BIZMANDU
www.bizmandu.com

चीनबाट कपडा नआउँदा स्वदेशी तयारी पोशाक उद्योग मालामाल, बन्छ नेपालमा, लेखिन्छ मेड इन चाइना’


चीनबाट कपडा नआउँदा स्वदेशी तयारी पोशाक उद्योग मालामाल, बन्छ नेपालमा, लेखिन्छ मेड इन चाइना’
चीनबाट कपडा नआउँदा स्वदेशी तयारी पोशाक उद्योग मालामाल, बन्छ नेपालमा, लेखिन्छ मेड इन चाइना’

Tata
GBIME
Nepal Life

काठमाडौं। कोरोना संक्रमणपछि चीनबाट सामान नआउँदा ४०/५० वटा मेसिन राखेर तयारी पोशाक बनाउने उद्योग मालामाल भएका छन्। 

कोरोनासँगै चीनमा समेत कामदार अभावले पाइन्ट, ज्याकेट, ट्रयाक सुट, हुडी लगायतका सामान नेपाल आएनन्। ती कपडा चीनबाट आउन नसकेपछि स्वदेशमै रहेका साना तयारी पोशाक उद्योगले बनाएर महाबौद्ध लगायतका होलसेल पसलमा बिक्री गरे। 

दसैं र तिहारमा महाबौद्ध लगायतका होलसेलमा बिक्री भएका ती कपडा ८० प्रतिशत स्वदेशमै बनेका थिए।

‘कोरोनापछि महाबौद्धमा बिक्री भएका अधिकांश कपडा नेपालमै फिटिङ भएका हुन्। चीनबाट कपडा र लेबल्स ल्याएर नेपालमै सिलाउने गरिएको छ,’ महाबौद्धका एक व्यापारीले भने, ‘पुमा, एडिडास, र्‍याङलर लगायतका ब्राण्ड हालेर बिक्री भइरहेको छ।’ ती कपडामा बन्छ नेपालमा तर लेखिन्छ- ‘मेड इन चाइना’, थाइल्याण्डदेखि हङकङसम्म लेखिएको हुन्छ।

ती व्यापारीका अनुसार नेपालमै बनेका कपडा दसैं र तिहारमा महँगो मूल्यमा बिक्री भए। ‘नेपालमै फिटिङ गरिएका कपडा भन्सार कम तिर्नुपर्छ। त्यसले मूल्य पनि कम पर्छ,’ उनले भने, ‘तर कोरोनाको कहरमा समेत ब्राण्डेड सामान भनेर महँगो मूल्यमा बिक्री भए। उद्योगी मात्रै होइन व्यापारी समेत मालामाल भए।’ 

उनका अनुसार चीनबाट ब्राण्डनै उल्लेख गरेर मगाउने कपडाको भन्सार पनि महँगो छ। तात्कालिन अर्थमन्त्री डा. युवराज खतिवडाले एडिडास, पुमा लगायतका ब्राण्डेड कपडा वा जुत्ताको भन्सार मूल्यांकन महँगो बनाएका थिए।

यतिबेला उपत्यका बाहिरका जिल्लाबाट बाक्ला कपडाको माग आइरहेको कामना ट्रेड लिंक सप्लायर्सका सञचालक मधुसुदन अधिकारीले बताए। 'माग पोहोर परारको जस्तो उच्च छैन, तर जति छ स्वदेशी उत्पादन बेच्न पाउने अवसर हो भन्नुपर्छ,' उनले भने, 'बाहिरबाट माल नआउँदा लोकल प्रोडक्टले बजार पाएको छ।'

गत वर्षसम्म स्वदेशी गार्मेन्ट ग्रन उत्पादन विदेश निर्यात लक्षित हुन्थ्यो। गुणस्तरीय र ब्राण्डेडका लुगा-कपडाहरु उत्पादन गरे पनि सामान्य खोट भएका वा कुनै अर्डर रद्द भएर स्टकमा रहेका माल मात्रै स्वदेशी बजारमा पठाउने गरेका थिए। 'यतिबेला उनीहरूको सबै प्रोडक्ट हाम्रै बजारमा छ, आयात गर्ने नपर्ने स्थिति छ,' उनले भने। 

स्वदेशी गार्मेन्टहरूमा जाडो कपडाको माग उच्च रहेको स्थानीय गार्मेन्ट संघका अध्यक्ष किशोर नेपालले बताएका छन्। 'दसैंमा पनि लोकल उत्पादनले बजार पाएको थियो। जाडो सुरु भएपछि उद्योगहरुमा व्यवसायीहरुको अर्डर आउन थालेको छ,' उनले भने। 

माग बढेसँगै व्यवसायीहरु उत्पादनको परिमाण र गुणस्तरण बढाउन लागिपरेको उनले बताए। 'यो वर्ष छिटै जाडो सुरु भयो, बाहिरको माल आउन पाएन,' उनले भने, 'त्यसैले लोकल प्रोडक्टले बजार पाएको छ।' 

बाक्ला लुगा तयार गर्न समय बढी लाग्छ। तर बजारको माग धान्नका लागि गार्मेन्टहरुले  दिनरात काम गरिरहेको उनले बताए। 'उत्पादन गरेको कपडा स्टक राख्न परेको छैन,' उनले भने।

जाडोका बाक्ला कपडाहरुको बजारमा मागका अनुपातमा गार्मेन्टहरुले अझै पनि पर्याप्त उत्पादन गर्न सकिरहेका छैनन्। चाडबाडमा घर गएका कामदार नफर्कँदा कतिपय गार्मेन्टमा जनशक्ति कम छन्। 'डिमान्डअनुसार सप्लाइ दिन कामदार पनि त चाहिन्छ। गाह्रो परेको छ,' थ्रोट  गार्मेन्टका सञ्चालक कृष्णराज तिमिल्सिनाले भने, 'थोरै जनशक्तिबाट काम लिनुपर्दा भ्याइनभ्याइ छ।' 

तयारी पोसाक उद्योगहरूले कच्चा पदार्थका रुपमा उपयोग गर्ने कपडा चीनबाटै आयात हुन्छ। आयात सहज नहुँदा कतिपय उद्योगले डिमान्डअनुसारको पोसाक बजारमा पठाउन नसकेको  उनले बताए। 

अर्का गार्मेन्ट संचालक राजु कार्कीका अनुसार जाडो सुरु भएयता बाक्ला कपडाको माग उच्च छ। 'बजारमा बाहिरबाट सजिलै सस्ता लुगा आइपुग्दा स्वदेशी उत्पादनको भाउ थिएन,' उनले भने, 'अहिले भाउ छ तर पर्याप्त सप्लाइ गर्न सक्ने क्षमता निकै कमको छ।'