BIZMANDU
www.bizmandu.com

एक करोड लागतमा अर्घाखाँची सिमेन्टले स्वास्थ्य केन्द्र बनाउने, ५ शय्याको अस्पताल संचालन हुने

२०७७ मंसिर २२

एक करोड लागतमा अर्घाखाँची सिमेन्टले स्वास्थ्य केन्द्र बनाउने, ५ शय्याको अस्पताल संचालन हुने
एक करोड लागतमा अर्घाखाँची सिमेन्टले स्वास्थ्य केन्द्र बनाउने, ५ शय्याको अस्पताल संचालन हुने

Tata
GBIME
Nepal Life

काठमाडौं। अर्घाखाँची सिमेन्टले रुपन्देहीको सियारी गाउँपालिका-२ मा स्वास्थ्य केन्द्र निर्माण गर्ने भएको छ। एक करोड रुपैयाँ लागतमा मैनहियामा बन्न लागेको स्वास्थ्य केन्द्रको कृषिमन्त्री घनश्याम भुसालले शिलान्यास गरे।

सो भवनमा सियारी गाउँपालिकाले पाँच शय्याको अस्पताल संचालन गर्नेछ। उद्योगका निर्देशक राजेशकुमार अग्रवालले व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत स्थानीय क्षेत्रमा स्वास्थ्य केन्द्र स्थापना गर्न लागेको बताए।

'यस क्षेत्रमा उद्योग सञ्चालन गरिरहँदा रोजगारीसँगै यहाँका स्थानीयको समस्या तथा दुःखमा पनि साथ र सहयोग गर्ने हाम्रो उद्देश्य रहेको छ,' अग्रवालले भने, 'तसर्थ, यस क्षेत्रमा स्वास्थ्य सेवाको अभावलाई पूरा गर्न स्वास्थ्य केन्द्र स्थापना गर्न लागेका हौं।' एक वर्षभित्र निर्माण सकेर स्वास्थ्य केन्द्र भवन उद्योगले गाउँपालिकालाई हस्तान्तरण गर्नेछ।

सियारी गाउँपालिकाका अध्यक्ष अयोध्या थारुले अर्घखाँची सिमेन्टले स्थानीयस्तरमा विभिन्न सहयोग गर्दै आएको बताउँदै स्वास्थ्य केन्द्रको अवधारणा नमुना भएको जानकारी दिए। उनले भने-'यस स्वास्थ्य केन्द्रलाई ५ शय्याको अस्पताल बनाउँदै यसै क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नेछौं।'

उद्योगले लुम्बिनी प्रदेश सरकारको कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषका लागि ५१ लाख रुपैयाँ तथा सियारी गाउँपालिकालाई दुई लाख रुपैयाँ बराबरको नगद सहयोग प्रदान गरेको थियो। उद्योगको चुनढुंगा खानी रहेको पाल्पास्थित दुई गाउँपालिका तिनाउ र माथागढीका विपन्न वर्गका घरपरिवारका लागि करिब २० लाख रुपैयाँ बराबरको राहत सामाग्री दिएको थियो।