BIZMANDU
www.bizmandu.com

सुक्खायाम सुरु भएसँगै घट्यो निजी क्षेत्रका आयोजनाको विद्युत उत्पादन, प्राधिकरणमा खेर जाँदै

२०७७ मंसिर ६

सुक्खायाम सुरु भएसँगै घट्यो निजी क्षेत्रका आयोजनाको विद्युत उत्पादन, प्राधिकरणमा खेर जाँदै
सुक्खायाम सुरु भएसँगै घट्यो निजी क्षेत्रका आयोजनाको विद्युत उत्पादन, प्राधिकरणमा खेर जाँदै


काठमाडौं। सुक्खायाम सुरु भएसँगै निजी क्षेत्रका जलविद्युत आयोजनाको विद्युत उत्पादन घट्न सुरु भएको छ।

Tata
GBIME
Nepal Life

वर्षायाममा पूर्ण क्षमतामा विद्युत उत्पादन गर्दा दैनिक १२/१३ हजार मेगावाट आवरसम्म ऊर्जा उत्पादन गर्दै आएका निजी क्षेत्रका आयोजनाबाट अहिले भने ९ हजार मेगावाट आवर हाराहारी मात्रै ऊर्जा उत्पादन भइरहेको छ।

निजी क्षेत्रसँग ‘टेक अर पे’ पीपीए गरेका कारण विद्युत प्राधिकरणले आफ्ना आयोजनाको विद्युत खेर फालेर पनि निजी क्षेत्रका आयोजनाको सबै विद्युत खपत गराउँदै आएको थियो। सुक्खायाम सुरु भएसँगै नदिमा पानीको सतह घट्दै गएकाले नदि प्रवाहमा आधारित निजी क्षेत्रका आयोजनाको उत्पादन पनि घट्न थालेको छ। निजी क्षेत्रको उत्पादन घट्दा प्राधिकरणले आफ्ना आयोजनाको विद्युत उत्पादन बढाएको छ।

बिगतमा दैनिक ६/७ हजार मेगावाट आवरसम्म मात्रै विद्युत उत्पादन गरिरहेको प्राधिकरणले यतिबेला निजी क्षेत्रकै जति विद्युत प्रणालीमा पठाइरहेको छ। विगतमा अधिकतम विद्युत माग हुँदा मात्रै प्राधिकरणले १०/११ हजार मेगावाट आवरसम्म ऊर्जा आपूर्ति गरेको थियो।

बिहीबार निजी क्षेत्रका आयोजनाबाट ९ हजार ७५९ मेगावाट आवर ऊर्जा आपूर्ति हुँदा प्राधिकरणका आयोजनाबाट ९ हजार २८० मेगावाट आवर ऊर्जा आपूर्ति गरिएको थियो। भारतबाट एक हजार ३९ मेगावाट आवर ऊर्जा आयात गरिएको थियो। २० हजार ७८ मेगावाट आवर ऊर्जा खपत हुँदा बिहीबार विद्युतको उच्चतम माग करिब ११ सय ९८ मेगावाट रहेको प्राधिकरणको तथ्यांक छ।

त्यस्तै शुक्रबार पनि निजी क्षेत्रका आयोजनाको उत्पादन थप घटेर ९ हजार ४९१ मेगावाट आवर मात्रै ऊर्जा उत्पादन हुँदा प्राधिकरणका आयोजनाबाट ८ हजार ४४३ मेगावाट आवर ऊर्जा उत्पादन गरिएको छ। शुक्रबार प्राधिकरणका आयोजनाको उत्पादन घट्नुको कारण भने खपत कम हुनु हो। 

शुक्रबारको विद्युत खपत १९ हजार ४० मेगावाट आवर मात्रै रहेको थियो। बिहीबार भने २० हजार ७८ मेगावाट आवर ऊर्जा खपत भएकाले प्राधिकरणले पनि ९ हजार मेगावाट आवर भन्दा बढी ऊर्जा आपूर्ति गरेको थियो। भारतबाट आयात हुने ऊर्जा भने शुक्रबार पनि एक हजार १०६ मेगावाट आवर रहेको छ। शुक्रबारको अधिकतम विद्युत माग एक हजार १२५ मेगावाट रहेको प्राधिकरणले जनाएको छ।

माग कम हुनेबित्तिकै प्राधिकरणले आफ्ना आयोजना बन्द गरेर निजी क्षेत्रको मात्रै उत्पादन अधिकतम प्रयोग गर्दै आएको छ। निजी क्षेत्रबाट नपुगेको विद्युत मात्रै प्राधिकरणका आयोजना र भारतबाट आयात गर्ने गरिएको छ।