BIZMANDU
www.bizmandu.com

लकडाउनको सदुपयोगले खुलायो स्वरोजगारीको बाटो, हेटौंडा-६ मा व्यवसायिक कृषिको अभियान

२०७७ मंसिर ६

लकडाउनको सदुपयोगले खुलायो स्वरोजगारीको बाटो, हेटौंडा-६ मा व्यवसायिक कृषिको अभियान
लकडाउनको सदुपयोगले खुलायो स्वरोजगारीको बाटो, हेटौंडा-६ मा व्यवसायिक कृषिको अभियान


काठमाडौं। कोरोना महामारी सुरू भएयता फस्टाएको व्यवसायमा कृषि उद्यम परेको छ। संक्रमण रोकथामका लागि गत चैत ११ देखि मुलुकमा लकडाउन भयो। लकडाउन हटाइए पनि स्थानीय प्रशासनहरूले निषेधाज्ञा जारी गरे। 

Tata
GBIME
Nepal Life

यसले थुप्रै प्रकारका व्यवसाय प्रभावित भए। यो अवधिमा धेरै जना बेरोजगार भए। धेरैलाई प्रतिकूल बनेको लकडाउनको समयलाई सदुपयोग गर्नेहरु भने अहिले स्वरोजगार बन्दै आम्दानी गरिरहेका छन्। 

लकडाउनको समयलाई सदुपयोग गरेर स्वरोजगार बन्न सफलमध्येका एक हुन् हेटौंडा-६ शान्तिटोलका भरत सापकोटा। लाखौं लगानी गरेर चलाएको बोर्डिङ स्कुल बन्द भएपछि उनलाई बैंक ऋणको साँवा-ब्याजको किस्ता तिर्नसमेत समस्या भयो। आफ्नो पुर्यौजगली जमिनमा व्यवसायिक ढंगबाट एकीकृत कृषि फार्मको सुरु गरे। लकडाउनकै बीचमा कुखुरा, माछा र तरकारी खेती थालेका सापकोटाले अहिले रोयल अर्गानिक एग्रो फर्म एण्ड रिसर्च सेन्टरबाट  आम्दानी लिन थालेका छन्। 

हार्डवेयर र कस्मेटिक पसल चलाएका हेटौंडा-६ चुच्चेखोलाका प्रमेश पराजुली र कल्पना पराजुलीको परिवारले पनि लकडाउनकै बीचमा व्यवसायिक तरकारी खेती थाले। बेमौसमी तरकारी लगाउन शुरु गरेका उनीहरुले कल्पना तरकारी तथा फलफूल खेती फर्मबाट पहिलो चरणमै ३ लाख रुपैयाँ बढीको तरकारी बेचे। लकडाउनको प्रतिकूल समयलाई सदुपयोग गरेका उनीहरु आफूमात्रै स्वरोजगार भएनन्, अरुलाई पनि काम दिने अवस्थामा पुगिसकेका छन्।

लकडाउन र निषेधाज्ञाका कारण बेरोजगार भएकाहरुलाई लक्षित गरेर हेटौंडा-६ वडा कार्यालयले स्वरोजगार कार्यक्रम शुरु गरेको छ। बेरोजगारहरुलाई व्यवसायिक कृषि, पशुपालन, माछापालन जस्ता क्षेत्रमा अनुदानको लागि वडा कार्यालयले लगानी गरेको छ। रोजगार गुमाएका, विपन्न परिवार र एकल महिलाले यो कार्यक्रमबाट लाभ पाएका छन् ।

हेटौंडा–६ मा मात्रै लकडाउनपछि ४० भन्दा बढी परिवारले व्यवसायिक कृषिलाई आफ्नो आम्दानीको स्रोतको रूपमा अगाडि बढाएको वडाध्यक्ष अर्जुनप्रसाद चौलागाईले बताए। उत्साहित भएर काम थाले पनि अपेक्षित लाभ लिन नसकेकाहरूलाई सघाउनुपर्ने अवस्था रहेको उनको भनाइ छ।

काम थालेकामध्ये सबैले पर्याप्त लाभ पाएका भने छैनन्। कृषि कार्यका लागि पनि सीप चाहिन्छ। जानेका र तालिम लिएकाहरूले नाफा कमाएका छन्। कतिपय परिवारले काम थाले पनि सीपमूलक तालिम र पर्याप्त लगानी नहुँदा अपेक्षित लाभ हासिल गर्न सकेका छैनन्।