BIZMANDU
www.bizmandu.com

स्थानीय तहमा ३९६ अस्पताल बनाउन ५८ अर्ब जुट्यो, २ वर्षभित्र सक्नेगरी काम थाल्न अर्थको सहमति

२०७७ मंसिर ५

स्थानीय तहमा ३९६ अस्पताल बनाउन ५८ अर्ब जुट्यो, २ वर्षभित्र सक्नेगरी काम थाल्न अर्थको सहमति
स्थानीय तहमा ३९६ अस्पताल बनाउन ५८ अर्ब जुट्यो, २ वर्षभित्र सक्नेगरी काम थाल्न अर्थको सहमति


Tata
GBIME
Nepal Life

काठमाडौं । अर्थ मन्त्रालयले स्थानीय तहमा तीन सय ९६ वटा आधारभूत अस्पताल निर्माणका लागि स्रोत सुनिश्चत गरेको छ ।

मन्त्रालयले करीब ५८ अर्ब रुपैयाँ बराबरको निर्माण कार्य अगाडि बढाउने गरि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहमति दिएको हो। 

अर्थ मन्त्रालयले ५७ अर्ब ९७ करोड ११ लाख ९० हजार रुपैयाँको स्रोतको टुंगोलगाई स्थानीय तहमा ५, १० र १५ शय्याका आधारभूत अस्पताल दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी बहुवर्षीय ठेक्का प्रकृया अघि बढाउन सहमति दिने निर्णय गरेको मन्त्रालयका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।

यसरी कायम हुने रकम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वार्षिक बजेटमा समावेश गरी स्थानीय तहमा सशर्त अनुदानको रुपमा उपलब्ध गराइनेछ।अर्थ मन्त्रालयले स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि यसअघि ६ अर्ब १२ करोड २६ लाख रुपैयाँ स्थानीय तहमा पठाइसकेको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेल र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको उपस्थितिमा एक महिनाअघि भएको बैठकले गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा नागरिकको पहुँच सुनिश्चित गर्ने कार्यक्रमअनुसार यही मंसीर १५ गते भवन निर्णाणको शिलान्यास गर्ने निर्णय गरेको थियो ।

पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले चालू वर्षको बजेटमा सबै स्थानीय तहमा पाँचदेखि १५ शय्याका आधारभूत अस्पताल स्थापना गर्ने उल्लेख गरेका थिए ।