BIZMANDU
www.bizmandu.com

ठूलो कर्जामा लोभिँदा ढल्यो ९४ वर्ष पुरानो लक्ष्मी विलास बैंक, संकट टार्न नसकेपछि विलयको पर्खाइ

२०७७ मंसिर ३

ठूलो कर्जामा लोभिँदा ढल्यो ९४ वर्ष पुरानो लक्ष्मी विलास बैंक, संकट टार्न नसकेपछि विलयको पर्खाइ
ठूलो कर्जामा लोभिँदा ढल्यो ९४ वर्ष पुरानो लक्ष्मी विलास बैंक, संकट टार्न नसकेपछि विलयको पर्खाइ

चेन्नइ। डीबीएस बैंकसँग विलयपछि ९४ वर्ष पुरानो लक्ष्मी विलास बैंकको अस्तित्व सकिने भएको छ। तमिलनाडुको यो वित्तीय संस्था भारतको निकै पुरानो मध्येको बैंक हो।

Tata
GBIME
Nepal Life

पश्चिम तमिलनाडुमा व्यापार बढाउन चाहनेलाई सघाउन सन् १९२६ मा भीएसएन रामालिंगा चेट्टियारको अगुवाइमा करुरका सात कारोबारीको समूहले बैंक स्थापना गरेका थिए। यसको उद्देश्य आसपासको इलाकाका व्यापारीलाई कारोबारमा मद्दत गर्नु थियो, जसबाट मानिसहरू ट्रेडिङ, उदयोग र कृषिमा आधारित व्यापार गर्न सकुन्। 

पछिल्लो ३० महिनादेखि संकटमा परेको यो बैंकलाई भारतको केन्द्रिय बैंक आरबीआईले मोराटोरियम सुविधा दिने सूचीमा राखेको छ।
यससँगै आरबीआइको टिमले यसलाई डीबीएस बैंकसँग विलयका लागि पनि योजना सार्वजनिक गरेका छन्। एकीकरणको योजनाले स्वीकृति भने पाइसकेको छैन।

यतिबेला यो बैंकका ग्राहकलाई आफ्नो खाताको पैसा झिक्न कडाइ गरिएको छ। १६ डिसेम्बरसम्म २५ हजार रुपैयाँभन्दा बढी झिक्न नपाइने नियम लगाइएको छ।   

पुँजीको कमीले टरेन स‌ंकट 
१६ राज्यमा ५६६ वटा शाखा रहेको लक्ष्मी विलास बैंकले नियमित सञ्चालनका लागि पुँजी जुटाउन सकेको थिएन। यसैले संकटबाट बाहिर निष्कन यो ठूलो लगानीकर्ताको खोजीमा थियो। 

थुप्रै फर्महरूले लगानीमा चासो देखाए तर कसैसँग पनि कुरा नमिल्दा डिल हुनै सकेन। केही अघि इन्डिया बुल्स इच्छुक थियो, तर भारतीय रिजर्भ बैंक (आरबीआई) ले त्यसको स्वीकृति दिएन। 

त्यसपछि क्लिक्स क्यापिटलले पनि रुचि राख्यो। बैंकको मूल्यांकनको विषयमा भने यससँग पनि संवाद अघि बढ्न सकेन। 

क्लिक्स क्यापिटलले लक्ष्मी विलासको कर्जाको मूल्यांकन ४२ अर्ब भारु गरेको थियो। जबकि, बैंकका अनुसार यो १२ अर्बदेखि १३ अर्ब रूपैयाँ मात्र थियो। दुवैको मूल्यांकनबीच २५ अर्बदेखि ३० अर्ब भारुको अन्तर थियो। त्यसैले क्लिक्स पनि अफर पूरा गर्न नसक्ने भन्दै पन्छियो। 

आरबीआईका तर्फबाट लक्ष्मी विलासमा नियुक्त निर्देशक शक्ति सिन्हाले भनेका छन्, 'दुवैको मूल्यांकनमा ठूलो अन्तर देखियो, हामीले बीचको बाटो निकाल्न सकेनौं। लगानी गरेको कर्जाको हिसाबकिताव बैंकिङ अनुपालनअनुसार राख्दा अरू गम्भीर मामिला आए। बैंकको कर्जाको दुई तिहाई हिस्सा धितो, जोखिम भारित सम्पत्ति आदिका हिसाबले सफल हुने देखिएन। यद्यपि, अलि बढी समयावधि पाएको भए हामी यो डील पूरा गर्न सक्ने थियौं।'

सेयरधनीले निकालेका थिए सीईओलाई 
लगातार नोक्सानीमा गएपछि गत वर्षको वार्षिक साधारणसभाबाट लक्ष्मी विलासका सेयरधनीहरूले प्रस्ताव नै पारित गरेर सीईओ र अडिटरहरुसहित सात पदाधिकारीलाई बैंकको व्यवस्थापनको जिम्मेवारीबाट हटाएका थिए। 

त्यसको तीन सातामा ग्राहकले धमाधम बैंकबाट आआफ्नो निक्षेपको करिब १५० अर्ब रूपैयाँ निकाले। सिन्हा भन्छन्, 'तैपनि हामीले पछिल्लो तीन सातामा वन टाइम सेटलमेन्ट र रिकभरीबाट करिब १० अर्ब रूपैयाँ रीकभर गर्न सफल भयौं।' 

ठूलो कर्जाले डुबायो 
लक्ष्मी विलासका लागि संकट त्यसबेला सुरु भयो, जब यसले ठूलो कर्जा प्रवाहमा मात्रै आफ्नो ध्यान केन्द्रित गर्‍यो। २०१६ र २०१७ को सुरुवातमा मलविन्दर सिंह र शिविन्दर सिंहका योजनालाई बैंकले करिब ७ अर्ब ३० करोड भारु कर्जा दियो। मलविन्दर र शिविन्दर रेनबेक्सी र फोर्टिस हेल्थकेयरका पूर्वप्रवर्द्धक हुन्। 

बैंकले रेलिगेयर फिनवेस्टका तर्फबाट उसले फिक्स डिपोटिज गरेको ७ अर्ब ९४ करोड भारुको बदलामा ऋण दिएको थियो। रेलिगेयर ऋण तिर्नै नसक्ने भयो। लक्ष्मी विलासले उसको मुद्दती निक्षेप (एफडी) जफत गर्‍यो। 

त्यसपछि रेलिगेयरले बैंकको दिल्ली शाखाविरुद्ध अदालतमा मुद्दा दायर गर्‍यो। उक्त मुद्दा अझैसम्म अदालतमा बिचाराधीन छ।