BIZMANDU
www.bizmandu.com

१०० अंकको उतारचढावबीच ३० अंकले बढेर बन्द भयो बजार, पौने ७ अर्ब रुपैयाँको कारोबार

२०७७ पुष ६

काठमाडौं। सोमबार नियमित कारोबार सुरु भएदेखि दिनको आधा अवधि बित्दासम्म ठूलो उतारचढाव देखिएको सेयर बजार अन्तत ३० अंकले बढेर बन्द भएको छ ।

Tata
GBIME
Nepal Life

आज सुरुआती १० मिनेटभित्रै करिब ६० अंकले बजार घट्दा नकारात्मक सर्किटको बाटोमा गएको बजार साढे ३ प्रतिशतसम्मले घटिसकेको थियो। तर एक घण्टापछि भने बजार एकाएक हरियो भएको थियो।

उक्त वृद्धिलाई बजारले धेरै बेर थेग्न सकेन र १५ मिनेटभित्रै बजार फेरि रातो भयो । नियमित कारोबार सुरु भएको दुई घन्टापछि अर्थात् १ बजेपछि भने बजार फेरि उकालो लागेको थियो।

यसरी सुरुको केही मिनेटभित्रै ६० अंकसम्मले तल झरेको बजार पुनः ४० अंकसम्ममाथि पुग्दा सेयर बजारमा एकै दिन सय अंकको उतारचढाव देखिएको हो। यससँगै कारोबारको अन्तिम समयमा पुग्दा बजार ३० अंकको बृद्धि सहित बन्द भएको छ।

यसअघि साताको पहिलो कारोबार दिन आइतबार भने सेयर बजार ९६ अंकले घटेको थियो।

उतारचढावपूर्ण आइतबारको सेयर बजारमा नेपाल लाइफ र नेपाल पुनर्बिमा कम्पनीको सर्वाधिक कारोबार भएको छ। नेपाल लाइफको ७२ करोड रुपैयाँको सेयर किनबेच हुँदा पुनर्बीमा कम्पनीको ५७ करोड, एनआईसी एसिया बैंकको ४४ करोड, नबिल बैंकको ३१ करोड र हिमालयन डिष्टिलरीको २७ करोड रुपैयाँको सेयर किनबेच भएको छ।

एक समय सबै उपसूचक रातो भएको बजारमा अन्तिम समयमा पुग्दा व्यापार, होटल र म्याचुअल फण्डबाहेक सबै उपसूचक हरियो भएका छन्। उत्पादन र जीवन बीमा समूह सर्वाधिक बढेको छ।

यस्तै, आजको कारोबारको कुनै समय पाँचवटा कम्पनीबाहेक सबै कम्पनीको सेयर मूल्य घटेकोमा बजार बन्द हुँदा भने १२३ कम्पनीको मूल्य बढेको छ। १४ कम्पनीको सेयर मूल्य स्थिर रह्यो भने ३८ वटा कम्पनीको मूल्य घटेको छ।

सोमबार २०२ वटा कम्पनीको एक करोड २३ लाख कित्ता सेयर ६ अर्ब ७० करोड रुपैयाँमा किनबेच भएका छन्। अघिल्लो दिन आइतबार भने ९ अर्ब रुपैयाँबराबरको एक करोड ४० लाख कित्ता सेयर किनबेच भएका थिए।