वर्ष २०२० माथि कोरोना भाइरस महाव्याधि हाबी भयो, र संसारभरका साढे सात अर्ब मानिसकै जनजीवनलाई यसले प्रभावित गर्यो। सँगै, अधिकांशको खल्तीमा पनि यो महाव्याधिले कुनै न कुनै रूपमा असर गरेको छ। तर 'मेगा-रिच' हरुका लागि भने यसको प्रभाव कस्तो रह्यो त ?
यो एक वर्षमा केही अति धनीहरुले अविश्वनीयरूपमा कमाएका छन् भने केहीको खुद सम्पत्तिले गहिरो डुबुल्की मारेको छ। सूचना प्रविधिसँग जोडिएका व्यावसायहरु संचालन गर्ने उद्यमीहरुले कोभिड-१९ ले सिर्जना गरेको संकटलाई पनि अवसरमा बदलेर ठूलो आम्दानी गर्न सफल भए भने तेल तथा अन्य कमोडिटी, रियल इस्टेट, भौतिक स्टोरमा आधारित फेशन ब्रान्डको व्यवसाय प्रभावित हुँदा यसका टाइकुनहरुले अर्बौं डलर यस वर्ष गुमाएका छन्।
'ब्लुमबर्ग बिलियनायर्स इन्डेक्स' का आधारमा यहाँ त्यस्ता अर्बपतिहरुबारे उल्लेख गरिएको छ, जसले एक वर्षमा सबैभन्दा धेरै कमाए र गुमाए। सन् २०२० को पहिलो दिनदेखि डिसेम्बर १४ सम्ममा कायम उनीहरुको सम्पत्तिको मूल्य अमेरिकी डलरमा मूल्यांकन गरेर यसको वृद्धि वा ह्रास गणना गरिएको हो।
• यी हुन् वर्ष २०२० मा सर्वाधिक कमाउने १५ खर्बपतिहरु (कमबाट धेरै रकम हुँदै):
गोह चेङ लिआङः +१७ अर्ब डलर
सन् २०२० मा सर्वाधिक कमाउने अर्बपतिहरुमा सिंगापुरका ९३ वर्षे धनाढ्य गोह चेङ लिआङ पनि परेका छन्। एक वर्षमा १७ अर्ब अमेरिकी डलरले नेट वर्थ बढाएका उनले जापानको निप्पोन पेन्ट्ससँग सन् १९६२ बाट सहकार्य थालेका थिए। तर त्यसअघि नै सिंगापुरमा पेन्ट्स उत्पादन गर्न सुरु गरिसकेका लिआङको निप्पोन पेन्ट्सले व्यावसाय विस्तारको क्रमलाई सन् २०१९ मा पनि जारी राख्दै अष्ट्रेलियाको सबैभन्दा ठूलो पेन्ट उत्पादक ड्युलक्स ग्रूप २.७ अर्ब डलरमा र टर्कीको बेटेक बोया २४.७ करोड डलरमा खरिद गर्यो।
थुप्रै व्यवसायहरुले टिक्नकै लागि संघर्ष गरेको वर्ष २०२० मा पनि निप्पोन पेन्ट्सको सेयर मूल्य गत जनवरीयता झन्डै दोब्बरले बढेको छ। यसले निप्पोनमा यी वृद्ध अर्बपतिको स्वामित्वको मूल्य १७ अर्ब डलरले बढेपछि २८.२ अर्ब डलर पुगेको छ।
सर्जी ब्रिनः +१८ अर्ब डलर
गुगलको प्यारेन्ट कम्पनी अल्फाबेटका सहसंस्थापक तथा पूर्वअध्यक्ष सर्जी ब्रिनको सम्पत्ति यस वर्षको सुरुआतदेखि अहिलेसम्ममा १८ अर्ब डलरले बढेर ८०.७ अर्ब डलर पुगेको छ। यसको प्रमुख कारण यस टेक जाइन्टमा उनको सेयरका कारण नै हो, जसको मूल्यांकन यो वर्षको सुरुआत (जनवरी १८) मा नै १० खर्ब (१ ट्रिलियन) डलर पुगेको थियो। ब्लुमबर्गका अनुसार अहिले यसको मूल्य १२ खर्ब डलर पुगिसकेको छ।
गत वर्षको दोस्रो त्रैमासको तुलनामा यस वर्षको समान अवधिमा अल्फाबेटको आम्दानी २ प्रतिशतले खुम्चिएको भए पनि तेस्रो त्रैमासमा भने यसको व्यवसाय पुनः लयमा फर्किएको देखिएको छ। यस त्रैमासमा यसको आम्दानी सन् २०१९ को तुलनामा १४ प्रतिशतले बढ्दै ४६.२ अर्ब डलर पुगेको बताइन्छ।
जे वाई लीः +१८ अर्ब डलर
घूस काण्ड, अकाउन्टिङ फ्रड, सेयर मूल्यमा हेरफेर लगायतका विभिन्न स्क्यान्डलहरुमा सामेल हुनुका बाबजुद सामसङ इलेक्ट्रोनिक्सका उत्तराधिकारी जे वाई लीसँग २०२० मा १८ अर्ब डलरबराबरको सम्पत्ति थपिएको छ। दक्षिण कोरियाका पूर्वराष्ट्रपतिलाई घूस दिएको प्रमाणित भएपछि २०१७ फेब्रुअरीमा पक्राउ गरेर हिरासतमा लिइएका लीलाई पाँच वर्षको जेल सजाय भएको थियो। यद्यपि त्यसलाई २०१८ फेब्रुअरीमा साढे दुई वर्षमा झारिएको थियो। यसबाहेक पनि गत अक्टोबरमा अकाउन्टिङ फ्रड र सेयर मूल्यमा हेरफेरको अपराधमा सोल सेन्ट्रल डिस्ट्रिक्ट कोर्टमा उनीविरुद्ध सुनुवाई अघि बढेको छ। यदि यसमा दोषी भेटिए कुल २४.८ अर्ब डलरका मालिक लीले थप जेल सजाय भोग्नु पर्नेछ।
मुकेश अम्बानीः +१८.१ अर्ब डलर
भारतका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीले यो वर्षको जनवरीयता १८.१ अर्ब डलरले आफ्नो सम्पत्ति बढाएका छन्। बहुराष्ट्रिय व्यापारिक घराना रिलायन्स इन्डष्ट्रिजका अध्यक्ष अम्बानीको कम्पनीको मूल्यांकन बढ्दा उनको व्यक्तिगत सम्पत्तिको मूल्य पनि बढेर ७६.७ अर्ब डलर पुग्दा उनी विश्वकै १० सर्वाधिक धनाढ्यमध्ये दरिएका छन्।
ल्यारी पेजः +१८.७ अर्ब डलर
'एस एण्ड पी ५००' र 'डाउ जोन्स' स्टक मार्केटका लागि कालो दिन भनिएको ९ मार्च २०२० को एकैदिन ४.२ अर्ब डलरबराबरको नेट वर्थ गुमाएका ल्यारी पेजको सम्पत्ति यसका बाबजुद वर्षभरमा १८.७ अर्ब डलरले बढेर कुल ८३.३ अर्ब डलर पुगेको छ। गुगलको प्यारेन्ट कम्पनी अल्फाबेटमा सबैभन्दा ठूलो सेयर हिस्सा भएका पेज गत वर्ष डिसेम्बरमा सुन्दर पिचाईलाई पद छोड्नुअघि कम्पनीका सीइओसमेत थिए।
स्टिभ बालमरः +१९.२ अर्ब डलर
माइक्रोसफ्टका प्रमुख सेयरधनी तथा पूर्व प्रमुख कार्यकारी अधिकृत स्टिभ बालमर पछिल्लो एक वर्षमा थप १९.२ अर्ब डलरले धनी भएका छन्। यससँगै उनीसँग अहिले ७७.३ अर्ब डलर बराबरको खुद सम्पत्ति छ। कोभिड-१९ तथा यसका कारण विश्व लकडाउनमा कैद हुँदा माइक्रोसफ्टको भिडियो कन्फरेन्सिङ टुलहरु 'टिम्स' र 'स्काइप' व्यापकरुपमा सफल भएपछि कम्पनीको सेयर मूल्य यो वर्ष ऐतिहासिक उचाइमा पुगेको छ। यसले गर्दा पनि बालमरको सम्पत्तिमा वृद्धि भएको हो।
पोनी माः +२० अर्ब डलर
चीनमा सर्वाधिक लोकप्रिय र सर्वाधिक प्रयोग हुने एप विच्याट लगायतको संचालक चिनियाँ टेक जायन्ट टेनसेन्टका अध्यक्ष तथा प्रमुख सेयरधनी पोनी माका लागि कोभिड-१९ वर्ष ठूलो फलिफाप बनेको छ। महाव्याधि र लकडाउनले टेनसेन्टको सोसल मिडिया एप विच्याटको प्रयोग झन् व्यापक हुँदा माको सम्पत्ति यो वर्ष २० अर्ब डलरले बढेर ५८.३ अर्ब डलर पुगेको छ।
गौतम अदानीः +२१.१ अर्ब डलर
भारतको अदानी ग्रुपका संस्थापक तथा अध्यक्ष गौतम अदानीको सम्पत्ति सन् २०२० मा २१.१ अर्ब डलरले बढ्यो। यससँगै उनको खुद सम्पत्ति ३२.४ अर्ब डलर पुगेको छ। गत सेप्टेम्बरमा अदानीले मुम्बई इन्टरनेशनल एयरपोर्टको अधिकांश (बहुमत) सेयर किनेको थियो।
बन्दरगाह, ऊर्जा, तेल र रियल इस्टेट व्यवसायमा रहेको भारतको अदानी ग्रुप ५ सय अर्बभन्दा माथिको मूल्यांकन भएको व्यापारिक घराना हो। यो वर्ष थुप्रै व्यवसायहरु कोभिड-१९ का कारण संचालनमा संघर्ष गर्दा अदानी ग्रुपको भने सेयर मूल्य दोब्बरभन्दा बढीले वृद्धि भएको छ। यसको ठूलो लाभ गौतम अदानीलाई मिलेको हो।
म्याकेन्जी स्कटः +२२.८ अर्ब डलर
अमेजनका संस्थापक तथा सीइओ जेफ बोजेससँगको सम्बन्ध विच्छेदसँगै कम्पनीको ४ प्रतिशत सेयर स्वामित्व पाएकी म्याकेन्जी स्कटले पछिल्लो चार महिनामा चार अर्ब डलरभन्दा बढी दान गरिसकेको भए पनि उनको नेट वर्थ गत जनवरीयता २२.८ अर्ब डलरले बढेर ५९.९ अर्ब डलर पुगेको छ। उनी विश्वकी सबैभन्दा धनी महिला पनि हुन्।
महाव्याधिले इ-कमर्स र क्लाउड कम्प्युटिङ जायन्ट अमेजनको बिजनेस व्यापक लोकप्रिय हुँदा यसको सेयर पनि एक वर्षयता लगानीकर्ताहरुले सर्वाधिक माग गरेको स्टकमध्ये बनेको छ। उच्च माग रहँदा अमेजनको सेयर मूल्य एक वर्षमा ह्वात्तै आकाशिएको छ। यसको लाभ कम्पनीका सबै सेयरधनीलाई मिल्दा म्याकेन्जी स्कटको पनि सम्पत्ति झन्डै २३ अर्ब डलरले बढेको हो।
मार्क जुकरवर्ग: +२५.३ अर्ब डलर
महाव्याधिले सोसल मिडियाको प्रयोग अहिलेसम्मकै उच्चतम हुँदा फेसबुकसहित ह्वाट्स एप, इन्स्टाग्राम लगायतको स्वामित्व रहेको फेसबुक इंकको सेयर मूल्य करिब ११ प्रतिशतले बढेको छ। त्यससँगै २५.३ अर्ब डलरले बढेको यसका संस्थापक मार्क जुकरवर्गको सम्पत्ति १०४ अर्ब डलरको पुगेको छ।
ड्यान गिलबर्ट: +२७ अर्ब डलर
अर्बपतिहरुको सूचीमा त्यति धेरै नसुनिने नाम ड्यान गिलबर्ट वर्ष २०२० मा सबैभन्दा धेरैले आफ्नो सम्पत्ति बढाउनेमध्ये परेका छन्। मोर्टगेज कम्पनी क्विकन लोन्सका संस्थापक गिलबर्टले गत अगष्ट ६ मा आफ्नो कम्पनीलाई पब्लिक बनाएर सेयर बिक्री गरेका थिए। जसले उनको व्यक्तिगत सम्पत्ति पनि एक वर्षमै २७ अर्ब डलरले बढाउन मद्दत गरेको छ। एनबीए टिम क्लिभल्यान्ड क्याभेलियरसमेतका मालिक उनीसँग डेट्रोइटमा रहेको रियल इस्टेट लगायतको सम्पत्ति गरी कुल ३४.२ अर्ब डलरको नेट वर्थ पुगेको जनाइएको छ।
कोलिन हुआङ जेङ: +३२.४ अर्ब डलर
माइक्रोसफ्टको इन्टर्नका रूपमा करियर सुरु गरेका कोलिन हुआङ विश्वका अग्रणी धनाढ्यहरुलाई आश्चर्यचकित पार्दै अर्बपतिहरुको सूचीमा रफ्तारमा उक्लिँदै गरेका चिनियाँ मूलका युवा उद्यमी हुन्। एक वर्षमै उनको सम्पत्ति ३२.४ अर्ब डलरले बढाएका छन्।
चीनका साथै विश्वमै सबैभन्दा ठूलो अन्तरक्रियात्मक इ-कमर्स प्लेटफर्म मानिएको पिनडुओडुओका संस्थापक तथा सीईओ हुवाङले यो कम्पनी भने केमेन आइल्याण्डमा स्थापना गरेका हुन्। यसबाहेक पनि उनी केमेनस्थित सीमित दायित्वका (प्रालि) अन्य तीन कम्पनीका मालिक हुन्। ती तीनवटै कम्पनीको पीनडुओडुओमा ७.७/७.७ प्रतिशत स्वामित्व रहेको छ। माइक्रोसफ्टपछि गुगलमा समेत काम गरेका हुवाङको भाग्य चम्किएको भने पीनडुओडुओ स्थापनापछि नै हो। हाल उनको सम्पत्ति ५२ अर्ब डलर बराबरको रहेको मूल्यांकन गरिएको छ।
झोङ शानशानः +५५.२ अर्ब डलर
पूर्वपत्रकार समेत रहेका चिनियाँ अर्बपति झोङ शानशान पछिल्लो एक वर्षमा तेस्रो सबैभन्दा धेरैले सम्पत्ति बढ्ने व्यक्ति बनेका छन्। सन् २०२० मा उनको सम्पत्ति ५५.२ अर्ब डलरले बढेपछि उनी चीनका समेत तेस्रो धनाढ्यमा उक्लिए।
बोतलको पिउने पानी उत्पादन गर्ने कम्पनी नोङ्फु स्प्रिङका संस्थापक झोङसँग यस कम्पनीको बहुमत सेयर छ। उनले गत सेप्टेम्बरमा हङकङ स्टक एक्सचेन्जमा सूचीकृत गर्ने गरी आईपीओ जारी गरेका थिए। सोपछि कम्पनीको सेयर मूल्य ८५% ले बढिसकेको छ।
झोङसँग यसबाहेक कोभिड-१९ परिक्षण किट बनाइरहेको कम्पनी बेइजिङ वानताई बायोलोजिकल फार्मेसी इन्टरप्राइजको पनि स्वामित्व छ। महाव्याधिमा यसको व्यापारिक सफलताका साथै नोङ्फु स्प्रिङको सेयर मूल्यवृद्धिले नै झोङको सम्पत्तिले एक वर्षमै ५५.२ अर्बको ठूलो फड्को मार्न मद्दत गरेको हो। यससँगै उनको खुद सम्पत्ति अहिले करिब ७० अर्ब डलरको रहेको अनुमान छ।
जेफ बेजोस: +६७.९ अर्ब डलर
विश्वकै धनाढ्य जेफ बेजोस २०२० मा दोस्रो सर्वाधिक रकमले सम्पत्ति वृद्धि हुने व्यक्ति हुन्। कोभिड-१९ ले घरबाटै इन्टरनेटमार्फत किनमेल गर्ने प्रवृत्ति व्यापक बढ्दा यसको प्रत्यक्ष लाभ अमेजनलाई आफ्नो आम्दानीमा मिलेको छ। आम्दानीको सोझो प्रभावले लगानीकर्ताको विश्वास जित्दा अत्यधिक माग भएको यसको सेयरको मूल्य प्रतिसेयर ३५०० डलर हाराहारीको रेकर्ड उचाइसम्म पुग्यो। अहिले पनि यसको मूल्य ३१०० डलर छ।
यससँगै इ-कमर्स तथा क्लाउड कम्प्युटिङ जायन्ट अमेजनका संस्थापक तथा सीईओ बेजोसको सम्पत्ति एक वर्षमै ६७.९ अर्ब डलरले बढेर अहिले १८३ अर्ब डलर बराबर छ। गत अक्टोबरमा उनको सम्पत्तिको मूल्य २०० अर्ब डलर नाघेको थियो।
एलन मस्कः +१२० अर्ब डलर
आफ्नै कम्पनीको सेयर मूल्यमा नै धक्का लाग्ने किसिमले ट्विटहरु गर्नुका बाबजुद विद्युतीय कार उत्पादक टेस्लाका संस्थापक एलन मस्कको सम्पत्तिमा यो वर्ष भएको वृद्धि ऐतिहासिक मात्र नभएर संसारलाई नै आश्चर्यचकित पार्ने आँकडामा छ। मस्कले गत मेमा टेस्लाको सेयर मूल्य अत्यधिक भएको भनि ट्विट गर्दा कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको थियो। उनले त्यसबाहेक पनि विवादित ट्विटहरु गरे। तथापि उनको कम्पनीको सेयर मूल्य समग्रमा अत्यधिक आकाशिदा उनको सम्पत्ति यो वर्ष १२० अर्ब डलरले बढेको छ।
स्पेस एक्स र द बोरिङ कम्पनी लगायतका समेत संस्थापक मस्कले यो वर्ष भेन्टिलेटर र पीपीई जस्ता स्वास्थ्य सामग्रीहरुको समेत उत्पादन थाले। नियमित बिजनेस भर्टिकलबाट बिल्कुलै अलग गएर पनि नयाँ काम थाल्ने आँट र जोखिम मोल्ने क्षमता भएका उद्यमी मानिने मस्क गत नोभेम्बर २४ मा लुइ(स) भिटनका अध्यक्ष बर्नार्ड आर्नल्टलाई उछिन्दै विश्वका दोस्रो सर्वाधिक धनाढ्य व्यक्तिमा उक्लिएका थिए। मस्कसँग अहिले १४८ अर्ब डलर बराबरको सम्पत्ति छ।
• २०२० मा सर्वाधिक गुमाउने १० धनाढ्यहरु (कमबाट धेरै रकम हुँदै):
वारेन बफेटः -३.५८ अर्ब डलर
संसारकै सबैभन्दा सफल लगानीकर्तामध्येका वारेन बफेटका लागि भने सन् २०२० त्यति फलदायी रहेन। उनको कम्पनी बर्कशायर हाथवेले खासगरी धितोपत्रमा लगानी गर्छ। कोरोना भाइरसले धेरै प्रभावित क्षेत्रहरु (वायुसेवा) का साथै कमजोर प्रदर्शनी रहेका अन्य स्टकहरु बर्कशायरले तीव्ररुपमा अफलोड (बिक्री) गरेको थियो। जसले गर्दा गत जनवरीदेखि २३ मार्चसम्म आइपुग्दा वर्कशायर हाथवेको प्रतिसेयर मूल्य एक लाख डलरसम्मले घटेको थियो।
उक्त विन्दुबाट हालसम्म आइपुग्दा कम्पनीको सेयर मूल्य पुनः लयमा फर्किसकेको छ। यद्यपि, कम्पनीका सीईओ तथा अध्यक्ष बफेटले आफ्नो खुद सम्पत्तिबाट गत जनवरीयता ३.५८ अर्ब डलर बराबर गुमाएका छन्। यसका बाबजुद बफेटसँग अझै पनि ८५.७ अर्ब डलर बराबरको सम्पत्तिका साथ विश्वका चौथो धनी व्यक्ति हुन्।
भगित एलेकपेरोभः -३.८८ अर्ब डलर
अजरबैजानी-रसियन अर्बपति तथा रसियन तेल कम्पनी ल्युकआयलका अध्यक्ष भगित एलेकपेरोभको व्यवसाय रहेको क्षेत्र पनि कोरोना भाइरस महाव्याधिबाट नराम्री थलिएको क्षेत्र हो। उनको कम्पनीले वर्षको पहिलो त्रैमासमै ६१.१ अर्ब डलरको घाटा व्यहोरेको थियो। त्यसलाई वर्षभर थेगेर सकारात्मक वृद्धिमा लैजान नसक्दा ल्युकआयलले मात्र नभएर यसका अध्यक्ष एलेकपेरोभको पनि खुद सम्पत्तिमा ह्रास आयो। एलेकपेरोभले यस वर्ष ३.८८ अर्ब डलरबराबर गुमाउँदा सम्पत्ति १८.४ अर्ब डलरमा झरेको छ।
ह्यारोल्ड ह्याम: -४.३४ अर्ब डलर
इनर्जी टाइकुन तथा फ्र्याकिङका पायोनियर ह्यारोल्ड ह्याम पैसा कमाउने लत भएका व्यक्तिका रूपमा समेत चिनिन्छन्। गुमाएको रकम कुनै पनि हालतमा पुनः आर्जन गर्न सक्ने क्षमताका मानिने यी अर्बपतिको पनि कोरोना भाइरस महाव्याधिको अघि कुनै जोड चलेन। कोभिड-१९ प्रभावले विश्वभर भएको लकडाउनले तेलको खपतका साथै मूल्य ऐतिहासिक रूपमा ओरालो लाग्दा ह्याम आफूले स्थापना गरेको तेल उत्पादक कम्पनी कन्टिनेन्टल रिसोर्सेसको उत्पादन परिमाण घटाउन बाध्य भए। यसबाट उनको कम्पनीको आम्दानीका साथै सेयर मूल्यमा ठूलो असर पर्यो, जसले गर्दा ह्यामको खुद सम्पत्ति यो वर्ष ४.३४ अर्ब डलरले घट्यो।
सन हङबिनः -५.१ अर्ब डलर
चीनका ठूला रियल इस्टेट कम्पनीमध्येको सनेक चाइना होल्डिङका संस्थापक तथा अध्यक्ष सन होङबिनले कोरोना भाइरस महाव्याधिका कारण यस व्यवसायमा ठूलो असरको सामना गर्नुपर्यो। गत जनवरीयता कम्पनीको सेयर मूल्य झन्डै आधाले झर्दा होङबिनको व्याक्तिगत सम्पत्ति पनि ५.१ अर्ब डलरले घटेर ७.३४ अर्ब डलरमा ओर्लिएको छ।
शेल्डन एडेल्सनः -५.२६ अर्ब
कोरोना भाइरस महाव्यधिले सर्वाधिक असर गरेको पर्यटन र यससँग जोडिएका रिक्रिएसन व्यवसायहरु पनि हुन्। यही प्रकृतिको क्यासिनो र ग्याम्बलिङ क्षेत्रका व्यवसायहरु यस वर्ष महिनौंसम्म बन्द हुँदा ठूलो नोक्सानी खेपेका छन्। क्यासिनो र ग्याम्बलिङ संचालक अमेरिकी कम्पनी लस भेगास स्यान्डको आम्दानी पनि यही कारण वर्षको पहिलो त्रैमासमा ५१% ले खस्कियो भने अरु त्रैमासमा पनि त्यति राम्रो गर्न सकेन। यसले गर्दा कम्पनीका सीईओ तथा अध्यक्ष रहेका ८७ वर्षीया अर्बपति शेल्डन एडेल्सनले यस वर्ष ५.२६ अर्ब रुपैयाँबराबर गुमाउँदा उनको नेट वर्थ ३३.३ अर्ब डलरमा झरेको छ।
चार्ल्स कोच र जुलिया फ्लेशर कोचः -५.५१ अर्ब डलर
अमेरिकी कम्पनी कोच इन्डष्ट्रिजका अध्यक्ष तथा सीईओ चार्ल्स कोचका साथै कम्पनीमा उनीबराबरकै हिस्सा रहेको उनकी बुहारी जुलिया फ्लेशर कोचको नेटवर्थ सन् २०२० मा ५.५१ अर्ब डलरले घटेको छ। पति डेभिड कोचको मृत्युपछि उनको स्वामित्वको सेयर जुलियामा हस्तान्तरण भएको हो। जुलिया र उनका तीन छोराछोरीहरको गरि कोच इन्डष्ट्रिजमा ४२% स्वामित्व छ।
कोच इन्डष्ट्रिजले पेट्रोलियम, केमिकल, इनर्जी, फाइबर इत्यादिको उत्पादन, रिफाइनिङ र वितरणका साथै कमोडिटी ट्रेडिङ लगायत दर्जन क्षेत्रमा लगानी विविधिकरण गरेको छ। कोभिड-१९ ले खपत व्यापकरूपमा घट्नुका बाबजुद उत्पादन लगभग यथावत हुँदा भण्डारण केन्द्रहरु भरिँदै गएकाले २०२० मा पेट्रोलियमको मूल्य अत्यन्त न्यून विन्दुमा झर्यो। यस्तै अन्य कमोडिटीहरुको पनि मूल्य लगातार ओरालो लाग्दा चार्ल्स र जुलिया फ्लेशर कोच दुवैले २०१९ डिसेम्बर अन्तिममा कायमभन्दा सम्पत्तिको मूल्य ५.५१/५.५१ अर्ब डलरले गुमाए भने यससँगै दुवैको खुद सम्पत्ति अहिले ५६.५/५६.५ अर्ब डलरमा झरेको ब्लुमबर्गले जनाएको छ।
हुइ का यानः -६.३१ अर्ब डलर
सन् २०२० मा मन्द बनेको एउटा व्यवसाय रियल इस्टेट पनि हो। यसको असरस्वरुप कम मूल्यका प्रोपर्टीहरु विकास तथा बिक्री गर्नेगरी सन् १९६१ मा एभरग्रान्ड ग्रुप स्थापना गरेका हङकङका अर्बपति हुइ का यानले यस वर्ष तेस्रो सर्वाधिक ठूलो धनराशीको क्षति व्यहोरेका छन्। हङकङमा ठूला व्यवसायमध्ये पर्ने रियल इस्टेटको कारोबार कोरोना भाइरस महाव्याधिका कारण खस्कँदा वर्षको पहिलो ६ महिनामा एभरग्रान्ड ग्रुपको आम्दानी ४६ प्रतिशतसम्मले घट्यो। जसका कारण ग्रुपले अपार्टमेन्टको बिक्री बढाउन छुटहरुको स्किम समेत ल्यायो, जुन हङकङको रियल इस्टेट बजारमा बिरलै देख्न पाइन्छ। यसरी रियल इस्टेट व्यापारमा मन्दी छाउँदा यानले वर्ष २०२० मा ६.३१ अर्ब डलरबराबर गुमाएका छन्।
थिम पार्क, मिनरल वाटर र हस्पिटलहरुमा समेत लगानि रहेको यानको एभरग्रान्ड ग्रुपले पछिल्लो समय टेस्लासँग प्रतिस्पर्धा गर्न भन्दै विद्युतीय कार उत्पादनमा पनि लगानी गरेको छ। यद्यपि विद्युतीय कारमा लगानी यो कदमले परिणाम देखाउन भने बाँकी नै छ। यो महत्त्वाकांक्षी योजना अघि बढाएका यानसँग अहिले २३.८ अर्ब डलरको सम्पत्ति छ।
कार्लोस स्लिम हेलुः – ६.६१ अर्ब डलर
विश्वका सर्वाधिक धनाढ्यको सूचीमा पहिलो नम्बरमा समेत रहिसकेका मेक्सिकन दूरसंचार टाइकुन कार्लोस स्लिम हेलुले वर्ष २०२० मा झन्डै सात अर्ब डलर गुमाएका छन्। ल्याटिन अमेरिकाको सबैभन्दा ठूलो मोबाइल सेवा प्रदायक कम्पनी 'अमेरिका मोविल' को सेयर मूल्य यस वर्षभरि नै उतारचढावपूर्ण रहँदा उनको नेट वर्थ समग्रमा गत वर्षको भन्दा ६.६१ अर्ब डलरले घटेर ५३.६ अर्ब डलरमा झरेको छ।
अमान्सियो ओर्टेगाः – ८.१ अर्ब डलर
स्पेनिस रिटेल म्याग्नेटसमेत भनिने अमान्सियो ओर्टेगाले यस वर्ष सबैभन्दा ठूलो नोक्सानी व्यहोरेका छन्। अन्य अर्बपतिले १२० अर्ब डलरसम्मले आफ्नो खुद सम्पत्ति बढाउँदा ओर्टेगाले भने गत वर्षको अन्त्यमा कायम आफ्नो सम्पत्तिबाट समेत २०२० मा ८.१ अर्ब डलर गुमाएका छन्। यसका बाबजुद अझै पनि उनीसँग ६७.४ अर्ब डलर बराबरको सम्पत्ति बाँकी नै छ। कोभिड-१९ महाव्याधिका कारण विश्वभर भौतिक स्टोरहरु बन्द हुन बाध्य भएको मार जारा, म्यासिमो डुट्टी जस्ता विश्वप्रसिद्ध फेसन ब्रान्डको कयौं चेनसमेत संचालन गरेको उनको कम्पनी इन्डिटेक्स ग्रुपले पनि खेप्नुपर्दा यसको व्यवसायिक आम्दानीका साथै सेयर मूल्यमा समेत परेको असरले ओर्टेगाको सम्पत्तिमा ठूलो ह्रास आएको हो।