BIZMANDU
www.bizmandu.com

रिलायन्स र फ्युचर ग्रुपको ३.४ अर्ब डलर डिललाई सीसीआईले दियो स्वीकृति,अमेजनका लागि टाउको दुखाई

२०७७ मंसिर ७

रिलायन्स र फ्युचर ग्रुपको ३.४ अर्ब डलर डिललाई सीसीआईले दियो स्वीकृति,अमेजनका लागि टाउको दुखाई
रिलायन्स र फ्युचर ग्रुपको ३.४ अर्ब डलर डिललाई सीसीआईले दियो स्वीकृति,अमेजनका लागि टाउको दुखाई

भारतीय प्रतिष्पर्धा आयोग (सीसीआई) ले दुई ठूला रिटेल जायन्ट फ्युचर ग्रुप र रिलायन्स रिटेलबीच ३.४ अर्ब अमेरिकी डलर बराबरको डिललाई स्वीकृति दिएको जनाएको छ। 

Tata
GBIME
Nepal Life

भारतीय वाचडग निकाय सीसीआईले यी दुईको डिललाई अनुमति दिएसँगै यो भारतमा साढे ६ अर्ब डलर लगानी गरिसकेको अमेरिकी ई-कमर्स ग्रुप अमेजनका लागि भने टाउको दुखाइ बनेको छ। 

अमेजनले गत वर्ष फ्युचर ग्रुप होल्डिङ कम्पनीअन्तर्गको 'फ्युचर कुपन'को ४९ प्रतिशत स्वामित्व किनेको थियो । फ्युचर कुपन 'फ्युचर रिटेल' अन्तर्गतकै सहायक कम्पनी हो। यसकारण पनि अमेजनले फ्युचर ग्रुपको रिलायन्स रिटेलसँगको डिललाई आफूसँगको सहमति विपरीतको इनसाइडर ट्रेडिङ भन्दै आपत्ति जनाउँदै आएको छ।

यतिमात्र नभएर फ्युचर ग्रुप र रिलायन्स रिटेलबीच डिलको खबर बाहिरिएसँगै अमेजन त्यसलाई रोक्न कानुनी लडाईंमै लागेको हो। फ्युचरले रिलायन्स रिटेलजस्तो प्रतिस्पर्धी फर्मलाई आफ्नो सम्पत्ति बिक्रीमा निषेध हुनेगरी फ्युचर कुपनसँग भएको सम्झौता उक्त डिलबाट फ्युचर ग्रुपले उलंघन गरेको अमेजनको आरोप छ।

यसैले यसलाई रोक्नका लागि अमेजनले यी दुईको डिल रोक्न भन्दै गत महिना सिंगापुर आर्बिट्रेसन कोर्टमा मुद्दासमेत दायर गरेको थियो। सोहीअनुरुप उक्त अदालतले तत्कालका लागि सो डिल रोक्न आदेश समेत दिएको थियो। त्यसले अमेजनलाई भारतीय रिटेल बजारको प्रमुख प्लेयर हुने आफ्नो महत्त्वकांक्षामा केही राहत मिल्यो।

तर सिंगापुर आर्बिट्रेसन कोर्टको आदेशका बाबजुद फ्युचर ग्रुप र रिलायन्स रिटेल दुवैले बिलम्ब नगरी डिल चाँडै टुंग्याउनका लाग काम गरिरहेको बताएका थिए।

सोपछि अमेजनले सीसीआई र भारतीय धितोपत्र विनिमय बोर्ड (सेबी) लाई पनि सिंगापुर आर्बिट्रेसन कोर्टको आदेशमाथि विचार गर्दै डिल रोक्नका लागि अनुरोध गरेको थियो। 

अमेजनको उक्त आग्रहविपरीत सीसीआईले शुक्रबार फ्युचर ग्रुप र रिलायन्स रिटेलले डिल टुंग्याउन सक्नेगरी स्वीकृति दिएको हो।

अर्कोतर्फ, फ्युचर ग्रुपले पनि अमेजनले आफूमाथि लगाएको आरोपको खण्डन गर्दै अमेजनसँगको सम्झौता रिलायन्ससँगको सम्झौताको हकमा मान्य नरहेको तर्क गरेको छ। साथै, रिलायन्ससँगको डिल रोकिँदा त्यसबाट दशौं हजार जनाको रोजगारी गुम्ने पनि जिकिर गरेको छ।

अमेजनले रिलायन्स र फ्युचरबीचको डिल नहोस् भनेर चाहनु र त्यसका लागि हरसम्भव जोडबल गर्नुको एउटै कारण रिलायन्स रिटेलसँग भारतको ११ खर्ब डलरको रिटेल मार्केटमा आफ्नो अधिपत्य स्थापित गर्ने महत्त्वकांक्षा हो। भारतीय अर्बपति मुकेश अम्बानी पनि यो सेगमेन्टमा आफ्नो रिटेल विङ्सको बजार हिस्सा गुम्न नदिइ भारतमा रिलायन्स रिटेललाई चीनको 'अलिबाबा' जस्तै बनाउन चाहन्छन्।

जसमा अहिले सबैभन्दा ठूलो हिस्सा रहेको रिलायन्स रिटेललाई यो सेगमेन्टमा अमेजनले निकट भविष्यमै कडा टक्कर दिन सक्ने आकलनमा नै मुकेश अम्बानीले आर्थिक समस्यमा परेको फ्युचर रिटेलसँग डिल गरेर आफ्नो रिटेल बिजनेस विङ्सलाई थप बलियो बनाउनतर्फ लागेका छन्। 

सोही योजनाअन्तर्गत नै रिटेल व्यवसायमा भारतीय बजार छिरेको अमेरिकी कम्पनी अमेजनसँग सहज प्रतिस्पर्धाका लागि आक्रामकरूपमा अघि बढ्न खोजिरहेका अम्बानीले फ्युचर ग्रुपको अपेरल, लाइफस्टाइल र ग्रोसरी सेगमेन्टका व्यवसायहरुको स्वामित्व खरिदको डिल गरेका हुन्।

हाल रिलायन्स रिटेलका कन्जुमर इलेक्ट्रोनिक्स, फेसन तथा लाइफस्टाइल र ग्रोसरी फर्म्याटमा भारतभर ११ हजार ७ सय ८४ स्टोरहरु रहेका छन्।

भारतको दोस्रो ठूलो रिटेल बिजनेस गर्ने फ्युचर ग्रुपले रिटेल भर्टिकलमा भारतका ४२० शहरमा विभिन्न व्यवसाय संचालन गरेको छ। यसबाट मात्र ग्रुपले वार्षिक ४.६ अर्ब अमेरिकी डलर आम्दानी गर्ने फोर्ब्सले उल्लेख गरेको छ। 

ग्रुपको रिटेल विङ्समा हाइपर मार्केट चेन 'बिग बजार', फुड रिटेलर 'फुड हल', कन्भेनियन्स स्टोर चेन 'इजीडे' इत्यादिका साथै 'एफबीबी' (फेसन बिग बजार), 'सेन्ट्रल' लगायतका ब्रान्डमा भारतभर १८०० चेन स्टोरहरु संचालित छन्।

यसको अधिग्रहणबाट रिलायन्स रिटेलले थप दुई खर्ब ६० अर्ब भारुको बिक्री बढाउने अनुमान गरिएको छ। यसबाट रिलायन्सले १८.९ खर्ब भारु बराबरको रिटेल एम्पायर खडा गर्ने र यो 'डी मार्ट' संचालन गर्ने यसको नजिकको प्रतिस्पर्धी एभेन्यु सुपरमार्ट्सभन्दा सात गुणा ठूलो भएको बताइएको छ।