BIZMANDU
www.bizmandu.com

नेपाल भारत रेलमार्ग सम्बन्धी संयुक्त कार्यदलको बैठक, जयनगर-कुर्था रेल चलाउने बारे पनि छलफल

२०७७ मंसिर ५

Tata
GBIME
Nepal Life

काठमाडौं।  रेलमार्ग सहकार्यसम्बन्धी भारत–नेपाल संयुक्त कार्यदलको चौथो बैठक बिहीबार भिडियो कन्फरेन्समार्फत सम्पन्न भएको छ।

नेपालका तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव गोपालप्रसाद सिग्देल र भारतका तर्फबाट सरकार रेल मन्त्रालय ट्राफिक यातायात विभागका कार्यकारी निर्देशक डा. मनोज सिंह नेतृत्वमा भएको बैठकमा नेपालका तर्फबाट रेल विभागका महानिर्देशक, नेपाल रेलवे कम्पनीका महाप्रबन्धकलगायत नेपाल सरकार गृह मन्त्रालय एवं परराष्ट्र मन्त्रालयका अधिकारीहरुको उपस्थिति थियो भने भारतको तर्फबाट भारतीय रेल विभाग, विदेश मन्त्रालय, काठमाडौंस्थित भारतीय राजदूतावास, कोंकण रेलवे तथा आइसीओएनका वरिष्ठ अधिकारीहरुको सहभागिता थियो। 

बैठकले जयनगर–बिजलपुरा–बर्दिबास र जोगबनी–विराटनगरको बीचमा अघि बढिरहेका सीमापार रेलमार्ग परियोजनाहरुको समीक्षा गरेको बताइएको छ। यात्रुबाहक रेलसेवा सञ्चालनका लागि भारतको जयनगरदेखि नेपालको कुर्थासम्मको ३४ किलोमिटर लामो रेलमार्गको प्राविधिक तयारीबारे बैठकमा छलफल भएको छ।

बैठकमा नेपाल रेलवे कम्पनीले यात्रुबाहक रेल सेवा शुरु गर्न आवश्यक पर्ने स्टान्डर्ड अपरेटिङ प्रोसिड्युर (एसडीपी)को बारेसमेत छलफल भएको थियो। तत्कालीन ब्रिटिस इन्डियाले न्यारो गेजको रूपमा निर्माण गरेको उक्त रेलमार्ग खण्डलाई भारु. ३८० करोडभन्दा बढी लागतमा ब्रोड गेजमा स्तरोन्नति गरिएको छ।

यस रेलवे लिंकमा सेवा सञ्चालन गर्न नेपाल सरकारले भारतबाट दुईवटा डीईएमयु रेल सेट खरिद गरि नेपाल ल्याइसकेको छ। हाल भारत सरकारले भारु. २०० करोडमा निर्माण गरिरहेको कुर्थादेखि बिजलपुरासम्मको बाँकी खण्डको निर्माण सम्पन्न गर्न दुवै पक्षले आवश्यक आपसी सहयोग तथा समन्वय गर्ने विषयमा सहमत भएको भारतीय दूतावासले जनाएको छ।

भारु. ३७४ करोड अनुदान सहयोग अन्तर्गत भारतको जोगबनी र नेपालको विराटनगर बीचमा सञ्चालित अन्य अन्तरदेशीय रेलमार्ग परियोजना सम्पन्न गर्नका लागि तीव्र रूपमा काम अघि बढाउन दुवै पक्षले सहमति जनाएका छन्। त्यस्तै रेल सेवामा कार्यरत नेपाली कर्मचारीहरुको क्षमता विकास गर्न तथा नेपालको आवश्यकता अनुसार कर्मचारीहरुलाई नेपाल र भारतमा प्रशिक्षण दिन सहमति भएको छ।