BIZMANDU
www.bizmandu.com

वीरगंजबाट सोयाविन तेलको निकासी पाँच गुणाले बढयो, कात्तिकसम्म पौने ७ अर्ब निकासी

२०७७ मंसिर १२

वीरगंजबाट सोयाविन तेलको निकासी पाँच गुणाले बढयो, कात्तिकसम्म पौने ७ अर्ब निकासी
वीरगंजबाट सोयाविन तेलको निकासी पाँच गुणाले बढयो, कात्तिकसम्म पौने ७ अर्ब निकासी

Tata
GBIME
Nepal Life

वीरगंज। वीरगंज भन्सार नाकाबाट निकासी हुने सूचीको पहिलो नम्बरमा परेको छ, प्रशोधित सोयाविन तेल। गत वर्ष पहिलो सूचीमा थियो पाम तेल।

गत वैशाखमा भारतले नेपालबाट निर्यात हुने प्रशोधित पाममा प्रतिबन्ध लागेपछि वीरगंज–पथलैयाका तेल उद्योग सोयाविन तेल निकासीमा लागेका छन्। वीरगंज नाकाबाट चालु आवको साउनदेखि कात्तिक सम्म पोहोरको तुलनामा पाँच गुणाले सोयाविन तेलको निकासी बढेको वीरगंज भन्सारले जनाएको छ।

भन्सारका सूचना अधिकारी विमलकुमार साहका अनुसार चालु आवको प्रथम चौमासमा ६ अर्ब ८३ करोड मूल्य बराबरको ४८ हजार २ सय ८१ टन सोयाबिन तेल भारत निकासी भएको छ। गत आव २०७६/७७ को सोही अवधिमा १ अर्ब ३३ करोडको १० हजार ५१९ टन प्रशोधित सोयाविन तेल निर्यात भएको थियो। सबैभन्दा बढी सोयाविन तेल निकासी गर्ने नाका वीरगंजनै बनेको छ।

गत आवमा नेपालबाट १८ अर्ब ३१ करोडको पाम आयल निर्यात भएको थियो। निकासी भएको मध्ये वीरगंजबाट मात्रै ११ अर्ब ७२ करोडको निकासी भएको साहले बताए। अहिले १४ वटा तेल उद्योगले तेल निकासी गरिरहेका छन्। पाम आयलको निर्यात बन्द भएपछि वीरगंजको निम्बस, ओसिबी, अन्नपूर्ण भेजिटेबल्स एण्ड सप, नारायणी आयल रिफाइनरी, शिव शक्ति, गणपति, मुक्ति आयल लगायत उद्योगहरुले भटमासको सोयाविन तेल निकासी गरेका छन्।

वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले भने,‘पाम आयलको कारोबार बन्द भएपछि सोयाविन तेल निकासीले वीरगंजको तेल उद्योगीलाई राहत दिएको छ।’ वीरगंजका उद्योगीहरु विदेशबाट किनेर ल्याएको अर्ध प्रशोधित कच्चा तेल(क्रुड आयल)मा प्रशोधन गरी करिब ३० प्रतिशत भ्याट गरेर शून्य भन्सारमा यो तेल भारतको बिहार र उत्तरप्रदेश लगायत विभिन्न राज्यमा निर्यात भइरहेको छ।

भारतले सार्क मुलुक बाहेक विदेशबाट आयात गर्ने सोयाविन तेलमा साढे ३७ प्रतिशत भन्सार महसुल र तयारीमा ४५ प्रतिशत आयात शुल्क लाग्छ। भारतले आफ्नो तेल उद्योग र किसानलाई संरक्षण गर्ने उदेश्य अनुसार साफ्टा सम्झौता अनुसार नेपालबाट सोयाविन तेल आयात गरिरहेको छ भने विदेशबाट आयातमा उच्च आयात शुल्क राखेको छ।

नेपालका उद्योगीले भटमासको कच्चा तेल आयात गर्दा जम्मा १० प्रतिशत भन्सार शुल्क तिर्नु पर्छ। उद्योगीले अर्जेन्टिना, ब्राजिल, युक्रेन, इन्डोनेशिया लगायतका देशबाट भटमासको अर्ध प्रशोधित तेल ल्याउँछन्। भारतमा सोयाविन तेलको निर्यात बढेसँगै आयातमा पनि वृद्धि भएको छ। पछिल्लो ४ महिनामा विदेशबाट भटमासको कच्चा तेल करिब ७ अर्ब ४४ कराडको तेल आयात भएको छ।