BIZMANDU
www.bizmandu.com

मेलम्ची र काठमाडौं महानगरपालिकाबीच भगिनी सम्बन्ध,काठमाडौंको सहयोगमा मेलम्ची सिटी पार्क बन्ने

२०७७ पुष २२

Tata
GBIME
Nepal Life

काठमाडौं। काठमाडौं महानगरपालिका र सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना भएको छ।

राजधानीमा मंगलबार आयोजित एक कार्यक्रममा महानगरका मेयर विद्यासुन्दर शाक्य र मेलम्ची नगरपालिकाका मेयर डम्बरबहादुर अर्यालले समझदारीमा पत्रमा हस्ताक्षर गरेर भगिनी सम्बन्ध अगाडि बढाएका हुन्।

भगिनी सम्बन्धको समझदारीसँगै काठमाडौं महानगरपालिकाले मेलम्ची नगरपालिकामा मेलम्ची सिटी पार्क निर्माणका लागि सहयोग गर्ने भएको छ। यसका लागि समेत दुई नगरबीच सम्झौता भएको छ।

पार्क मेलम्ची नगरपालिकाको वडा नम्बर १० मा निर्माण हुनेछ। इन्द्रावती नदीको किनारमा बन्ने उक्त पार्कमा पानीको फोहोरा, हेलिप्याड, बालबालिकाका लागि खेलकुद पार्कलगायत हुनेछ। पार्कको डिजाइन भने मेलम्ची नगरपालिका आफैंले गर्नुपर्नेछ। त्यसका लागि प्राविधिक सहयोग मागे महानगरपालिकाले उपलब्ध गराउनेछ।

आर्थिक वर्ष २०७७/७८ मा निर्माण सुरु गरेर २०७८/७९ मा पूरा गर्नु पर्नेछ। पार्क निर्माणका लागि एक करोड ५० लाख रुपैयाँ काठमाडौं महानगरले सहयोग गर्नेछ भने बाँकी मेलम्ची नगरपालिकाले आफैंले ब्यहोर्नेछ।

कार्यक्रमलाइ सम्बोधन गर्दै मेलम्चीका मेयर डम्बर अर्यालले मेलम्ची नगरपालिका गाउँ नै गाउँले भरिएकाले विस्तारै शहरी विकास गर्न लागिएको बताए। उनका अनुसार, नगरपालिकाले बसपार्क, पार्क, सडक विस्तार, बजार व्यवस्थित गर्ने लगायtका कामहरु गरिरहेको छ।

काठमाडौंमा मेलम्चीबाट वार्षिक ५० करोड रुपैयाँभन्दा बढीको दूध बिक्रीका लागि आइपुग्छ। सँगै धान, चामल लगायतका खाद्यान्न र राजधानीबासीको तिर्खा मेटाउन पानी पठाउन लागिएको पनि अर्यालले बताए।

उनका अनुसार, सिन्धुपाल्चोकमा देशमा पाइने सबै खालका चराचुरुंगी पाइन्छ। मेलम्ची पर्यटकीय हिसाबले महत्वपूर्ण छ। जिल्लाका प्रसिद्ध धार्मिकस्थलहरु मेलम्ची हुँदै जानुपर्छ। गुम्बा नै गुम्बाको गाउ हेलम्बु यही बाटो भएर जानुपर्छ। जलवायु सम्मेलन हुने गुफाडाँडा पनि यहीँ पर्छ।

चाबहिलबाट जहरसिंङपौवा हुँदै ४५ किमी दुरीमा रहेको मेलम्ची सडक कालोपत्रे भए डेढ घण्टामै सहजै पुग्न सकिने उनको भनाइ छ। अहिले यो सडक कालोपत्रेको काम सुरु गर्न लागिएको छ।

काठमाडौंका मेयर शाक्यले मुलुकभित्रकै स्थानीय तहहरुबीच भगिनी सम्बन्ध स्थापना गर्ने कार्य महानगरपालिकाले गरिरहेको भन्दै त्यसले पर्यटन एवं धार्मिक पर्यटनका लागि थप सहयोग पुग्ने बताए। स्थानीय उत्पादन तथा बजार व्यवस्थापनमा सहकार्य गर्न, मानवीय नगर बनाउन सहकार्य, आपसी हितका लागि अध्ययन तथा अवलोकन इत्यादि गर्नमा पनि स्थानीय निकायबीचको यस्तो भगिनी सम्बन्धले सहयोग पुग्ने अपेक्षा लिइएको भनाइ उनले राखे।

यसअघि काठमाडौं महानगरपालिकाले लुम्बिनी प्रदेशको रामग्राम र कर्णाली प्रदेशको चन्दननाथ नगरपाालिकासँग पनि भगिनी सम्बन्ध स्थापना गरिसकेको छ।

यस्तै, काठमाडौं महानगरपालिकाले यसअघि चीनका ६ वटा (ल्हासा, सियान, सेञ्जेन, लाञ्जाउ, चेङ्दु र नान्जिङ्) संयुक्त राज्य अमेरिकाका चारवटा (युजेन, रोचेष्टर, फ्रेडरिकवर्ग र वोल्डर) सँग पनि यसअघि नै भगिनी सम्बन्ध स्थापना गरिसकेको छ। 

त्यसैगरी, जापानको मात्सुमोतो, बेलारुसको मिन्सक, बर्माको यंगुन, दक्षिण कोरियाको सोल, उत्तर कोरियोको प्योङ्याङ र भारतको वाराणासीसँग पनि भगिनी सम्बन्ध स्थापना गरिसककेको छ। थाइल्याण्डको बैंकक र पाकिस्तानको इस्लामावादसँग पनि काठमाडौं महानगपालिकाले भगिनी सम्बन्ध स्थापनाको प्रक्रिया अघि बढाएको छ।