BIZMANDU
www.bizmandu.com

लयमा फर्किदै उपत्यकाको घरजग्गा कारोबार, दलालमार्फत बिक्री नभएपछि पुर्जासहित फिल्डमा जग्गाधनी

२०७७ मंसिर ६

लयमा फर्किदै उपत्यकाको घरजग्गा कारोबार, दलालमार्फत बिक्री नभएपछि पुर्जासहित फिल्डमा जग्गाधनी
लयमा फर्किदै उपत्यकाको घरजग्गा कारोबार, दलालमार्फत बिक्री नभएपछि पुर्जासहित फिल्डमा जग्गाधनी


काठमाडौं। घरजग्गा किन्न चाहनेले सोझै धनीसँगै कारोबार गर्न पाउँदा कुनै माध्यमलाई कमिसन दिनु पर्दैन। लेनदेनमा दरभाउको मिलान पनि सहज हुन्छ। तर घरजग्गाको कारोबारमा बिभिन्न थरीका प्रोपर्टी डिलरमात्रै लागिपरेका छैनन्, किनबेच गराइदिन पाए धेरै परिश्रमबिनै राम्रै नगद हात पर्ने बुझेका अघोषित दलाल पनि हावी छन्। 

Tata
GBIME
Nepal Life

कोरोना महामारीका कारण अस्तव्यस्त भएको उपत्यकाको घरजग्गा कारोबार विस्तारै लयमा आउन थालेको छ। यसको प्रमुख कारण दलालको भर नपरी क्रेता-बिक्रेताबीच सोझो सम्पर्क बढ्नु देखिएको छ। 

कोरोनाले थलिएको बजारमा विस्तारै सस्तो घरजग्गाको किनबेच बढ्न थालेको उपत्यकाका मालपोत कार्यालयहरुले जनाएका छन्।

पछिल्लो एक हप्तामा मात्रै उपत्यकामा दैनिक अधिकतम ३०० सम्म घरजग्गा किनबेच हुन थालेका छन्। जबकी अघिल्लो महिनासम्म पनि उपत्यकामा दैनिक १०० देखि १५० हाराहारी मात्रै घरजग्गा किनबेच हुने गरेका थिए।

उपत्यकामा अहिले ललितपुर, भक्तपुर, कलंकी, साँखु र मनमैजुमा तुलनात्मक रूपमा धेरै घरजग्गा किनबेच भइरहेका छन्। यी कार्यालयहरुले अन्य क्षेत्र भन्दा सस्तो जग्गा पाउने उपत्यकाको काँठ क्षेत्रका घरजग्गा किनबेच गराउने भएकाले त्याहाँको कारोबार उच्च देखिएको हो।

मालपोत कार्यालय ललितपुरले दैनिक १०० भन्दा बढी घरजग्गा किनबेच गराउन थालेको छ। चाडबाडले कार्यालय समय प्रभावित हुँदा पनि ललितपुरले पछिल्लो एक सातामा ४०० घरजग्गा किनबेच गराएको छ।

दोस्रोमा रहेको भक्तपुरले पनि दैनिक ५० देखि ६० वटासम्म घरजग्गा किनबेच गराइरहेको छ। प्राविधिक कारणले ३ दिन दिनको तथ्यांक भूमि व्यवस्थापन तथा अभिलेख विभागमा नआए पनि उसको दैनिक कारोबार संख्या ललितपुर पछिको धेरै छ।

काठमाडौंमा भने मालपोत कार्यालय साँखु, मनमैजु र कलंकीले दैनिक ४० देखि ५० वटासम्म घरजग्गा किनबेच गराइरहेका छन्। यी कार्यालयले पछिल्लो एक हप्तामा एक सय ५० देखि २०० वटा सम्म घरजग्गा किनबेच गराएका छन्।

महँगा घरजग्गाको मात्रै कारोबार हुने डिल्लीबजार कार्यालय अन्तर्गत भने अहिले पनि दैनिक २ देखि १९ वटा सम्म मात्रै घरजग्गा किनबेच भइरहेका छन्। डिल्लीबजारले एक हप्तामा जम्मा ४४ वटा मात्रै घरजग्गा किनबेच गराएको छ।

त्यस्तै बुढानिलकण्ठ चाबहिल क्षेत्रको कारोबार गर्ने चाबहिल कार्यालयले पनि दैनिक ८ देखि ३६ वटासम्म मात्रै घरजग्गा किनबेच गराइरहेको छ। यो अवधिमा चाबहिलबाट १३६ वटा मात्र घरजग्गा किनबेच भएका छन्।

यो तथ्यांकले पनि उपत्यकामा सस्तो घरजग्गाको किनबेच बढ्न थालेको पुष्टि गर्छ।


बजारमा आपूर्तिकर्ता धेरै
लामो समय सम्म घरजग्गा कारोबार प्रभावित भएपछि यतिबेला बजारमा ९० प्रतिशतभन्दा बढी आपूर्तिकर्ता हाबी भएका छन्।

घरजग्गाको कारोबार गराउने रियल स्टेट कम्पनीमा यतिबेला १० प्रतिशतले जग्गा चाहियो भनेर सोधखोज गर्दा ९० प्रतिशत जग्गाधनी भने जग्गा बेचिदिन आग्रह गर्ने गरेको व्यावसायीले बताएका छन्।

मागभन्दा आपूर्ति धेरै भए पनि जग्गाको मूल्य भने नघटेको व्यवसायीको भनाइ छ। सिधै जग्गाधनीले बिक्रीका लागि सम्पर्क गर्दा सही मूल्यमा बिक्री गर्न खोजे पनि धेरैजसो कारोबारमा नयाँ दलाल हाबी हुने गरेका छन्। घरजग्गा बेच्नका लागि अनौपचारिक जग्गा दलालहरुले धनीसँग सम्पर्क गरिरहेका छन्। 

जग्गाधनीले आफूले एउटा मूल्य राखेर 'यो भन्दा बढी जतिमा बेच्न सक्छौ त्यो तिम्रो भयो' भनिदिँदा जग्गा दलालहरुले उच्च नाफा राखेर बिक्री गर्न खोज्छन्। यस्तो हुँदा जग्गाको मूल्य घट्नुको सट्टा बढेको महसुस गरेको एक रियल स्टेट कम्पनीका सञ्चालकले बताए। 'बजारमा यो चल्छ नै, तर व्यवसायिक कारोबारी नभइ एकाध किनबेच गराएर कमिसन हात पार्न खोज्ने धेरै भए,' उनले भने।

जग्गाधनीले प्रति आना १० लाख रुपैयाँ आफूले पाउने गरि जग्गा दलाललाई बेचिदिन आग्रह गर्छन्। अनि जग्गा दलालले भने उक्त जग्गालाई १५ लाख रुपैयाँ प्रति आना भन्दै रियल स्टेट कम्पनीमा लिस्टिङ गर्छन्। जसले गर्दा जग्गा किन्ने मान्छेहरु हुँदा हुँदै पनि जग्गा किनबेच हुन नसकेको उनले बताए।

लामो समयसम्म बिक्री नभएपछि लालपूर्जा बोकेर फिल्डमा आए जग्गाधनी 
अहिले बजारमा जग्गा धनी र खरिदकर्ता बीच सिधा सम्पर्क हुन थालेपछि पहिलेको भन्दा तुलनात्मक रूपमा धेरै घरजग्गा किनबेच हुन थालेको पनि उनले बताए। 

जग्गाधनी जग्गा बिक्री गर्न नसकेर प्रताडित भइरहेका छन्। जग्गा किन्न खोज्नेहरु पनि सोचेजस्तो जग्गा अपेक्षा गरे अनुसारको मूल्यमा नपाउँदा हैरान छन्। बिगत करिब ८ महिना देखि चलेको यो श्रृंखला अहिले आएर भत्किने अवस्थामा छ। 

अहिले जग्गाधनीले आफ्नो जग्गा आफ्नै नाममा भएको लालपूर्जा देखाएरै वास्तविक खरिदकर्तासँग डिल गरिरहेका छन्। यसले खरिदकर्ताको आत्मविश्वास बढ्नुका साथै मूल्य पनि तुलनात्मक रूपमा केही सस्तो पाएकाले किनबेच बढिरहेको छ। आगामी दिनमा जग्गाधनी र क्रेताबीच सिधा सम्पर्क हुँदा उपत्यकामा घरजग्गा कारोबार व्यापक रुपमा बढ्ने उनको विश्वास छ।

यसरी कारोबार बढेपछि प्रोपर्टी डिलरहरूले पनि आफ्नो साइटमा लिस्टिङ गरेका घरजग्गाको वास्तविक धनीको नम्बर राखिदिन थालेका छन्। कारोबारीका अनलाइनबाट नम्बर खओजेर सम्पर्कमा आउनेले खरिद गर्दा जग्गाधनीले निश्चित कमिसन दिन थालेका छन्।