BIZMANDU
www.bizmandu.com

शेयर इट र अलि पे जस्ता ८ चिनियाँ एपमाथि प्रतिबन्ध, ट्रम्पले भने-अमेरिकी सुरक्षाका लागि खतरा

२०७७ पुष २२

Tata
GBIME
Nepal Life

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा थप आठ वटा चिनियाँ एपको प्रयोगलाई  प्रतिबन्ध लगाएका छन्।

चीनको लोकप्रिय पेमेन्ट प्लाटफर्म अलिपे, क्यू क्यू वालेट तथा विच्याट पे जस्ता एपहरु पनि अब अमेरिकामा प्रतिबन्धित हुने छ।  

अमेरिकी राष्ट्रिय सुरक्षामा खलल पुग्ने भन्दै ट्रम्पले उक्त आठ वटा एपहरुमाथि बन्देज लगाउने निर्देशनमा हस्ताक्षर गरिसकेका छन्। यो प्रतिबन्ध आगामी ४५ दिनपछि मात्र लागू हुने बिबिसीले जनाएको छ।

ती एपहरुले अमेरिकीहरुमाथि ट्रयाक गर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै बन्देज लगाइएको भनिएको छ।

डोनाल्ड ट्रम्पले ह्वाइट हाउस छाड्नुअघि यी एपहरुमाथि प्रतिबन्ध लगाउने निर्णय लिएका हुन्।

यस अन्तर्गत टेन्सेन्ट क्यू क्यू, क्याम स्क्यानर, शेयर इट, भि मेट तथा डब्लु पिएस अफिस जस्ता एपहरु पनि प्रतिबन्धित हुनेछन्।

'अमेरिकाले आफ्नो राष्ट्रिय सुरक्षालाई ध्यानमा राख्दै ती र त्यस्ता सफ्टवेयरमाथि आक्रामक रूपमा एक्सन लिनुपर्छ, जुन चिनियाँ नियन्त्रण वा सञ्जालमा जोडिएको हुन्छ।'- राष्ट्रपति ट्रम्पको निर्देशनमा भनिएको छ- 'ब्यक्तिगत विद्युतीय उपकरणहरु जस्तै स्मार्ट फोन, ट्याबलेट तथा कम्प्युटरहरुमा जोडिएका चिनियाँ सफ्टवेयरहरुले प्रयोगकर्ताबाट सूचना लिनुका साथै व्यक्तिगत र संवेदनशील सूचनाहरु पनि लैजान्छ।'

ट्रम्प प्रशासनको यो कदमले चिनियाँ कम्पनीहरुमाथि भने निकै दवाब सिर्जना भएको छ। यसअघि नै अमेरिकामा हुवावे तथा टिकटक प्रतिबन्धित छ।