BIZMANDU
www.bizmandu.com

‘डेमो’ गर्न पार्किङ बहाना मात्रै, क्यानले अनुमति नदिँदा एमआइका दुई हेलिकप्टर फर्किँदै


‘डेमो’ गर्न पार्किङ बहाना मात्रै, क्यानले अनुमति नदिँदा एमआइका दुई हेलिकप्टर फर्किँदै
‘डेमो’ गर्न पार्किङ बहाना मात्रै, क्यानले अनुमति नदिँदा एमआइका दुई हेलिकप्टर फर्किँदै


Tata
GBIME
Nepal Life

काठमाडौं। केही दिनअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेर 'ट्रान्जिट पार्किङ' दिएको भनिएका ३० वर्ष पुराना दुई हेलिकप्टर किन भित्रिएका हुन् भन्ने कारण बिस्तारै खुल्दैछ। 

नागरिक उड्डयन प्राधिकरणले ती हेलिकप्टर नेपाली कम्पनीले ल्याएको नभइ अन्त जानका लागि नेपाल आइपुग्दा ट्रान्जिट पार्किङमात्रै दिएको भनिसकेको छ। किर्गिस्तानको 'हेलि स्काइ' कम्पनीले सञ्चालन गर्दै आएका दुवै हेलिकोप्टरले इण्डोनेशियामा उडान गर्दै आएका थिए। 
कन्ट्रयाक्ट अवधि सकिएपछि दुवै हेलिकोप्टर फर्किनुअघि नै एउटा कम्पनीले व्यवसायीले डेमोका लागि प्रस्ताव गरेको थियो।

दुवै हेलिकोप्टर गत शनिबार बंगलादेश हुँदै नेपाल आइपुगेका हुन्। एक त ३० वर्ष पुरानो हेलिकोप्टर, त्यसमाथि नेपालमा यसको सञ्चालनमा असम्भव देखिएपछि ल्याएकै दिन 'डेमो प्लान' फ्लप भएको थियो। 'एमआइ सिरिजबाट नेपाली कम्पनी आजित भइसकेका छन्। यस्तो थोत्रो हेलिकोप्टर ल्याएर अझ डेमो (प्रदर्शन) गर्ने जानकारी पाए लगत्तै प्राधिकरणले प्रस्ताव बदर गरिदिएको थियो,' स्रोतले भन्यो।

'कुनै पनि विदेशी हेलिकोप्टर अथवा प्लेन आउँदा यहाँ एउटा एजेन्ट पहिलै तोकिएको हन्छ। एजेन्टको काम भनेको ल्याण्डिङ, पार्किङमा सहजीकरण सँगै क्रुको हेरचाह गरिदिने हो। अब यही क्रममा एजेन्ट कम्पनीले यी हेलिकप्टर भाडामा लिने लगायतका कुरा ल्याएका थिए। तर यसमा प्राधिकरणले अनुमति दिएन,' क्यान स्रोतले बतायो। 

यी दुवै हेलिकप्टर नेपाली कुनै कम्पनीले भित्र्याउँछु भने पनि पाउँदैनन्। किनकी यति पुरानो मापदण्डमा पर्दैन। तर यसलाई भित्र्याउन एउटा समूह सक्रिय भए पनि असफल भएको स्रोतको दाबी छ। 
    
यी दुवै हेलिकोप्टरलाई प्राधिकरणको इजाजत अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको डोमेस्टिक परिसरमा राखिएको छ। दुवै हेलिकोप्टर फायर फाइटीङ बिल्डिङ छेउमा राखिएको छ। 'डेमोकै लागि भनेर ल्याइएको हेलिकप्टर अथवा जहाज डोमेस्टिक परिसरमा पार्किङ गरिन्छ। नत्र विदेशी दर्ता भएका हेलिकोप्टर यहाँ पार्किङ गराइएको आजसम्म दखिएको छैन,' विमानस्थलका एक कर्मचारीले भने।

नेपाली आकाशका लागि नौलो रहेका हेलिकोप्टर अथवा हवाई जहाज डोमेस्टिक पार्किङमा राखिने गरेको स्रोतले जनाएको छ।   
मन्त्रालय स्रोतका अनुसार एक दशक अघिदेखि उडान सञ्चालन अनुमति पत्र (एओसी) रद्द भइसकेको एक कम्पनीले एमआइ सिरिजकै हेलिकोप्टरबाट उडान सुरु गर्नका लागि पुनः एओसी प्रक्रिया सुरु गर्ने तयारी गर्दै आएको छ।

'पहिला विदेशी साझेदारीसँगै उडान सुरु गरेर पुनः बन्द भएको एउटा हेलिकप्टर कम्पनीले एमआइकै हेलिकप्टर ल्याएर पुनः उड्डयन उद्योगमा रीब्याक हुने योजना बनाएको छ। एक दशक अगाडि विदेशी साझेदारसहित इन्ट्री गरेको त्यो कम्पनी यतिखेर आन्तरिक लफडाका कारण सिंगापुर आर्बिट्रेसनमा मुद्दा लडिरहेको अवस्था छ,' स्रोतले भन्यो।

२० दिन अघिदेखि नै सुरु भएको थियो पत्राचार     
नेपालमा पार्किङ अवतरणका लागि हेलि स्काइले गत डिसेम्बरको तेस्रो सातादेखि नै पत्राचार गरेको थियो। हेलिकप्टर टेक्निकल अथवा ओभरफ्लाइका लागि अवतरण गरिने मुलुकका लागि कम्पनीले आधिकारिक एजेन्ट छनोट गरेको थियो। तर छनोट भएका तीन वटै एजेन्टको कामबारे प्रष्ट नभएको पत्र पठाइएको थियो।

गत डिसेम्बर ३० मा हेलि स्काइले पठाएको संसोधित निवेदनलाई मध्यनजर गर्दै प्राधिकरणले जनवरी १ मा कम्पनीको दुई वटा हेलिकोप्टरलाई नेपालमा अवतरणका लागि अनुमति दिएको थियो। किर्गिस्तानको 'किर्गिज रिपब्लिक' सडक तथा यातायात मन्त्रालय अन्तर्गत नागरिक उड्डयन समिति (सिभिल एभिएसन एजेन्सी) को सिफारिसमा उक्त पत्र आएको थियो।

सिकागो कन्भेन्सनअनुसार टेक्निकल चार्टर फलाइटलाई नागरिक उड्डयन प्राधिकरणले विशेष अनुमति दिनुपर्ने हुन्छ। जनवरी २-१० तारिखसम्मका लागि मागिएको अनुमति अतिरिक्त ७२ घण्टाको लागि पार्किङ सहमति लिइएको छ। प्राधिकरणका अनुसार दुवै हेलिकप्टर शनिबार दिल्लीतर्फ जाँदैछन्।  

यी ठूला आकारका हेलिकप्रट हुन्। दुई हेलिकोप्टरमा १० जना चालकदल सदस्य छन्। क्याप्टेन ख्रामुसिन एण्ड्रे र कयाप्टेन अबदुल्लेइभ एमिल्टी लगायत दुई पाइलटले उडान गरी नेपाल ल्याएका हुन्।

किर्गिस्तान-इण्डोनेशिया-बंगलादेश-भारतका लागि उडेका यी हेलिकप्टर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङमा राखिएपछि हल्लीखल्ली मच्चिएको थियो। इएक्स-४०००७ र इएक्स-०८०२३ आइडेन्टिटी नम्बर रहेका एमआइ-८ एमटिभी सिरिजका यी हेलिकप्टर 
सन् १९९१-०३-०३ र सन् १९९१-०४-११ मा बनेका हुन्।

ट्रान्जिटका लागि केही दिन नेपालमा राखिएको भन्दै नागरिक उड्डयन प्राधिकरणका पदाधिकारी पन्छिने गरे पनि हेलिकप्टर कम्पनीका सञ्चालकहरूको फरक फरक दाबी बाहिर आउँदा चासोको विषय बनेको थियो।
 

प्रतिष्पर्धा उच्च, व्यापारमा मन्दीले आत्तिएका छन् कम्पनी   
नेपालमा कोभिडपछि हेलिकप्टर कम्पनीहरूको आर्थिक अवस्था सुदृढ छैन। जहाजका तुलनामा हेलिकप्टरले बिजनेस पाएका छैनन्। तर प्रतिष्पर्धा उच्च भन्दै कम्पनीहरूमा कसले बढी क्षमताका हेलिकप्टर ल्याउने भन्ने विषय बहसमा छ।

कम क्षमताको हेलिकप्टरमा धेरै प्रतिष्पर्धा देखिएपछि केही कम्पनीले धैरै सिट क्षमताका हेलिकप्टर सञ्चालन गर्ने योजना बनाएको एक व्यवसायीले बताए। यसकै क्रममा दुई वटा २४ सिट क्षमताका एमआइ-८ सिरिजका हेलिकप्टर प्रदर्शनका लागि नेपाल ल्याइएको ती व्यवसायीले बताएका छन्। 

'अहिले भएका हेलि पाँच सिट क्षमताका छन्। कम्पिटिसन धेरै भएर सानो सीट क्षमताका हेलि चलाइराख्न नसकिने अवस्था छ,' एक व्यवसायीले भने, 'केही कम्पनीले ठूलो सिट क्षमताको हेलिकप्टर सञ्चालनमा ल्याउने सोच बनाएका छन्।'
यात्रु नहुँदा पनि ठूला हेलिकप्टरले निर्माण सामाग्री ढुवानी गरेरै सञ्चालन खर्च निकाल्ने उनले बताए। 'ठूला आयोजनाका लागि निकै उपयोगी भएका कारण त्यस किसिमका हेलिकप्टरबाट राम्रो आमदानी हुने देखिन्छ,' उनले भने। 

काठमाडौं अवतरण गरेर पार्किङमा राखिएका सिरिजको हेलिकप्टर प्राय ठूला आयोजना (हाइड्रो) मा प्रयोग हुँदै आएको छ।    

व्यवसायिक उडानका लागि नेपालमा निजी वायुसेवा कम्पनी श्री एयरलाइन्ससँग मात्र यो सिरिजको हेलिकप्टर छ। कम्पनीसँग भएका ६ वटा एमआइ-१७ हेलिकप्टरमध्ये यतिखेर एउटा मात्र सञ्चालनमा छ। दुई वटा विदेशमै थन्किएका छन् भने तीन वटा प्राविधिक  समस्या भएका कारण ग्राउण्डेड छन्।