BIZMANDU
www.bizmandu.com

अनलाइन प्रणाली लागु भएका मालपोत कार्यालयमा ढड्डा प्रणालीको अन्त्य, रोक्का फुकुवा पनि बैंकबाट

२०७७ मंसिर ९

Tata
GBIME
Nepal Life

काठमाडौं। भूमि व्यवस्थापन तथा अभिलेख विभागले अनलाइन प्रणाली लागु भएका १०८ वटा मालपोत कार्यालयमा दोहोरो श्रेस्ता राख्नुनपर्ने निर्णय गरेको छ।

यस अघि अनलाइनमा सबै डकुमेन्ट राखेर जग्गा किनबेच गरेपनि ढड्डामा पनि श्रेष्ता कायम गरेर दोहोरो काम गर्ने गरिएको थियो। यसले मालपोत कार्यालयमा सेवाग्राहीको भीड बढाएको थियो।

अनलाइनमा फोटो खिचेर बायोमेट्रिक औठाछाप लिइसकेपछि ढडामा पनि औठाछाप लगाउनु अनलाइन प्रणालीको भावना विपरित भएकोले मंसिर १० गतेदेखिनै लागु हुने गरि ढड्डामा छुट्टै श्रेष्ता कायम गर्नु नपर्ने निर्णय गरिएको भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक शेषनारायण पौडेलले जानकारी दिए।

मालपोत कार्यालयमा अहिले मोठ श्रेष्ताका लागि छुट्टै कर्मचारी चाहिन्छन्। कम्प्युटरमा इन्ट्री गरिएको विवरणलाईनै प्रिन्ट गरेर राख्दा पुग्ने भएपछि कर्मचारीको संख्या कम भएपनि पुग्ने पौडेलले बताए।

यस्तै विभागले रोक्का फुकुवाको लागि जग्गाधनी मालपोत कार्यालय आउनै पर्ने व्यवस्थाको पनि अन्त्य गरेको छ। 'फुकुवाको लागि भोलिदेखिनै बैंकका कर्मचारीले फुकुवा गर्न सक्छन्। जग्गा धनी आएर फुकुवा गरे भनेर सहिछाप गर्नु पर्दैन।' पौडेलले भने।

रोक्काको लागि भने विभागले सञ्चय कोषसँग मिलेर सफ्टवेयर निर्माण अन्तिम चरणमा पुगेकोले १ महिनाभित्र रोक्काको लागि पनि जग्गाधनीले मालपोत आउनुनपर्ने पौडेलले बताए।

विभागले बैंकमा जम्मा गरेको भौचरलाई मान्यता दिनुपर्ने निर्णय गरेको छ। यसअघि बैंकमा रकम जम्मा गरेको भौचर हुँदाहुँदै पनि मालपोत कार्यालयले आफ्नै नगद रसिद काट्ने गरेका थिए। यसका लागि पनि हरेक शाखामा छुट्टै कर्मचारी आवश्यक हुन्थे। यसबाट पनि कर्मचारी कटौती गर्न सकिने पौडेलले बताए।

कर्मचारी नभएर सेवाग्राहीले काम ढिलो भयो भनेर गुनासो गर्नुहुन्थ्यो। अव गुनासो गर्ने ठाउँ नै नरहने गरि सेवालाई थप प्रभावकारी बनाउने पौडेलले बताए।