काठमाडौं। बोटलर्स समूहको दुईवटा कम्पनी छ – बोटलर्स नेपाल (बालाजु) र बोटलर्स नेपाल (तराई)। बोटलर्स बालाजुको सहायक कम्पनी हो बोटलर्स तराई।
अहिले बोटलर्स नेपाल (तराई) को सेयर मूल्य निरन्तर उकालो लागेर प्रतिकित्ता मूल्य १० हजार रुपैयाँ हाराहारी पुगिसकेको छ। एक वर्षअघि प्रतिकित्ता ६ हजार रुपैयाँ रहेको बोटलर्स नेपाल तराईको सेयर मूल्य यो समाचार तयार पार्दासम्ममा करीब ४ हजार रुपैयाँले बढेर ९७४० रुपैयाँ पुगेको छ । यो भनेको पछिल्लो एक वर्षमा ६२ प्रतिशतको वृद्धि हो ।
माउ कम्पनी बालाजुको सेयर कारोबार १३ महिना अगाडि भएको थियो। तर, बालाजुको सहायक कम्पनीको सेयर कारोबार दोस्रो बजारमा निरन्तर भइरहेको छ।
अझ रमाइलो कुरा- बढी नाफा गर्ने माउ कम्पनीको भन्दा कम नाफा गर्ने सहायक कम्पनीको सेयर मूल्य धेरै नै माथि छ।
किन माउ कम्पनीलाई सहायक कम्पनीले उछिनिरहेको छ? यसको उत्तर खोज्न बोटलर्स समूहका दुवै कम्पनीको सेयर संरचना विश्लेषण गर्न आवश्यक छ।
माउ कम्पनी बालाजुको कुल चुक्ता पुँजी १९ करोड ४८ लाख ८८ हजार ७०० रुपैयाँ छ। अर्थात् कुल सेयर संख्या १९ लाख ४८ हजार ८८७ कित्ता।
यसमध्ये कोकाकोला साउथवेस्टसँग १४ लाख ८४ हजार ३०१ कित्ता (७६.१६%) सेयर छ। काल्सवर्ग र टुवर्गजस्ता बियर उत्पादन गर्ने गोर्खा ब्रुअरीसँग ४ लाख २८ हजार ७५५ कित्ता (२२%) सेयर छ। बाँकी १.८४ प्रतिशत अर्थात् ३५ हजार ८३५ कित्ता सेयर मात्र सर्वसाधारणमा छ।
बोटर्स तराईको कुल सेयर संख्या १२ लाख १० हजार कित्ता छ। यसको ९०.७८ प्रतिशत सेयर बोटलर्स बालाजुको हातमा छ। बाँकी रहेको ९.२२ प्रतिशत सर्वसाधारणमा छ। यो भनेको एक लाख ११ हजार ५६५ कित्ता हो।
मूल कम्पनीको तुलनामा सहायक कम्पनीको सेयर बजार धेरै छ। त्यसैले यसको सेयर किनबेच बजारमा भइरहन्छ।
वित्तीय विवरण हेर्ने हो भने माउ कम्पनी बालाजुको नाफा गत असोज मसान्तमा २ अर्ब ६२ करोड ६४ लाख रुपैयाँ छ। तराईको भने एक अर्ब ८६ करोड ७३ लाख रुपैयाँ छ। माउ कम्पनीको तुलनामा सहायक कम्पनीको व्यापारको आकार ठूलो छ। तर सहायक कम्पनी तराईको नाफाको ठूलो हिस्सा माउ कम्पनीमा जाने भएकाले उसको नाफा उच्च देखिएको हो।
.jpg)
गत वर्ष सहायक कम्पनी तराईले ४ अर्ब ७७ करोड रुपैयाँ नाफा गरेको थियो। जबकि, माउ कम्पनीको नाफा ६ अर्ब ९३ करोड रुपैयाँ थियो।
माउ कम्पनी बालाजुले पछिल्लो दुई वर्षयता सेयरधनीलाई केही पनि (लाभांस) दिएको छैन। त्यसअघि २० प्रतिशत नगद लाभांस दिएको थियो।
सहायक कम्पनी तराईले पनि गत वर्षको नाफाबाट केही दिएको छैन। तर त्यसअघि भने ४० प्रतिशत नगद लाभांस दिएको थियो।
माउ कम्पनीको सेयर कारोबार पछिल्लो पाँच वर्षमा मुस्किले पाँचपटक भएको छ। सहायक कम्पनी तराईको भने निरन्तर कारोबार भइरहेको छ। अहिलेको कारोबार मूल्य हालसम्मकै उच्च रहेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ।
बोटलर्स नेपाल तराईको सर्वसाधारणमा रहेको सेयरमध्ये सबैभन्दा बढी प्राइम लाइफ इन्स्योरेन्ससँग छ। कम्पनीसँग यसको ७४४० कित्ता सेयर छ। यसपछि एनएमबी हाइब्रिड फण्ड एल-१ सँग २६६२ कित्ता छ।
यस्तै, सिद्धार्थ इक्विटी फण्डसँग २५६० कित्ता सेयर छ। यसबाहेक शिखर इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स (नेपाल) र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२ सँग सेयर छ।
यसका बाबजुद समग्रमा बोटलर्स बालाजुसँग भएको बाहेक सर्वसाधारणसँग बोटलर्स नेपाल तराईको सेयर एक लाख १२ हजार कित्ताभन्दा पनि कम (९.२२ प्रतिशत) मात्र रहेकाले दोस्रो बजारमा यसको आपूर्ति मागभन्दा निक्कै कम छ । बजारमा यसको सेयर मूल्य लगातार उकालो लाग्नुको मुल कारण नै यही हो ।