्र बुझाउनेमा चीनको बेइजिङ स्पेसकी टेक्नोलोजी कम्पनी लिमिटेड, फ्रान्स पेरिसको यूरोकन्सल्ट, बेलायतको लण्डन इकोनोमिक्स लिमिटेड र केआइएसपीई टिम (जेभी), भारत मुम्बईको केपीएमजी-एआरजीओ जेभी, अमेरिकाको स्पेस पार्टनर्सिप इन्टरनेसनल, दुबईको एसथ्री टेल आइएनसी, सिंगापुरको सेलेस्टिएल कन्सल्टिङ सर्भिसेज र जर्मनीको स्पेस टेक पार्टनर्स रहेको प्राधिकरणले जनाएको छ।  

कम्पनीहरुले पेश गरेका आशयपत्रलाई तीन पक्षमा अध्ययन गरिने छ। अनुभव, योग्यता र क्षमतालाई आधार मानेर प्राधिकरणले आशयपत्रहरु मूल्यांकन गरी छनोटको तयारी थालेको छ। 

प्राधिकरणले २०७३ असोजमा पहिलोपटक माग गरेको आशयपत्र समय सापेक्ष नभएको भन्दै गत मंसिर २२ मा सबै प्रक्रिया नै खारेज गरेको थियो। त्यसबेला विभिन्न देशका २० वटा कम्पनीहरुले प्रस्ताव पेश गरेका थिए। सन् २०१६ देखि अहिलेसम्म सेटलाइटको प्रविधिमा धेरै परिवर्तन आइसकेको भन्दै नयाँ प्रक्रियाबाट आशयपत्र माग गरिएको प्राधिकरणले जनाएको छ।

सरकारले गत असारमा भू-उपग्रह नीति २०७७ जारी गरेकाले त्यसका प्रावधानलाई समेत समेटेर नयाँ प्रक्रिया सुरु गर्ने बताइएको छ। उक्त नीतिले सन् २०२२ भित्र नेपालले आफ्नै भ-ूउपग्रह स्थापना गरी त्यसबाट सेवा उपलब्ध गराउने लक्ष्यअनुसार नयाँ आशयपत्र माग गरिएको हो। 

अहिले नेपाली दूरसञ्चार सेवा प्रदायक, रेडियो तथा टेलिभिजनहरुले विदेशी सेटलाइट प्रयोग गरिरहेका छन्। सेटेलाइट प्रयोगवापत् नेपाली कम्पनीहरुबाट वार्षिक अर्बौं रुपैयाँ बाहिरिइरहेको छ। दूरसञ्चार सेवाका लागि स्वदेशी सेटलाइट भए नेपाली पैसा बाहिरिने क्रम घट्ने अपेक्षा छ।